|

कालीकोट : कालीकोटमा यातायातका साधन पुगेको १५ वर्ष पुग्दा पनि अझै बसपार्क बन्न सकेको छैन। ०६३ चैतमा पहिलो पटक मिनिट्रक पुगेसँगै कालीकोटमा यातायातका साधन सञ्चालनमा छन्। तर, भौगोलिक कठिनाइका कारण र सम्बन्धित निकायको बेवास्ताले अझैसम्म बसपार्क बन्न नसकेको हो।

जिल्लामा व्यवस्थित पार्किङस्थल अभावले जोखिमपूर्ण ठाउँमा यातायातका साधन राख्नुपरेको यातायात व्यवसायी बताउँछन्।

यातायात व्यवसायीले पार्किङ गर्ने ठाउँ नपाएर कर्णाली राजमार्गका छेउछाउमा जोखिम उठाएरै आफ्ना सवारी थन्क्याउँदै आएका छन्।

व्यवस्थित बस बिसौनी अभावले यस्तो समस्या झेल्नु परेको उनीहरूको भनाइ छ। देशका विभिन्न सहरबाट छुटेका सवारी साधनसँगै मालवाहक गाडी जितेको छहरामा सधैँजसो पार्किङ गर्ने गरिएको छ।

साँघुरो सडक र भिरालो ठाउँको छेउमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता रहेको गाडी चालकको भनाइ छ। तर, स्थानीय प्रशासनले ठाउँ हुँदाहुँदै पनि व्यवसायीले आफूखुसी छहराको जोखिम ठाउँमा पार्किङ गर्दै आएको दाबी गरेको छ।

छहरामा पार्किङ गर्ने मालवाहक गाडी र सार्वजनिक यातायातका साधनलाई हुल्म बजारमा ल्याएर राख्न बारम्बार निर्देशन दिइए पनि उनीहरूले अटेर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।

जुन यातायात समितिको पालो आउँछ, उसैले यात्रुलाई चढाउन जाने र अन्य समय हुल्ममा पार्किङ गर्ने व्‍यवस्था मिलाउन भनिए पनि यातायात समितिले बेवास्ता गर्दा समस्या आएको प्रजिअ आचार्यले जानकारी दिए।

‘यात्रुलाई गाडीमा चढाउने होडबाजीका कारण सबैले छहराजस्तो जोखिम ठाउँमा पार्किङ गरिरहेका हुन्छन्’, प्रजिअ आचार्यले भने, ‘एकपटकको निर्देशनले नपुगेकाले अब पुनः सम्झाएर हुल्ममा पार्किङका लागि सार्न आग्रह गर्छौं।’

जिल्ला प्रहरी कार्यालय अस्थायी प्रहरी पोस्ट हुल्ममा छ। प्रहरीले भनेको समय मात्र हुल्ममा पार्किङ गरिन्छ। केही दिनमै पुनः व्यवसायीले जोखिम ठाउँमा पार्किङ गर्छन्। जिल्ला सदरमुकाम मान्मका लागि ताडीमा बसपार्क बनाइएको छ। तर, यातायात व्यवसायीले जिरो प्वाइन्टको सडक छेउमा गाडी पार्किङ गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.