नन्दीग्राममा शुभेन्दुसँग चुनाव लड्दै मुख्यमन्त्री ममता

|

झापा : पूर्वी नेपालको झापा र इलामसँग जोडिएको छिमेकी राष्ट्र भारतको पश्चिम बङ्गालमा विधानसभा निर्वाचनको माहौल तातिएको छ। पश्चिम बङ्गालको कुल २९४ सिटका लागि आठ चरणमा मतदान हुने भएको छ। मार्च २७ देखि अप्रिल १, ६, १०, १७, २२, २६ र २९ तारिकसम्म गरी आठ चरणमा मतदानको मिति तोकिएको छ।

मत परिणाम मे २ तारिख सार्वजनिक गर्ने त्यहाँका निर्वाचन आयोगले सूचना जारी गरिसकेको छ। विधानसभा निर्वाचनले पश्चिम बङ्गाल राज्य सरकार नेतृत्वको छिनोफानो गर्छ। 

आयोगले विधानसभा निर्वाचनको मिति सार्वजनिक गरेसँगै यस पटक राज्य सरकारको नेतृत्वमा रहेकी अल इन्डिया तृणमुल कांग्रेसकी (टिएमसी) मुख्यमन्त्री ममता बनर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)बीच कडा ठक्कर हुने त्यहाँका राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन्।

सन् २०१६ को विधानसभा निर्वाचनमा तृणमुल कांग्रेसले २९४ सिटमध्ये २११ सिट जितेर बहुमतको सरकार गठन गरेको थियो। त्यस निर्वाचनमा भाजपाले ३ सिट मात्र जितेका थिए। राहु गान्धीको कांग्रेसले ४४ सिट र मार्क्सवादी कम्युनिस्ट पार्टी (सिपीएम)ले २६ सिट जितेका थिए।

त्यसबेला पश्चिम बङ्गालमा प्रधानमन्त्री मोदीको भाजपा कमजोर थियो। त्यसपछि प्रधानमन्त्री मोदीले बङ्गालमा जादु छडी चलाउँदै युवा वर्गलाई मोदीमय बनाउँदै सन् २०१९ को लोकसभामा ४२ सिटमध्ये १८ सिटमा जित दर्ता गरे।

तृणमुल कांग्रेसकी नेतृ बनर्जीले २२ र राहुलको कांग्रेसले २ सिट जितेका थिए। लोकसभा निर्वाचनको मत परिणामपछि बङ्गलामा भाजपाको पकड राम्रो बन्दै गयो। १८ सिट भाजपाले जितेपछि तृणमुल कांग्रेसकी नेतृ बनर्जी त्यस बेला आत्तिए। त्यसैको फलस्वरूप यसपटकको विधान सभा निर्वाचनमा मुख्यमन्त्रीसमेत रहेका बनर्जी अरू पार्टीभन्दा पनि भाजपालाई रोक्ने योजनामा लागिपरेका छन्।

बनर्जीको रणनीतिमा मोदीको भाजपा

कुनै बेला मार्क्सवादी कम्युनिस्ट पार्टी (सिपीएम) एकछत्र राज थियो पश्चिम बङ्गालमा। सिपीएमले ३४ वर्ष बङ्गालमा एकछत्र शासन चलाएको इतिहास छ। सिपीएमका संस्थापक सदस्यसमेत रहेका पोलिटब्युरो सदस्य ज्योति बसुले २३ वर्ष मुख्यमन्त्री भएर बङ्गालमा शासन चलाएका थिए। त्यसपछि बसुले आफ्नै पार्टीका पोलिटब्युरो सदस्य बुद्धदेव भट्टाचार्यलाई बङ्गालमा शासन चलाउन पालो दिए।

भट्टाचार्य बङ्गालमा ११ वर्ष मुख्यमन्त्री भएर शासन चलाए। २००७ सालमा किसान आन्दोलनको मुद्दा उठाएका तृणमुल कांग्रेसका ममता बनर्जीले सन् २०११ मा सत्तामा पुगेर वामपन्थीको यात्रामा रोक लगाए। वर्षौँदेखि वामपन्थी (सिपीएमको लाल किल्ला मानिने ‘जंगलमहल’ पुरुलिया, बांकुरा, झारग्राम, विष्णुपुर, वीरभूम, पश्चिम मेदिनीपुर) मा सन् २०११ देखि नै बनर्जीको तृणमूल कांग्रेसले शासन चलाउन थाले।

