|

लहान : सिरहामा पनि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ शुरु भएको छ। परियोजना अन्तर्गत सिरहामा व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र विभिन्न बालीहरुको साना व्यवसायिक उत्पादन केन्द्र (पकेट) निर्धारण गरिएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।

कार्यालयका प्रमुख डा. रामचन्द्र यादवका अनुसार परियोजना अन्तर्गत सिरहाको बेलहा, थलहा कटहा, चतरी, अर्नामा र राजपुर गा.वि.स.लाई धान बालीको ब्लक निर्धारण गरिएको छ। माछाका लागि पडरिया, फूलकहाकट्टी, बलही, दुर्गापुर र ब्रम्हाण गोर्छाडी गाविसको ब्लक बनाइएको छ।

परियोजना अन्तर्गत धान बाली र माछापालनका लागि छुट्याइएको ब्लक सञ्चालनका लागि स्थानीय किसानहरुकै सहभागितामा नौ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ। परियोजना अन्तर्गत एक सय हेक्टर जग्गामा धान खेती गर्ने किसानहरुलाई उन्नत बीउ विजनमा ५०, कृषि उपकरण खरिदमा ५०, साना सिंचाईका लागि ८५ प्रतिशत अनुदानसहित प्राविधिक सहयोग उपलब्ध गराइने प्रमुख डा. यादवले जानकारी दिए। त्यस्तै, माछापालनका लागि ९५ हेक्टरसम्मको पोखरी खन्न परियोजनाबाट तीन लाख रुपैयाँको दरले अनुदान दिइनेछ। 

विभिन्न बालीहरुको व्यवसायिक उत्पादन केन्द्र (पकेट) किसानहरुको माग र स्थानीय आवश्यकता पहिचानको आधारमा सञ्चालन गरिने ब्लक अधिकृत तोकिएका बाली विकास अधिकृत योगेन्द्र यादवले बताए। पकेट क्षेत्रमा परेका किसानले धान, मकै, गहुँ, माछापालन, तरकारी खेती, तेलबाली उत्पादन लगायतका काममा परियोजनाले बीउ विजन, कृषि उपकरण खरिद, साना सिंचाई, मलखादका लागि निश्चित रकम अनुदान पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.