|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित राजनीतिक कार्यक्रमबाहेक कहिलेकाहीँ साहित्य, संगीत तथा अन्य विषयसँग सम्बन्धित कार्यक्रममा पनि सहभागी हुन्छन्।

शनिबर यस्तै एक कार्यक्रममा सहभागी हुन उनी राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पुगेका थिए। घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको प्राडा. भीष्मराज प्रसाईंको पुस्तक 'आफैंलाई फर्केर हेर्दा' को लोकार्पण गर्न।

पुस्तकको लोकार्पण गर्दै पूर्वप्रधानमन्त्री ओलीले ठट्यौंली पारामा डा. प्रसाईंको प्रशंसा गर्दै प्रकृतिले धेरै कुरा नेपालीलाई दिएको भन्दै सबै मिलेर विकास गर्न सके नेपालमा विकासको ठूलो सम्भावना रहेको समेत बताए।

सो अवसरमा उनले विदेशमा नरहेको सम्भावना नेपालमा रहेको भन्दै अमेरिकामा शिवजी खेलेको ठाउँ नभेटिने बताए। 'प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ। सिँचाइ गर्नका लागि भूमिगत र  नदीको पानी पनि छ, सुन्दर कुरा छन्, इतिहास छ हामीसँग, ओलीले प्रश्न गर्दै भने, अब अमेरिका गएर शिवजी खेल्या ठाउँ भेटिन्छ? कहीँ छ अमेरिकामा शिव जी खेल्या ठाउँ? यहाँ त अब शिवजी खेल्थे, यो यस्तो ठाउँ हो।'

उनले प्रतिवद्धताका साथ काम गरेमा केही समयमै नेपालको विकास सम्भव भएको समेत बताए। 'हामीसँग वातावरण, हावापानी हरेक हिसाबले यस्तो आनन्दको ठाउँ यति उर्वर ठाउँ छ। यसमा नचाहिने झै झगडा नचाहिने लफडा नगर्ने हो भने २/४ वर्ष ८/१० वर्षमा मजा-मजाका बाटा बनाऔं, उनले भने, बिजुली टक्क निकाल्न, प्रकृतिले खोलानाला दिएको छ, सयर गर्न मन लाग्यो ताल छ। र्‍याफ्टिङ गर्न मन लाग्यो भने नदी  छन्।'

डा. प्रसाईं नेपालमा धामी झाँक्रीबाट उपचार गर्ने बेलामा डाक्टर भएको भन्दै अहिले जस्तो ब्रेन ह्याम्ब्रेज हुने अवस्था नभएको बताए। भने,-'उहाँ जुन परिवेशमा जन्मनुभयो त्यस ठाउँमा हर्ट अट्याक हुँदैनथ्यो। कसैलाई कहिल्यै ब्रेन ह्याम्ब्रेज हुदैनथ्यो। कसैलाई कहिले सिकारी लाग्थ्यो। कहिल्यै कसैलाई हुँदैन कसैलाई लाग्दैन हर्ट हट्याक, सिकारी लाग्थ्यो। वनकोले वाण हान्थ्यो कहिलेकाहीँ। सिकारीले खुत्रुक्कै पार्थ्यो त्यो ठाउँबाट उहाँको यात्रा शुरु भयो। सिकारी लाग्ने ठाउँबाट ओपन हार्ट सर्जरीमा।'

ओपनहार्ट सर्जरी, ब्रेनको ट्युमर टाउको फुटाएर निकालेर फेरि सिलाउने ठाउँमा अहिलेको विकास आइपुगेको उनले बताए। ओलीले डा. प्रसाईंको यात्रा फर्केर हेर्दा अत्यन्त रोमाञ्‍चक भएको समेत बताए। 'धामीले ढ्याङ्ग्रो ठोकेर बिमारी निको पार्ने ठाउँबाट टिचिङ हस्पिटल खोलेर, डिन भएर आज यहाँ ल्याइपुर्‍उनुछु', उनले भने।

उनले आफूले जस्तो गाई भैंसी चराएको भए यात्रा अझ रोमाञ्चकारी हुनेसमेत बताए। 'डा. साबले मैले जस्तो गाई भैंसी चराउनुभयो कि भएन थाहा छैन। गाई भैंसी चराउनुभएको भए गाई भैंसी चराउनेदेखि लिएर दार्जिलिङको विद्यालय, कलेज, बेलायत, लन्डनको अध्यन, ढाका, बङ्गलादेशको अध्ययन रोमाञ्‍चकारी हुने थियो।' ओलीले भने,

बङ्गलादेश, लण्डनबाट चिकित्सकीय अध्ययन गरेका डा. प्रसाईं नेपालमा मेडिकल शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान दिने व्यक्ति हुन्। उनले डाक्टरी पेसको सुरुवाती अवस्थामा डोटी जिल्ला पुगेर लामो समय त्यहाँका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेका थिए।

प्रसाईंको पुस्तक 'आफैंलाई फर्केर हेर्दा' उनको अनुभवहरुको संग्रह हो। त्यस अवसरमा डा. भोला रिजाल, साहित्यकार सुधार त्रिपाठी, राजदूत सर्मिला पराजुली लगायतले पुस्तकको समीक्षा गरेका थिए। 

तस्बिरहरु : अनुज बज्राचार्य

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.