|

राजनीतिक व्यक्तिहरुको छवि बडो विचित्रको हुन्छ। एकथरी बाहिरबाट हेर्दा उदारवादी देखिन्छन् तर भित्रभित्र कट्टरपन्थी हुन्छन्। अर्काथरी बाहिरबाट देख्दा भयंकर निरंकुशजस्ता देखिन्छन् भित्रचाहिँ अदृश्य रुपमा प्रजातान्त्रिक मुना पलाइरहेको भेटिन्छ। तत्कालीन युवराज पारस शाहको छवि पनि यस्तै विरोधाभाषपूर्ण थियो। बाहिरबाट हेर्दा जे जस्तो सुनिन्छ/देखिन्छ, मैले संगत गर्ने क्रममा उनलाई त्यसविपरीत पाएँ। मैले बुझेसम्म बाबु राजा ज्ञानेन्द्रले सत्ता हातमा लिनु गलत हो भन्ने उनको अडान थियो।

पुराना पञ्चहरुलाई आफ्ना बाबुले साथमा लिएपछि लामो समयसम्म शासन सत्ता चल्दैन, बाबुले कहाँ लगेर डुबाउने हुन् भन्नेमा उनी चिन्तित थिए। तर दरबारिया परम्परा कस्तो हुँदो रहेछ भने राजाको इच्छाविपरीत परिवारका सदस्यहरुले पनि बोल्नै नपाउने। हुकुम शिरोपर गर्नैपर्ने। राजाले बोलेको बोली वा चालेको कदमविरुद्ध कसैले कुरा उठाउनै नहुने राजतन्त्रात्मक संस्कार रहेछ। त्यसैले युवराज पारस बुवाले चालेका कदमबारे असन्तुष्टि पोख्न पनि नसक्ने, चित्त बुझाउन पनि नसक्ने अवस्थामा थिए।

राजपरिवारका सदस्यहरुले दल खोल्नु वा कुनै दलको सदस्य बन्नु राजतन्त्रविरोधी मानिन्छ। पारिवारिक सदस्य वा नातेदारलाई राजनीतिक पार्टीमा लाग्न वा दल खोल्न नदिने परम्परा हुँदोरहेछ। प्रजातान्त्रिक अभ्यास गर्न निषेधित गरिदोरहेछ, दरबारिया संस्कारका नाममा। गणतन्त्र स्थापना भइसकेपछि पारसले पनि पार्टी गठन गर्न चाहेका थिए। तर दरबारिया संस्कार बाधक बन्यो। त्यसैको परिणाम गणतन्त्र आइसकेपछि पारस लामै समय विदेश (थाइल्यान्ड) भासिए।

तत्कालीन युवराज दीपेन्द्र बुबा वीरेन्द्रले चालेको प्रजातान्त्रिकरणको कदमप्रति सन्तुष्ट थिएनन्। आफूले रोजेकी कन्य विवाह गर्न सुरुमा आमा ऐश्वर्य र पछि बुबा हुँदै सबै दरबारिया मिलेर अवरोध गरेकोमा दीपेन्द्र असन्तुष्ट त थिए नै, त्यसबाहेक बाबुले प्रजातान्त्रिक शक्तिहरुलाई ‘स्पेस’ दिने नाममा दरबारलाई कमजोर बनाएको ठान्थे। त्यसविपरीत पारसमा भने बुबा ज्ञानेन्द्रले निरंकुशकदम चाली थोत्रा मण्डलेहरुलाई च्यापेर राजतन्त्र संकटमा पारेको बुझाइ थियो। दीपेन्द्र संकीर्ण र दरबारलाई बलियो बनाउनुपर्छ भन्ने सोचतिर उन्मुख थिए। पारस जनतालाई प्रजातान्त्रिक अभ्यास गर्न दिनुपर्छ भन्ने मान्यताबाट प्रेरित थिए। बाहिरि प्रचार भने यस विपरीत दीपेन्द्र प्रजातन्त्र र पारस निरंकुशता चाहन्थे भन्ने छ। मैले बुझेको सत्य यो होइन।  

