|

काठमाडौं : राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा चैत्र १५ गते स्ववियु चुनाव हुने भएको छ। आरआर क्याम्पसले शनिबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेर १५ गते स्ववियु चुनाव हुने जानकारी गराएको छ।

विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनबिच विवाद भएपछि त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते तोकेको समयमा मतदान हुन नसकेपछि फागुन २३ गतेका लागि मतदान मिति सारिएको थियो। फागुन २३ गतेको चुनाव अन्तिम समयमा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आचारसंहिता लाग्ने भएकोले स्ववियु चुनाव स्थगित गर्न पत्राचार गरेको थियो।

आरआरको स्ववियु अन्तिम समयमा आएर मतदानमा बाधा गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो। सर्वोच्च अदालतले चैत्र २ गते निर्वाचन गर्नु गराउनु भनी क्याम्पसका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

यसअघि फागुन २३ गते हुने भनिएको आरआर क्याम्पसको स्ववियु चुनावमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु, माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र विभिन्न साना दल निकट विद्यार्थी संगठनको संयुक्त प्यानल घोषणा गरिएको छ। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले भने उम्मेदवारी मनोनयन गरेको छैन।

आरआरमा स्ववियु चुनावलाई लिएर विद्यार्थी संगठनबीच झडप, क्याम्पसमा आगलागी, तोडफोडदेखि लिएर निर्वाचन समितिका प्रमुखको अपहरण समेत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.