|

काठमाडौं : स्थानीय तह निर्वाचनमा भोट खसाल्ने तरिका सिकाउनका लागि ७५ करोड रुपैयाँ खर्च हुने भएको छ। ७ सय ४४ स्थानीय तहमा हुने निर्वाचनमा १ करोड ४० लाख मतदातालाई लक्षित गरी भोट हाल्ने सही तरिका सिकाउन ७५ करोड रुपैयाँ खर्च हुने निर्वाचन आयोगले जनाएको छ।

'मतदाता शिक्षा कार्यक्रममा सामाग्री तयार गर्न, मतदाता कार्यकर्ता खटाउन बैठक आदि गरी ७५ करोडसम्म खर्च हुन्छ,' आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले भने। मतदाता शिक्षाका लागि विनियोजित खर्चको आधा रकम मतदाता कार्यकर्तालाई दिइने तलब तथा निर्वाचन प्रयोजनका लागि हुने विभिन्न बैठकमा विनियोजित भत्तामा खर्च हुने उनले बताए। बाँकी रकम सामग्री प्रकाशन तथा ढुवानी लगायतमा हुनेछ। 'मतदाता शिक्षा कार्यक्रममा परिचालित हुने कार्यकर्ताले १५ हजार २ सय २५ रुपैयाँ पाउनेछ,' अर्यालले भने।

मतदाता कार्यकर्ताले १३ हजार रुपैयाँ तलब, ३ हजार रुपैयाँ भत्ता र २ सय २५ रुपैयाँ मतदाता शिक्षा सामग्री ढुवानी बापत रकम पाउनेछ। देशभर २१ हजार मतदाता कार्यकर्ता परिचालित हुनेछन्। तिनीहरुले एक महिनासम्म वडास्तरमा पुगेर मतदातालाई भोट हाल्न सिकाउँछन्।  मतदाता कार्यकर्ताको तलबमा मात्रै ३१ करोड ९७ लाख २५ हजार रुपैयाँ खर्च हुन्छ।

मतदाता शिक्षाका लागि प्रकाशन गर्नुपर्ने सामाग्रीबारे आयोगले खाका तयार गरिसकेको छ। बहुभाषिक समाज भएकाले निर्वाचन आयोगले १६ वटा भाषामा मतादाता शिक्षाका सामाग्री प्रकाशन गर्ने भएको छ। मतदाता शिक्षाका लागि हाते पुस्तिका, धेरैजसो सोधिने प्रश्नका सुची लगायत समावेश छन्।

मतदाता शिक्षा सामग्री प्रकाशनका लागि निर्वाचन आयोगले १६ वटा कम्पनी सूचीकृत गरेको छ। तिनले चैत १६ गतेबाट मतदाता शिक्षा कार्यक्रमका लागि आवश्यक पर्ने सामाग्री छाप्नेछन्। चैत २६ गतेभित्र सबै जिल्लामा मतदाता शिक्षा सामग्री पुर्‍याएर चैत २८ देखि वैशाख ३० गतेसम्म मतदाता शिक्षा सञ्चालन गर्ने निर्वाचन आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.