|

विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका उद्योगी शेखर गोल्छा चुनावी अभियानका क्रममा मोरङ आइपुगेका छन्।

चैत २८ र २९ गते हुने महासंघको महाधिवेशनमा आफ्नो पक्षमा माहोल सिर्जना गर्न गोल्छासहितको टोली पूर्व आएका हुन्। उनीहरुले बिहीबार उर्लाबारीमा उद्योगी व्यवसायीसँग अन्तर्क्रिया गरेको छ। संशोधित विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएपछि निर्वाचनमा वरिष्ठ उपाध्यक्ष महत्ववपूर्ण पद बनेको छ।

गोल्छा प्यानलबाटै उपाध्यक्षमा नगर जिल्लाबाट दिनेश श्रेष्ठ, वस्तुगतबाट उमेशलाल श्रेष्ठ र एशोसिएटतर्फ चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन्। गोल्छाको प्यानलबाट कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधानको उम्मेदवारी घोषणा भएको छ।

गोल्छाले निजी क्षेत्रलाई स्थापित गर्न मेचीदेखि महाकालीसम्मको सहभागितामा प्यानल तयार भएको बताए। राजनीतिक अस्थिरता, द्वन्द्व र नाकाबन्दी झेलेको नेपालको उद्योग व्यवसायलाई अगाडि बढाउन आफ्नो नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।

इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउने महासंघलाई सबल बनाउन आफ्नो टिमलाई विजयी गराउन गोल्छाले आग्रह गरे। हालकी वरिष्ठ उपाध्यक्ष भवानी राणा महाधिवेशनबाट अध्यक्ष चयन हुँदैछिन्। विदेशी लगानी भित्र्याउँदै मुलुकलाई आर्थिक रूपमा सबल बनाउन अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्ने आफ्नो योजना रहेको उनले बताए।

उर्लाबारी आएको टोलीलाई स्वागत गर्दै उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ ले पूर्वी मोरङमा पनि उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण तयार गर्न आवश्यक रहेको बताए। महासंघको नयाँ नेतृत्व चयनमा १०५ नगर र जिल्ला संघको ५० प्रतिशत, वस्तुगतको ३० प्रतिशत र एसोसियटको २० प्रतिशत मत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.