चितवन : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा १ जनाको मृत्यु भएको छ। अरू दुई बेपत्ता भएका छन्। ९ जनाको उद्धार गरिएको छ। बेपत्ताहरूको गोताखोरद्वारा खोजी कार्य भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए। उद्धार गरिएकामध्ये एकजनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो। मृतकको परिचय खुलिसकेको छैन। अरू ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले जानकारी दिए।
निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो। काम गर्दै गरेको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर कामका लागि गएको जानकारी दिए। ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।