|

काठमाडौं : भक्तपुर वागेश्वरीका प्रकाश लामिछानेले अपहरित व्यापारीबाट फिरौती लिएपछि आफ्नै प्रेमिकाको हत्या गरेको खुलेको छ। लामिछानेले व्यापारी अपहरण गरी फिरौती लिएपछि पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरेर फरार भएको एक महिना पछि खुल्न आएको हो।

महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी फागुन ५ गते व्यापारी अपहरण गरी फिरौती लिएका मुख्य अभियुक्त लामिछानेको खोजी भइरहेको जनाएको छ। लामिछानेको समूहले फागुन ५ गते काठमाडौंको इन्द्रचोकस्थित मख्खनगल्लीमा रहेको न्यू डालिज साडी र साडी संसार पसल संचालन गर्ने श्यामशुन्दर अग्रवाललाई अपहरण गरेको थियो।

अग्रवालको अपहरणमा धादिङकी राधिका श्रेष्ठ, भक्तपुरका किशोर गिरी र सरोज घोरासैनी संलग्न रहेको पाइएको महानगरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए। उनको घटनाको मुख्य योजनाकार लामिछाने रहेको पनि स्पष्ट पारे। लामिछानेले अग्रवालकै पसलमा काम गर्ने आफ्नी प्रेमिका श्रेष्ठलाई प्रयोग गरेर अग्रवाललाई अपहरण गरिएको पनि पाइएको एसएसपी अमात्यले बताए।

लामिछानेको योजनामा उनकी प्रेमिका श्रेष्ठले साहु अग्रवाललाई अर्जेन्ट काम छ भनेर सुन्धारास्थित सनसाइन होटलमा बोलाएको र त्यही क्रममा उनीहरु दुवै जनाले मदिरा पिएपछि अपहरण गरिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। अपहरणपछि फिरौतीको माग गर्दै शारीरिक यातना दिएका उनीहरुले १० लाख ७० हजार फिरौती पाएपछि अग्रवाललाई होटलमै छाडेर मुख्य अभियुक्त लामिछाने, उनकी प्रेमिका राधिका, गिरी र घोरासैनी भागेका थिए।

अपहरणमा संलग्नहरुले बसन्तपुरमा पुगेर फिरौती रकम बाँडेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। गिरी र घोरासैनीलाई २/२ लाख रकम दिएर बाँकी रकम भने प्रेमीप्रेमिका लामिछाने र श्रेष्ठले राखेका थिए। त्यसपछि लामिछानेकै घरमा गएका प्रेमिका श्रेष्ठलाई पोल खुल्ने डरले हत्या गरी लामिछाने फरार रहेको महाशाखा प्रमुख अमात्यले बताए।

हत्या गरिएकी श्रेष्ठको शव फागुन २० गते लामिछानेको घरबाट २ सय मिटर तल मुहान पोखरी भन्ने स्थानमा खाल्टामा पुरी राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका गिरीको बयानको आधारमा श्रेष्ठको शव फेला पारेको हो। मुख्य अभियुक्त लामिछानेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.