|

बुटवल :  चैतको अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनका लागि उद्योगपति शेखर गोल्छाको प्यानलले बुटवलबाट उम्मेदवारी घोषणा गरेको छ।

यही चैत २९ गतेदेखि हुने चुनावका लागि अध्यक्ष पशुपति मुरारका, भावी अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष चण्डीराज ढकालको उपस्थितिमा गोल्छा वरिष्ठ उपाध्यक्ष रहने गरी प्यानल घोषणा भएको हो।

हाल एसोसिएट उपाध्यक्ष रहेका गोल्छाको प्यानलमा दिनेश श्रेष्ठ जिल्ला-नगर उद्योग वाणिज्य संघ तर्फका उपाध्यक्ष, उमेशलाल श्रेष्ठ वस्तुगत तर्फका उपाध्यक्ष, चन्द्रप्रसाद ढकाल एसोसिएट उपाध्यक्ष र ज्ञानेन्द्रलाल श्रेष्ठ कोषाध्यक्षका उम्मेदवार रहेका छन्।

उनीहरुलाई अध्यक्ष मुरारकाले माला लगाएर शुभकामना दिएका थिए। बुटवल उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा ६० भन्दा बढी जिल्ला तथा नगरका उद्योग वाणिज्य संघले गोल्छा प्यानललाई समर्थन दिएको पूर्व अध्यक्ष चण्डीराज ढकालले बताए।

महासंघले विधान परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा निर्वाचित हुने व्यवस्था गरेसँगै राणा अध्यक्ष हुने पक्का भएपछि वरिष्ठ उपाध्यक्षमा जित हात पार्नका लागि व्यवसायीहरुबीच कडा प्रतिस्पर्धा छ।

उम्मेदवारी प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले संस्थागत पारदर्शिता, उद्योगी व्यवसायीको हितमा संस्थागत हिसाबले सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

उनले गोल्छा परिवारको तर्फबाट पटक पटक महासंघको नेतृत्वका लागि दाबेदारी भएपनि आफ्नो पालामा आएर सफलता हात लाग्न लागेकोमा खुशी व्यक्त गरे। ‘मैले उद्योग वाणिज्य महासंघलाई थप बलियो र पारदर्शी बनाउनका लागि भूमिका खेल्नेछु’ उनले भने। वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाले वस्तुगत, एसोसिएट र नगर-जिल्ला संघको साझा लक्ष्य नै आफ्नो टिम भएको भन्दै यसलाई नटुक्र्याउन आग्रह गरे।

विदेशी लगानी भित्र्याउदै मुलुकलाई आर्थिक रुपमा सबल बनाउने, अन्र्तराष्ट्रिय सम्बन्धको विकास गर्ने काम आफूले गर्ने उनले बताए। उद्योग, व्यवसायका क्षेत्रमा बन्ने ऐन नियममा निजी क्षेत्रको भावना समावेश गरी नीतिगत रुपमा बलियो बनाउने काम अबको नेतृत्वले गर्ने उनको भनाइ थियो।

गोल्छा परिवारको ५५ वर्षअघिदेखि महासंघप्रतिको लगाव पूरा गर्दै व्यवसायिक हकहितका लागि आफू नेतृत्वमा आउन चाहेको उनले बताए । ‘उद्योग व्यवसायका विषयमा ऐन बनाउन मैले विगतमा पनि भूमिका खेलेको थिएँ, अब त्यसलाई परिष्कृत र कार्यान्वयनमा लैजाने दायित्व पूरा गर्ने काम भवानी राणा नेतृत्वको टिमले गर्नेछ' उनले भने ।

शुभकामना दिदै महासंघका अध्यक्ष पशुपति मुरारकाले व्यवसायिक हित र पारदर्शी बनाउनका लागि महासंघ लागिरहेको बताए। उनले भवानी राणाको नेतृत्वमा गोल्छा प्यानलले जित हासिल गर्ने बताए। उनले व्यवसायीको हितका लागि क्रियाशील व्यक्तिहरु गोल्छाको प्यानलमा रहेको बताए।

 वरिष्ठ उपाध्यक्ष राणाले मुलुक आर्थिक एजेण्डामा केन्द्रित हुनुपर्ने बताइन्। उनले दलहरुले आर्थिक समृद्धिका विषयवस्तु उठान गरेपनि कार्यान्वयनको तहमा पुर्‍याउनका लागि पर्याप्त तयारी नगरेको बताइन्। उनले आफू अध्यक्ष भएसँगै मुलुकलाई आर्थिक समृद्धितर्फ केन्द्रित गराउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताइन्। उनले गोल्छा नेतृत्वको प्यानल व्यवसायीको हितका लागि खडा भएको र यसले जित हासिल गर्ने बताइन्।

जिल्ला/नगर तर्फका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठले महासंघमा उद्योगी र व्यवसायी बुझेको व्यक्ति नेतृत्वमा पुग्नुपर्ने भन्दै यो टिम सशक्त रहेको बताए। ‘सानो होस् या ठूलो उद्योग व्यवसायको पीडा बुझेको मान्छे नेतृत्वमा पुग्यो भने व्यवसायिको हितमा काम गर्न सक्छ', उनले भने ‘त्यो टिम भनेकै हाम्रो समूह हो।’

वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले उद्योग व्यापार सबल बनाउनु र देशलाई समृद्धितर्फ लैजानका लागि आफूहरुले उमेद्वारी दिने तयारी गरेको बताए। ‘निजी क्षेत्रको विकासका लागि विज्ञ समूह बनाएर काम गर्ने बेला आएको छ', उनले भने ‘त्यो योजना बनाएको व्यक्तिहरुलाई नेतृत्वमा पुराउने काम गर्नुहोला।’

एसोसिएट उपाध्यक्ष तर्फका उमेद्वार चन्द्रप्रसाद ढकालले महासंघलाई व्यवसायीको संस्था बनाउन, श्रम कानुनलाई कार्यान्वयन गर्न, मजदुर र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न र रेमिट्यान्सलाई उत्पादनमा लगानी गर्नका लागि आफूले नेतृत्वसंग रहेका काम गर्नका लागि उम्मेदवारी दिएको बताए। कोषाध्यक्षमा उमेद्वारी घोषणा गर्दै ज्ञानेन्द्रलाल प्रधानले देशको उर्जाको विकासका लागि महासंघबाट ठोस रुपमा सरकारलाई दववा दिन आवश्यक रहेको बताए।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले व्यवसायिक हित र मर्यादित महासंघका लागि गोल्छा नेतृत्वलाई समर्थन गरेको बताए।

महासंघमा बुटवलका श्रेष्ठको उम्मेदवारी

महासंघको चुनावका लागि बुटवलबाट सुरेन्द्रप्रसाद श्रेष्ठ कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका छन्। बुटवल उद्योग वाणिज्य संघ बुटवलका निवर्तमान अध्यक्ष श्रेष्ठले महासंघको चुनावलाई केन्द्रित गरेर व्यवसायीसँगको भेटघाटलाई तिब्रता दिएका छन्।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले बुटवल क्षेत्रबाट सुरेन्द्रप्रसाद श्रेष्ठलाई कार्यसमिति सदस्यको रुपमा उम्मेदवारी दिने सर्वसम्मत निर्णय भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.