|

मलेसिया : एसिया प्रशान्त क्षेत्रका १५ मुलुकका गैर  आवासीय नेपालीको सम्मेलन आइतबार मलेसियामा सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले मुलुक समृद्धितर्फ अघि बढिसकेकाले नेपालमा लगानीको लागि आग्रह गरे।

उनले ग‌ैर आवासीय नेपालीलाई आफूले विदेशमा सिकेका पुँजी र सीपलाई नेपाल भित्र्याउन आग्रह गरे। राजनीतिको प्रसंगमा परराष्ट्र मन्त्री महतले राष्ट्रियताको नाममा नेपालमा उग्र राजनीति सुरु भएको बताए। 'पहिले विपीलाई विदेशी दलाल भने, अहिले विपीको बाटो ठीक थियो भन्ने गरेका छन्, अहिले पनि अरुलाई र छिमेकीलाई गाली गरेर राष्ट्रियताको नाममा राजनीति गरिएको छ,' महतले भने।

परराष्ट्र मन्त्री महतले नेपालीको प्रमुख श्रम गन्तव्यमा न्युनतम अधिकार सहित श्रम सम्झौता गर्न मन्त्रालय लागि परेको बताए।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानी गर्नका लागि उपयुक्त समय आएको बताए। 'अन्य देशको तुलनामा छिटो नाफा कमाउन सकिन्छ। हालसालै धेरै कानुन संशोधन गरिएको कारण पनि सहज भएको छ। बजारको सम्भावना छ' उनले भने।

उनले नेपालमा उत्पादित वस्तुको बजार राम्रो रहेको पनि बताए। '१९९० को दशकपछि धेरै सहुलियत छ तर अहिले केही क्षेत्रमा पनि छ तर केही वर्ष अघिसम्म धेरै वस्तुमा आत्मनिर्भर थियौं अहिले कुनै वस्तुमा पनि छैन, नेपालमा बजार राम्रो छ लगानी गर्नु' गभर्नर नेपालले भने।

गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले नेपालमा सीप र पुँजी भित्र्याउन गैर आवासीय नेपाली लाग्नुपर्ने बताए। उनले कामको लागि विभिन्न देशमा आउने नेपालीले विजनेस माइन्ड बनाएर काम गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.