खानपिन र रसरंगमा मस्त हुने दरबारको संस्कार रहेछ। किनभने उनीहरु कानुनभन्दा माथि थिए। जसलाई जे भने पनि, जे गरे पनि हुने उनीहरुको संस्कार थियो। आफ्नै ज्ञानले, मनले जानेर स्वनियन्त्रण गरे रोकिन सम्भव थियो। नत्र उनीहरुको उच्छृंखल क्रियाकलाप कसैले रोक्न सक्तैनथे। तसर्थ रक्सी र युवती आकर्षणमा पारस बदनाम भए। संस्कारले नै उनलाई बदनाम बन्न प्रेरित गर्‍यो। श्री ५ लेखिने दरबारियाहरु प्रायः सबै यस मामिलामा मुछिएका छन्। दीपेन्द्रका बारेमा पनि अनेक किस्साहरु नसुनिएका होइनन्। तर, पारस अलि बढी खुला स्वभावका भएकाले सार्वजनिक भयो। बुबाको कदमबाट दिक्क भएर कहिलेकाहीँ पारस मसँगको भेटघाटमा भन्थे- ‘बुबा सरकारलाई सम्झाइदिनोस् न, यसरी कहीँ पुगिँदैन।‘

कहिलेकाहीँ मण्डले तथा स्वार्थी पृष्ठभूमिका मानिसहरु आएर मलाई युवराज पारस सरकारबाट हुकुम भएको छ, मेडिकल कलेजको अनुमति दिनुपर्‍यो, नर्सिङ र एमबीबीएसका कोटा मिलाइदिनुपर्‍यो भनेर हैरान बनाउँथे। पारसले नै भनेको हो भने त सोच्नुपर्ने भयो भन्दै ‘युवराजबाट नै मलाई फोन गराउनुहोस्’ उनको नाम बेचेर खान पल्किएकाहरुलाई मैले यसो भन्नुपर्थ्यो। तर, पारसले कहिल्यै फोन गरेनन्। फेरि केही दिनपछि आएर उनीहरु उस्तै दबाब दिन्थे। आजित भएपछि एक दिनको भेटमा मैले पारससँग कुरा उठाएँ, ‘तपाईँको नाम लिएर मेडिकल र नर्सिङ कलेजको सम्बन्धनका लागि आएका थिए, कुरा के हो?’ यस्तो सुन्नासाथै पारस राँकिए, ‘साला मण्डलेहरु। यिनले डुबाउने भए। मैले तपाईँलाई केही भन्नु छ भने आफै भन्न सक्तिनँ र ! कसैलाई कोटा दिएर राज्य चल्छ? फेरि भन्न आए भने कोठाबाट घोक्रेठ्याक लगाएर निकालिदिनू।’

प्रजातान्त्रिक सोच राख्ने, जनाधार भएका लोकप्रिय अनुहार, विकास निर्माणमा चासो राख्ने व्यक्तिहरुलाई मन्त्रिपरिषदमा समेट्नुपर्छ भन्ने पारसको बुझाइ थियो। भलै, मनमा जे भए पनि बुबाको कुरा काट्न सक्तैनथे। बुबाप्रतिको उनको असन्तुष्टि सांकेतिक भाषाबाट बुझ्नुपर्थ्यो।

मैले बुझेसम्म दीपेन्द्रको विवाहका सबालमा उनको पक्षमा पारसको पूर्ण समर्थन थियो। पूरा दरबार दीपेन्द्रको विपक्षमा उभिँदा समेत पारस एकलव्य शैलीमा दाजु दीपेन्द्रको साथमा थिए। आफूले मन पराएकी केटी विवाह गर्न पाउनुपर्छ भन्ने सोचका कारण पारसले दीपेन्द्रलाई साथ दिएका हुन सक्छन्। सँगसँगैजस्तो कुर्किएकाले समेत पारसले दीपेन्द्रलाई साथ दिएका होलान्। २०५८ साल जेठ १९ गते रातिको त्रासद दरबार हत्याकाण्डमा सबैलाई गोली दाग्दासमेत पारसलाई नछुनुमा सायद दीपेन्द्रले आफूप्रतिको त्यही गुण सम्झिएर हो कि? दीपेन्द्रले पारसलाई गोली नहान्नुमा यो ‘फ्याक्टरले पनि काम गरेको हुन सक्छ। मैले जानकारी पाए अनुसार दरबार हत्याकाण्डमा गोली चलाउनेचाहिँ दीपेन्द्र नै हुन्। भलै, उनलाई उकास्ने दरबारिया, देशी, विदेशी तत्व को को थिए, त्यो अर्को पाटो हो। मैले विभिन्न दरबारियाहरुसँग बुझेसम्म दीपेन्द्रले बाबु वीरेन्द्रलाई मात्र मार्ने योजना बनाएका हुन सक्छन्। त्यही भएरै दरबारियाभन्दा अरुलाई पार्टीमा बोलाउनबाट रोकेका हुन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नबोलाउनू भनेर दीपेन्द्रले नै निर्देशन दिएका रहेछन्। मैले थाहा पाएसम्म दीपेन्द्रको योजना यस्तो थियोः

