|

अजयसिंह विष्ट उर्फ महन्त आदित्यनाथ अहिले भारतको महत्त्वपूर्ण क्षेत्र, जसले केन्द्रीयस्तरमै प्रत्यक्ष प्रभाव राख्न सक्छ, उत्तरप्रदेशका मुख्यमन्त्री बनेका छन्। यससँगै उनीप्रतिको जनचासो बढ्दै गएको छ। को हुन् आदित्यनाथ? के हो उनको पृष्ठभूमि? यसबारे आमचासो हुनु स्वाभाविक नै हो।

महन्त योगी आदित्यनाथ चर्चित भारतीय पुरोहित तथा राजनीतिज्ञ हुन्। उनी हिन्दू राष्ट्रियताका अभियन्तासमेत भनेर चिनिने गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)का प्रखर अभियन्ता आदित्यनाथ गोरखपुर विधानसभाबाट सन् १९९८ यता पाँच पटक सभासद भइसकेका छन्। उनी गोरखपुरमा रहेको हिन्दू मन्दिर गोरखनाथ मठका महन्त तथा मुख्य पुरोहित उनका आध्यात्मिक पिता महन्त अवैद्यनाथको मृत्यु भएपछि सन् २०१४ देखि आदित्यनाथ सो मठका महन्त र मुख्य पुरोहित रहँदै आएका छन्। आदित्यनाथ युवा सैनिक सङ्गठन हिन्दू युवा वाहिनी, जो साम्प्रदायिक हिंसामा संलग्न हुँदै आएको छ, यसका संस्थापकसमेत हुन्।

गढवाली राजपूत परिवारमा पौरी गढवाल जिल्लाको पन्चुर गाउँमा जन्मिएका आदित्यनाथका बुबा वन रेञ्जर थिए। आदित्यनाथले श्रीनगरमा रहेको हेमवती नन्दन बहुगुणा गढवाल विश्वविद्यालयबाट गणित विषयमा स्नातक गरेका छन्। उनी सन् १९९० मा भएको अयोध्या राम मन्दिर आन्दोलनमा जोडिएका थिए। उनी गोरखनाथ मठका महन्त अवैद्यनाथको प्रभावमा परेपछि उनका चेला बने। बिस्तारै उनलाई ‘योगी आदित्यनाथ’ नाम दिइयो र महन्त अवैद्यनाथका उत्तराधिकारी बनाइयो।

२१ वर्षको उमेरमा घरपरिवार त्यागेका आदित्यनाथ हिन्दूत्वका प्रखर समर्थक हुन्। भाजपा र संघ परिवार अयोध्या आन्दोलनमा सन् १९८० मा जोडिएपछि यी दुवै हिन्दू राष्ट्रवादको पक्षमा उभिए। आदित्यनाथ सबैभन्दा कान्छो सभासदका रूपमा २६ वर्षको उमेरमा १२औँ लोकसभामा पुगे। उनी गोरखपुरबाट सन् १९९८, १९९९, २००४, २००९ र २०१४ मा भारतीय संसद लोकसभामा निर्वाचित भएका थिए।

पहिलोपटक लोकसभामा पुगेपछि नै आदित्यनाथले उनको सैन्य सङ्गठन हिन्दू युवा बाहिनी, उत्तर प्रदेशको पूर्वाञ्चलमा रहेको हिंसात्मक सङ्गठनको परिचय बनाएको सङ्गठन सुरु गरे। त्यहाँ चुनावमा टिकट वितरणको विषयलाई लिएर आदित्यनाथ र भाजपाबीच निकै तनाव बढ्यो। यद्यपि, भाजपाले तनावलाई माथि चढ्न दिएन, किनभने आदित्यनाथ महत्त्वपूर्ण अभियन्ता थिए।

भाजपासँगको सम्बन्ध

आदित्यनाथको भाजपासँग झण्डै एक दशकदेखि तनावपूर्ण सम्बन्ध रहँदै आएको छ। उनले प्रायः भाजपाको आलोचना गरिरहेका हुन्छन्। पूर्वी उत्तर प्रदेशमा हिन्दू युवा बाहिनी र गोरखनाथ मठको बलमा आफ्नै पक्कड स्थापित भएपछि उनमा आत्मविश्वास बढेको र भाजपामाथि निरंकुश बन्न खोजेका देखिन्छ। जब उनको आवाज सुनिँदैनथ्यो, उनले भाजपाविरुद्ध आफ्ना उमेद्वार उठाउँथे। यसको गतिलो उदाहरण सन् २००२ मा गोरखपुरबाट राधामोहन दास अग्रवाललाई हिन्दू महासभामा टिकट दिइएको थियो, जसले तात्कालीन क्याविनेट मन्त्री शिवप्रताप शुक्लालाई फराकिलो मत अन्तरले पराजित गरेका थिए। सन् २००७ मा पनि आदित्यनाथले भाजपा उमेद्वारविरुद्ध अभियान चलाएका थिए।

तात्कालीन उपप्रधानमन्त्री लालकृष्ण आडवाणी, आरएसएस प्रमुख राजेन्द्र सिंह तथा भीएचपी प्रमुख अशोक सिंघल गोरखपुर पुगेका थिए, उनलाई भेट्न। २२–२४ डिसेम्बर २००६ मा आदित्यनाथले तीनदिने विराट हिन्दू महासम्मेलन त्यसबेला आयोजना गरे गोरखपुरमा, जब भाजपाको राष्ट्रिय कार्यसमितिको बैठक लखनऊमा बस्दै थियो। द्वन्द्वकै बीच केही आरएसएस नेताले उनले आयोजना गरेको महासम्मेलनमा भाग लिए।