ममता बनर्जीले ‘जंगलमहल’ को शक्ति हासिल गर्न रोजेका बाटो अब भाजपाले पन्छाइरहेको छ। ममताले ‘जंगलमहल’ कब्जामा लिन त्यहाँ विकासण्रको मुद्दा उठाएर वामपन्थीको किल्ला तोडेको थियो। वामपन्थीले शासन मात्र चलाउने, तर त्यहाँका मानिसलाई कुनै सुविधा दिएनन्।

त्यसको फाइदा बनर्जीले उठाएर सत्ता कब्जा गर्यो। र सत्तामा पुगेपछि बनर्जीले त्यहाँ विकासको लहर ल्याएर सबैको मन जित्यो। भाजपाले पनि अहिले यस्तै मुद्दा त्यहाँ उठाइरहेको छ।

२०१४ देखि नै भाजपाले जंगलमहलमा कब्जा जमाउने रणनीति बनाएर अघि बढे। फलस्वरूप २०१९ को लोकसभामा भाजपाले पुरुलिया, बंकुरा, विष्णुपुर, मेदिनीपुर र झारग्राम सिट जित्यो। भाजपाले अहिले त्यहाँ भ्रष्टाचार र रोजगारीको मुद्दा उठाएर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन्। बनर्जीको तृणमुल कांग्रेसले विकासको लहर ल्याए पनि भ्रष्टाचारको अन्त्य र रोजगारी दिन  सकेनन्। जंगलमहलमा विधान सभाका लागि ४४ सिट छन्।  जिल्ला बाँकुरामा १२, पुरुलियामा ९, पश्चिम मेदिनीपुरमा १९ र झारग्राममा ४ सिट समावेश छ।

बङ्गाल निर्वाचनमा नन्दीग्रामको भूमिका

बङ्गाल राजनीतिको परिवर्तन नन्दीग्रामबाट सुरुवात भएको हो। नन्दीग्राम क्रान्तिकारी इतिहाससँग जोडिएको छ। त्यसैले बङ्गालको निर्वाचनमा यस पटक नन्दीग्रामतर्फ सबैको ध्यान केन्द्रित बनेको छ।

सन् २००६—०७ मा तत्कालीन पश्चिम बङ्गालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले नन्दीग्राममा १० हजार बिगाहा जमिन इन्डोनेसियाको सलिम समूहलाई रासायनिक हब बनाउन दिने घोषणा गरे। यस निर्णयको त्यहाँका जनताले कडा विरोध गर्यो।

 स्थानीय बासिन्दा आफ्नो निजी जमिन त्याग्न तयार थिएनन्। तर, मुख्यमन्त्री भट्टाचार्यले त्यस निर्णयबाट पछि हटेनन्, अन्ततः बल प्रयोग गरेर जमिन अधिग्रहण गर्न आदेश दिए। त्यसपछि शुभेन्दु अधिकारीले स्थानीय जनतासँग मिलेर आन्दोलन सुरु गरे।

२००७ मार्च १४  देखि त्यहाँ सुरक्षाकर्मी र स्थानीय बिचमा हिंसात्मक झडप सुरु भयो। हिंसात्मक झडपको क्रममा १४ जनाले ज्यान गुमाए। त्यही बेला ममता बनर्जीले शुभेन्दु अधिकारीसँग मिलेर नन्दीग्रामको मुद्दा समातिन् र आफैँले सुरक्षाकर्मीको ब्यारेकेटहरू पार गर्दै नन्दीग्राम पुगे। त्यहाँ उनले मा, माटी र मानुषको नारा दिएर आन्दोलनमा होमिए। यो नारा आन्दोलनभर राम्रोसँग चल्यो।

रातो झन्डाका साथ बाँच्ने र मर्ने कसम खाने मानिसहरू पनि उनको नाराको साथ उभिए, र आन्दोलन सफल भयो। त्यही आन्दोलनको नेतृ गरेकी ममता बङ्गालको सत्ता पुग्न सफल भयो।

