|

  • गोविन्द महतो-

जनकपुरधाम : विदेशिएका युवाले पठाउने रकम ( रेमिट्यान्स)ले घर परिवारको मात्र नभई देशको अर्थतन्त्र धानेको छ। तर यसँगै अर्को पाटो पनि छ, रेमिट्यान्सले धेरै परिवारलाई छिन्न–भिन्न पारेको छ। वैदेशिक रोजगारीकै कारणले कयौं युवाको अनाहकमा ज्यान पनि गएको छ ।

२०७३ कात्तिक २६ गते जनकपुर उप–महानगरपालिका रजौलका श्रीराम ठाकुरको हत्या भयो। वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै श्रीमती नितु मिश्रको मिलोमतोमा ठाकुरको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्यो। घटनामा संलग्न रहेको आरोपमा जितेन्द्र चौधरी र मनोज चौधरी जेल परेका छन् भने नितु मिश्रलाई जिल्ला अदालत धनुषाले एक लाख धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

यस्तै, पुस २९ गते महोत्तरीको हतिसर्वा गाउँविकास समितिको संग्रामपुरका अञ्जनीकुमार मिश्रको पनि वैदेशिक रोजगारीबाट फर्केको केही दिनभित्रै हत्या भयो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्रकी श्रीमती ज्योति मिश्रसहित फिरोज कवाडी, गंगाराम दाश, तुफान नट र कुबेर राउतलाई पक्राउ गर्‍यो। अनुसन्धानबाट अनैतिक यौन सम्बन्ध र सम्पतिको लालचकै कारण घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए। 

यी दुई त उदाहरण भए, तराईमा वैदेशिक रोजगारीसँग सम्बन्धित कयौ गम्भीर प्रकृतिका घटना सार्वजनिक भएका छन्। धनुषामा २०७३ साउन १ गतेदेखि माघको अन्तिम सातासम्ममा वैदेशिक रोजगारीसँग सम्बन्धित ७६ वटा घटना दर्ता भएका छन्। महोत्तरीमा २१, सर्लाहीमा एक सय ५१, सिन्धुलीमा १० र दोलखामा ८ वटा गरी कूल २ सय ६६ वटा बैदेशिक रोजगारी सम्बन्धी उजूरीका घटना दर्ता भएको अञ्चल प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

जनकपुर अञ्चल प्रहरी कार्यालयका अनुसार गत वर्ष धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछाप जिल्लामा ६४ जनाको हत्या भएको तथ्याङ्कमा उल्लेख रहेको छ। चालु आर्थिक वर्षको फाल्गुन सम्म अञ्चल भरिमा ३२ वटा कर्तव्य ज्यानको घटना भएको अञ्चल प्रहरी कार्यालय जनकपुरको तथ्याङ्कमा उल्लेख छ। यीमध्ये अधिकांश हत्याका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पतिको लालच नै भएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।

वैदेशिक रोजगारीले समाजमा आर्थिक समृद्धिका साथै जीवन स्तरमा सुधार भए पनि जनचेतनाको कमीका कारण आपसी कलहको मुख्य कारण बैदेशिक रोजगार बन्न पुगेको छ । एकातीर बैदेशिक रोजगारीले आधुनीकताको जोड दिए संगै विज्ञान तथा प्रविधिको गलत प्रयोगले समाजमा अश्लिल तथा समाजलाई अपच्य हुने खालका समस्या समेत थपिएको छ। 

वैदेशिक रोजगारीबाट आउने रेमिटान्सको सदुपयोग तथा कुनै पनि काम कर्तव्यका यकिन नभएको कारण विकृति तथा विसंगति बढेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकको भनाइ छ। उनले भने, 'विदेश गएको मानिसले तथा घरमा रेमिट्यान्स चलाउने मानिसले पैसाको सदुपयोग तथा पुरानै वातावरण घुलमिल हुन नसकेको कारण समस्या उत्पन्न भएको छ।'

मध्य तराईका जिल्लामा वैदेशिक रोजगारीका कारण विकृति बढ्नुका साथै हत्या हिंसाका घटना बढेका छन्। अधिकांश हत्या हिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.