राजनीतिक विरोधाभाष

सन् २००५मा आदित्यनाथले ‘शुद्धीकरण अभियान’को नेतृत्व गरे, जुन क्रिश्चियनबाट हिन्दूमा फर्किने अभियान थियो। यस्तो अभियानमा १८ सय क्रिश्चियन उत्तर प्रदेशमा हिन्दूमा फर्किएका थिए। उनले त्यसबेला भनेका थिए, ‘म उत्तर प्रदेश र समग्र भारतलाई नै हिन्दू राष्ट्र नबनाई रोकिन्नँ।’

सन् २००७ जनवरीमा भएको एउटा हिन्दू–मुस्लिम द्वन्द्वका क्रममा डिष्ट्रिक्ट मेजिस्ट्रेटले आदित्यनाथलाई सो क्षेत्रमा नजान सुझाएका थिए। सुरुमा उनी सहमत भए पनि पछि उनका अनुयायीसहित त्यहाँ पुगे। उनले त्यहाँ अहिंसात्मक धर्ना सुरु गरे। उनका केही अनुयायीले उत्तेजित भनाइ राखेका कारण त्यहाँ द्वन्द्व बढ्यो। कफ्र्यू लगाउने अवस्था सृजना भयो। आदित्यनाथले कर्फ्यु तोडेका कारण भारतीय दण्ड संहिताअनुसार उनी जेल परे। हिन्दू युवा बाहिनीको विरोध कार्यक्रममा मुम्बई–गोरखपुर एक्सप्रेसमा आगो लगाइएपछि पनि उनी पक्राउ परेका थिए।

सन् २०११ मा ‘सफ्रोन वार– र्याडिकलाइजेशन अफ हिन्दूइज्म’ नामक डकुमेन्ट्री फिल्ममा आदित्यनाथलाई विराट हिन्दूस्तान र्याली उत्तर प्रदेशका गाउँमा गराएर साम्प्रदायिक हिंसा बढाएको आरोप लगाइयो। आदित्यनाथले एक अज्ञातले भनेको मुस्लिम युवतीलाई चिहानबाट झिकेर बलात्कार गरेको भन्ने कुरालाई शेयर गरेपछि सन् २०१५ को मार्च महिनामा सामाजिक सञ्जालमा भाइरल बनेको थियो। अगष्ट २०१४ मा कांग्रेस पार्टीका प्रवक्ता सेहजाद पुनवालाले राष्ट्रिय अनुगमन आयोगलाई प्रहरीले आदित्यनाथविरुद्ध पहिलो सूचना प्रतिवेदन प्रस्तुत गर्ने कुरा लेखेका थिए।

सन् २०१४ मा एउटा मिति उल्लेख नभएको भिडियोमा युट्युवमा आदित्यनाथले अजमगढमा आयोजित एउटा सार्वजनिक भाषणमा अन्तरधार्मिक विवाहबारे भनेका थिए, ‘यदि उनीहरूले एक हिन्दू युवती लगे भने हामी एक सय मुस्लिम युवती ल्याउनेछौँ।’ सोही भिडियोमा उनले भनेका थिए, ‘यदि उनीहरूले एक हिन्दू मारेमा हामी पनि सय मुस्लिम मार्नेछौँ।’

जुन २०१५ मा आदित्यनाथले सूर्य नमस्कार र योगा गरिरहेका बेला भने, ‘तिनीहरू, जो योगालाई तिरस्कार गर्छन्, उनीहरूले हिन्दूस्तान छाड्न सक्छन्।’ उनले भनेका थिए, ‘उनीहरू, जो सूर्य, भगवानमा पनि साम्प्रदायिकता देख्छन्, उनीहरूलाई मेरो नम्र निवेदन छ कि उनीहरू समुद्रमुनि जाऊन् वा अँध्यारो कोठामै उनीहरूको बाँकी जीवन बिताऊन्।’

सन् २०१५ मा भारतीय मिडियामा भएको विवादमा आदित्यनाथले नायक शाहरूख खानलाई पाकिस्तानी आतंककारी हाफिज शइद भनिदिए। उनले भने, ‘शाहरूख खानले बुझ्नुपर्छ कि बहुसङ्ख्यक जनसङ्ख्याले उनलाई स्टार बनाएका हुन्, र यदि तिनले उनका फिल्म बहिष्कार गरे भने शाहरूखले सडकछाप बन्नुपर्नेछ।’ दुर्भाग्य के भयो भने शाहरूख खानले पनि शइदकै भाषा बोलिदिए।

३ जनवरी २०१६ मा पठानकोटमा रहेको भारतीय एयर फोर्समाथि भएका आतङ्ककारी आक्रमणको एक दिनपछि आदित्यनाथले भनेका थिए, ‘पठानकोट आक्रमणले फेरि एक पटक पुष्टि गरिदिएको छ कि सैतान बरु सुध्रन सक्छ, पाकिस्तान सुध्रँदैन।’ आदित्यनाथले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सात मुस्लिम बहुल देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने नीतिलाई समर्थन गरेका छन्।

(एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.