नन्दीग्राममा शुभेन्दुसँग चुनाव लड्दै मुख्यमन्त्री ममता

सन् २००७ मा नन्दीग्राममा किसान आन्दोलन चर्किएको थियो। त्यस आन्दोलनको नेतृत्व शुभेन्दु अधिकारी र ममता बनर्जीले गरेका थिए। बनर्जी तृणमुल कांग्रेसको नेतृ हुन भने अधिकारी बनर्जीको दाहिने हात बनेसँगै पार्टीलाई अघि बढाए।

सन् २०११ र २०१६ मा बनर्जी कोलकताको भवानीपुरबाट विधानसभाको चुवान लडेकी थिइन्, भने अधिकारी तृणमुल कांग्रेसबाटै २०१६ मा नन्दीग्रामबाट विधानसभाको चुनाव लडेका थिए। निर्वाचित भएका बनर्जी पश्चिम बङ्गालको मुख्यमन्त्री बनिन्, भने अधिकारी यातायात मन्त्री बने।

तर, यसपटक दुवै एक अर्कोको प्रतिद्वन्द्वी भएर पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्। विधानसभा चुनाव आउन केही महिना अघि नै अधिकारीले यातायात मन्त्रीबाट राजीनामा दिए। त्यसपछि उनले तृणमुल कांग्रेस परित्याग गरी नरेन्द्र मोदीको भाजपामा प्रवेश गरे।

भाजपाले अधिकारीलाई नन्दीग्रामबाट चुनाव लड्ने टिकट दिए। अधिकारी नन्दीग्रामबाट चुनाव लड्ने घोषणा गरेसँगै उनलाई रोक्न बनर्जी पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र छाडेर नन्दीग्रामबाट चुनाव लड्ने घोषणा गरिन्। बनर्जी र अधिकारी प्रतिद्वन्द्वी भएर चुनावी मैदानमा उत्रिएपछि १४ वर्षपछि पुनः राज्यकै ध्यान नन्दीग्रामतर्फ छ।

नन्दीग्राममा अधिकारीको छुट्टै सामाजिक र राजनीतिक पहिचान छ। उनका भाइ दिव्येन्दु अधिकारी कान्ति लोकसभा सिटबाट सांसद हुनुहुन्छ।

बनर्जीलाई त्यहाँ चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने त्यहाँका राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन्। पूरै नन्दीग्राममा विधान सभा निर्वाचनका लागि ३ लाख मतदाता रहेको छ। त्यसमा ७० प्रतिशत हिन्दु मतदाता र ३० प्रतिशत मुस्लिम मतदाता रहेका छन्।

भाजपाको नारा नै जय श्री राम हो। त्यसैले अधिकारीलाई फाइदा पुग्ने विश्लेषकहरू बताउँछन्। बनर्जी हिन्दु भन्दा पनि बढी मुस्लिम समर्थक हो। बनर्जीले नन्दीग्राममा मुस्लिम उम्मेदवार उठाउँदा अधिकारी सहजै चुनाव जित्थे। तर, बनर्जीले त्यसो नगरी उनलाई हराउन आफै चुनाव लड्न आइन्।

बनर्जीले जय मा दुर्गाको नारा लगाउँदै हिन्दु मत आफ्नो पोल्टामा बनाउन हिन्दु कार्ड फालिसकेकी छिन्। उनी अहिले त्यहाँका मठमन्दिरमा गएर पूजाआर्जना गरी मतदाताको मन जित्ने कोसिसका साथ चुनावी रैली गरिरहेकी छिन्। २०१६ को विधानसभा चुनावमा बनर्जीको तृणमुल कांग्रेसले एक लाख ३४ हजार ६२३ मत ल्याएका थिए।

सिपिएम ५३ हजार ३९३ र भाजपा १० हजार ७१३ मत ल्याएका थिए। २०१९ को लोकसभा चुनावमा १ लाख ३० हजार ५९, भाजपा ६२ हजार २६८ र सिपिएम ९ हजार ३५३ मत ल्याएका थिए।

पछिल्लो दुई वटा निर्वाचनको मत परिणाम केल्याउँदा नन्दीग्राममा भाजपाको मत बढ्ने क्रममा छ। यता, अधिकारीले चुनावी सभामा भाषण गर्दै दाबी गरेका छन्, कि यस पटकको विधान सभा चुनावमा ममता बनर्जीलाई ५० हजार मतान्तरले हराउँछु। नन्दीग्राम दोस्रो चरण अर्थात् अप्रिल १ तारिखमा मतदान हुनेछ।

