|

चितवन : चितवन जिल्लामा यो वर्ष ४ सय २६ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन्। जिल्लामा ७ हजार २ सय २८ जनाको खकार परीक्षणमा ४ सय २६ जनामा क्षयरोग देखिएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले जानकारी दिए।

शुक्रबार विश्व क्षयरोग दिवसको अवसरमा चितवनमा भएको पत्रकार अन्तरक्रियाका क्रममा यस्तो जानकारी दिइएको हो। चितवनमा सय जनामा भने पुनः क्षयरोग बल्झिएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

आर्थिक वर्ष ०७१/०७२ मा जिल्लामा १ हजार ४ जना क्षयरोगका बिरामी रहेकोमा ०७२÷०७३ को तथ्यंकअनुसार यो संख्या बढेर जिल्लामा कुल १ हजार २४ जना क्षयरोग फेला परेकोको कार्यालयले जनाएको छ।

कार्यालयका स्वास्थ्य सूचना फोकल व्यक्ति अनुप अधिकारीले बिरामीहरु अधिकांश १५ देखि २४ बर्षका फेला परेको जानकारी दिए। चितवनमा हाल ७५ वटा उपचार केन्द्र छन्, १८ स्थानबाट खकार जाँच गरिन्छ। जिल्लामा ११ स्थानमा सहरी उपचार केन्द्र सञ्चालनमा छन्।

चितवनमा क्षयरोग निको हुने दर भने ८९ प्रतिशत रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत नरहरि शर्माले जानकारी दिए। हाल नेपालमा ८० हजार नयाँ क्षयरोगी छन् बर्सेनि ४० देखि ४५ हजार नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक छ ।

यसमा करिब २० हजार सर्ने खालका बिरामी रहेको र करिब ५ देखि ७ हजार मानिसहरुको मृत्यु हुने गरेको तथ्यांक छ। विश्वमा क्षयरोगका कारण वार्षिक १४ लाख मानिस मर्ने गरेको तथ्यांक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.