रसुवा : कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि रसुवामा निषेधाज्ञा लागु भएको छ। कोरोना संक्रमित दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले कोरोना संक्रमण नियन्त्रणमा सबै क्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको बताए। पहिलो चरणअन्तर्गत एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा अवधिमा अत्यावश्यक खाद्यान्न बिक्री वितरणका लागि बिहान ६ देखि ९ बजे समय निर्धारण गरिएको छ। औषधि पसल भने चैबिसै घण्टा खुला रहने व्यवस्था मिलाइएको छ।
वैशाख ५ गतेदेखि तीनजनामा पुष्टि भएको कोरोना हाल रसुवाका पाँचवटै क्षेत्रमा फैलिएका कारण संंक्रमितको संख्या १७६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। कोरोना रोग संक्रमण रोकथामका लागि रसुवाका पाँचवटै स्थानीय तहले जनजागरण कार्यलाई तीव्रता दिइरहेको र स्वास्थ्यकर्मी, सुरक्षा अङ्ग समेतका निकायसमेत परिचालन भइरहेकाले कुनै गाउँमा केही समस्या आएमा स्थानीय प्रहरी प्रशासन स्वास्थ्यकर्मीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।