दार्जिलिङ, कालिम्पोङ र खरसाङमा पनि चुनावी माहोल तात्यो

पश्चिम बङ्गालमा विधान सभा निर्वाचनमा २९४ सिटमध्ये ममता बनर्जीको तृणमुल कांग्रेसले २९१ सिटमा मात्र उम्मेदवार उठाएको छ। नेपाली भाषीको बाहुल्यता रहेको पहाडी जिल्ला दार्जिलिङ, कालिम्पोङ र खरसाङ गरी तीन निर्वाचन क्षेत्रमा बनर्जीको तृणमुल कांग्रेसले आफ्नो उम्मेदवार उठाएनन्। तर, भारतीय जनता पार्टी (भाजपा)ले तीन जना नेपाल भाषीलाई उम्मेदवार बनाएको छ।

भाजपाले दार्जिलिङ निर्वाचन क्षेत्रबाट नीरज जिम्बा, कालिम्पोङ निर्वाचन क्षेत्रबाट शुभ प्रधान र खरसाङ निर्वाचन क्षेत्रबाट विष्णुप्रसाद शर्मा (बीपी बजगाईँ)लाई उम्मेदवार बनाई चुनावी मैदानमा उतारेको छ। उम्मेदवार प्रधान विमल गुरुङ नेतृत्वको गोजमुमोका प्रभावशाली नेता मानिन्थे। तर उनी हालै गोजमुमो परित्याग गरी भाजपा प्रवेश गरे।

उम्मेदवार जिम्बा सुवास घिसिङको लिगेसी रहेको पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता हुन्। जिम्बा यसअघि भाजपाको सदस्यता लिएर उपनिर्वाचनबाट विधायक बनेका थिए। शर्मा पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्।

यता ममता बनर्जीको तृणमुल कांग्रेससँग गठबन्धन गरेका विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले पनि उम्मेदवार घोषणा गरेका छन्।  गोजमुमोका अध्यक्ष गुरुङले दार्जिलिङ निर्वाचन क्षेत्रबाट पिटी ओला, कालिम्पोङ निर्वाचन क्षेत्रबाट डा. राम भुजेल र खरसाङ निर्वाचन क्षेत्रबाट नारबुजी लामालाई उम्मेदवार घोषणा गरेका हुन्।

विमल गुरुङले यसअघि भाजपालाई सहयोग गर्दै आइरहेका थिए। तर, यस पटक मोदीको भाजपा छाडेर उनी बनर्जीको तृणमुल कांग्रेससँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिए। गुरुङ केही महिनाअघि मात्र पहाडी जिल्ला फर्किएका हुन्।

त्यस्तै, विनय तामाङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले तीनजना विधान सभा चुनाव लड्ने उम्मेदवारको घोषणा गरेका छन्। दार्जिलिङबाट केशवराज पोखरेल, कालिम्पोङबाट रुदेन सादा लेप्चा र खरसाङबाट छिरिङ दाहाल रहेका छन्।

गोजमुमोमा आबद्ध खेमाले छुट्टाछुट्टै उम्मेदवार घोषणा गरेसँगै पहाडी जिल्लामा यस पटकको विधान सभा चुनाव रोचक हुने भएको छ। विधान सभा चुनावमा १३ विकास बोर्डका प्रतिनिधिहरूले विनय नेतृत्वको उम्मेदवारहरूलाई समर्थन गर्ने घोषणा गरेका छन्।

त्यस्तै, तामाङ युवा सङ्घले पनि विधान सभा चुनावमा तामाङ नेतृत्वको उम्मेदवारहरूलाई सहयोग गर्ने घोषणा गरेका छन्। यसअघिको विधान सभा चुनावमा ‘गोर्खाल्याण्ड’ मुद्दा उठाएर भोट माग्न उम्मेदवार घरघर पुग्थे। तर, गोर्खाल्याण्ड’ मुद्दाको विषयमा कसैले समर्थन नगरेपछि त्यहाँका जनता निराश छन्।

अब यसपटक त्यहाँका जनताले कुन खेमाका उम्मेदवारलाई जिताउने त्यो चुनावको मत परिणामले बताउनेछ। आठौँ चरणमा सम्पन्न हुने विधानसभा निर्वाचन यी निर्वाचन क्षेत्रमा पाँचौँ चरण अर्थात् अप्रिल १७ तारिख हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.