सुरुमा बुबालाई ड्याङ्ङ गोली हानेर सिध्याउने। अनि हृदयाघात भएर राजा वीरेन्द्रको मृत्यु भयो भनेर प्रचार गर्ने। त्यसपछि राजा घोषित भएर आफूले मन पराएकी प्रेमिकासँग विवाह गर्ने र शासन चलाउने। आफै राज्यप्रमुख भएपछि दरबारियाले बाहिर कुरा लैजान सक्तैनन्।

तर, बुबा वीरेन्द्रलाई गोली हानेपछि आमा ऐश्वर्या दीपेन्द्रलाई झम्टन पुगिन्। यसपछि दीपेन्द्र उत्तेजित भए। ऐश्वर्यामाथि गोली प्रहार गरे। अनि अरु जो जो अगाडि आए सबैलाई गोली हाने। सेनाको मुखट लगाएर गोली चलाएको जो भनिन्छ म त्यसमा सहमत छुइनँ। किनभने सेनाको एउटा पक्षले गोली चलाउँथ्यो भने प्रतिउत्तरमा अर्को पक्षले पनि चलाउँथ्यो। दरबारमा भएजति सबै सेना एकमत भएर राजपरिवारका सदस्यलाई ताकीताकी गोली चलाउन सम्भव हुँदैन। सेनाको दुई पक्ष गोली हानाहान भएपछि त्यो कुरा बाहिर आउँथ्यो।

इतिहास हेर्ने हो भने कोतपर्व, भण्डारखाल पर्वदेखि पछिल्लो कालखण्डसम्मका हत्याकाण्डहरुमा राजपरिवारमाथि राजपरिवारकै सदस्यबाहेक अरुले हात हालेको भेटिँदैन। राजपरिवारभित्रबाटै मारामार भएको छ। भाइले काट्ने, दाइले काट्ने, राजाले आदेश दिने, राजीले आदेश दिने, तलतलका सदस्यहरुबीच काटाकाट देखिन्छ। पछिल्लो दरबार हत्याकाण्डमा पनि परम्परा विपरीत सैनिकहरुले गोली चलाए भन्ने आधार देखिँदैन। एक त शाही परिवारको भोजमा सेना जान पाउँदैनथ्यो। दोस्रो पहिले पहिले दरबारभित्रका कार्यक्रमहरुमा राजाले मात्र हतियार साथमा राख्ने चलन थियो। राजा वीरेन्द्रलाई हृदयाघातसम्बन्धी समस्या देखापरेपछि युवराज दीपेन्द्रले हतियार राख्ने सहुलियत पाएका थिए। उनीबाहेक अरुले हतियार लैजान पाउँदैनथे।

मलाई कतिपय दरबारियाहरुले बताएअनुसार दीपेन्द्रलाई आफ्नो हातमा सत्ता लिन राजदरबारकै केही सदस्यहरुले उक्साउने गरेका थिए। दीपेन्द्र राजा वीरेन्द्रको तुलनामा निरंकुश सत्ताका आकांक्षी थिए। दीपेन्द्र र पारस युवराज छँदा मन्त्रीका रुपमा मैले दुवैसँग दरबारभित्र होस् वा बाहिर संगत गरेको छु। त्यस बेला मैले उनीहरुको मनोविज्ञान बुझ्ने प्रयत्न गरेकाले यसको भेउ पाएको हुँ। गणतन्त्र घोषणापछि पारस राजतन्त्र फर्काउनतिरभन्दा पार्टी खोलेर राजनीति गर्नेतिर लागेका थिए। उनलाई दरबारबाट रोकियो। पारस चाहन्थे भने विदेशमा बसेर कुनै पनि किसिमको राजतन्त्र फर्काउने अभियान चलाउन सक्थे। तर, उनी यो दिशातिर लागेनन्। पारसलाई कुनै सफाइ दिन वा समर्थन गर्न मैले यसो भनिरहेको छैन र मलाई त्यो जरुरी पनि छैन। तर, पारसका बारेमा जे प्रचार हुने गरेको छ, त्यो आंशिक मात्र सत्य हो। यो पनि पढ्नुस्ः महाकाली सन्धि : अल्पबुद्धिको परिणाम

(पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक 'नलेखिएको इतिहास'बाट।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.