सर्लाही जिल्लाका सुकुम्बासी बस्तीको कथा

|

सर्लाही: सर्लाहीस्थित हरिवन–१० ताइवानकी सुकुम्बासी नथु परियारको २१ असारपछि आँखाबाट आँशु नझरेको दिन छैन। असार २१ गते सयौँको संख्यामा आएका प्रहरी प्रशासन, वन कार्यालयका प्रतिनिधी लगायतले बल प्रयोग गरी आफ्नै आँखा अघि पाक्नै लागेको बालीनाली (मकै, धान) धमाधम नष्ट गरेपछि उनी मुकदर्शक बनिन्। 

२०५० सालमा आएको बाढीले बागमती छेवैमा रहेको घरबार बगाएपछि विस्थापित बनेकी उनी सागरनाथ वन विकास परियोजनामार्फत टाँगिया खेती (खेतीसँगै बिरुवा रोप्ने र खेती हुन छाडेपछि जग्गा फिर्ता गर्ने)का लागि उपलब्ध गराएको जग्गामा खेतीपाती र ताइवान सरकारले तत्कालीन बाढीपीडितका लागि निर्माण गरिदिएको घरमा बस्दै आएकी थिइन्। 

त्यतिबेला ताइवान सरकारले बाढीपीडितका लागि ५ सय घर निर्माण गरिदिएको थियो। बाढीपश्चात घरबारबिहिन बनेकी परियार फेरी विस्थापित हुने अवस्थामा पुगेकी छन्। उनका ३ छोरा र १ छोरी हाल स्थानीय सुकेपोखरी उमाविमा अध्ययनरत छन्। उक्त जग्गामा बालीनाली गरी जिविकोपार्जनसहित बालबच्चालाई पढाउन खर्च समेत जुटाउँदै आएकी परियारकी बालीनाली नष्ट गरेसँगै आम्दानीको स्रोत गुमेको छ। ‘वर्षौदेखि खेतीपाती गर्दै आएको जग्गा सरकारले कब्जामा लिने भयो, हिजो हामीलाई व्यवस्थापन गर्ने वचन दिएर यहाँ ल्याएर राख्यो, अब हाम्रो आम्दानीको स्रोत केही छैन, सरकारले व्यवस्थापन गरेर दमन गरेको भए पनि केही हुँदैनथ्यो।', उनले भनिन्।

घरभित्र भित्र्याउने बेला हुनै लाग्दा बालीनाला नष्ट पारेकोमा उनी आक्रोशित छिन्। ‘सिंहदरबारभित्रका शासकहरुले हाम्रो पसिना चुस्यो, तिनीहरुलाई सयौँ सुकुम्बासीको आँशुले सराप्नेछ।’ गहभरी आँशु पार्दै उनले भनिन्।

त्यसैगरी, बागमती बाढीकै कारण विस्थापित भई जिविकोपार्जनका निम्ती खेतीपाती गर्दै आएका ज्ञानबहादुर लामाले पनि सिंहदरबारका शासकहरुले योजनासहित सुकुम्बासीमाथी दमन गरेको आरोप लगाएका छन्। ‘सिंहदरबारभित्र बसेर जनताको दु:ख कसरी देख्नु ?’, प्रश्न गर्दै उनले भने, ‘सिंहदरबारभित्रका ठूला मान्छेहरुको आदेशमा हाम्रो पसिनामाथी शोषण गरेको भन्ने सुनेको छु, तिनीहरुलाई हजारौँ सुकुम्बासीको आँशुले सराप्नेछ।’

परियार र लामा त प्रतिनिधी पात्र मात्रै हुन्। २०५० सालपछि जिविकोपार्जनका निम्ती खेतीपाती परियोजनाले उपलब्ध गराएको जग्गामा खेतीपाती गर्दै आएका झण्डै ५ हजार बागमती बाढीपीडित र १० वर्षे द्धन्द्धपीडितहरुको आँखाबाट फेरि आँशुको खोलो बगेको छ। बालीनाली भित्र्याइसकेपछि सल्लाहमा वृक्षारोपण गरेको भए आफूहरु बाधक नबन्ने बताएका उनीहरुले पाक्नै लागेको बाली नष्ट गरी गरीब किसानको पसिना चुसी भोकमरी निम्त्याउन खोजेको बताउँछन्, स्थानीय नारायण खपाङ्गी। वार्तामार्फत वास्तविक सुकुम्बासीको समस्या समाधान गर्नुपर्ने भन्दै उनले मुखमा आएको बाली नष्ट गरी प्रहरीले सुकुम्बासीको मुटुमा लात हान्ने काम गरेको बताए।

२७ सय ७५ हेक्टरमा स्थानीय सुकुम्बासीले लगाएको बालीनाली २१ असारपछि ट्याक्टर, डोजर, प्रहरी प्रशासनले नष्ट गरेपछि सर्लाहीस्थित सुकम्बासी गाउँ अहिले तनावग्रस्त अवस्थामा छ। सागरनाथ परियोजनाले हाल सुरक्षाकर्मीसहित वृक्षारोपणको कार्य थालेको छ। केही दिनमै घरमा भित्र्याउने तयारीमा रहेको सुकुम्बासीको बाली नष्ट गरेपछि उनीहरू परियोजनाले रोपेको बिरुवा उखेल्ने र फेरी दोहोरो झडपमा उत्रिने तयारीमा छन्। 

के-के भयो २१ असारमा?
सरकारको निर्देशनमा स्थानीय प्रहरी प्रशासन, वन कार्यालयका प्रतिनिधी र परियोजनाका कर्मचारीले बालीनाली नष्ट गरी वृक्षारोपण गर्ने गोप्य योजना बनाएको खबर २ साता अघि नै सुकुम्बासीले थाहा पाएका थिए। परियोजनाका एक कर्मचारीबाट गोप्य रुपमा बालीनाली नष्ट गर्ने खबर पाएपछि उनीहरुले सरकार तथा स्थानीय प्रहरी र परियोजनालाई दबाव दिने उदेश्यले ठाउँ–ठाउँमा जनचेतनामुलक कार्यक्रम र कोणसभा गरे।

प्रहरी प्रशासनले पाक्नै लागेको बालीनाली नष्ट गर्छ भन्ने उनीहरुले सोचेकै थिएनन्। ६ असारमा बालीनाली नष्ट गर्न लागि परेका निकायलाई दबाब दिने सदरमुकाम मलंगवामा बृहत दबावमुलक ठूलो कार्यक्रमको आयोजना समेत गरेको थियो। त्यसपछि लगातार दबावमुलक कार्यक्रम गर्दै आएका सुकुम्बासीले २१ असार बिहान ११ बजे परियोजनाको कार्यालयमा लाठी जुलुस निकाल्ने तयारी गर्दै थियो। स्थानीय प्रशासनसहितका टोली एकाबिहानै बालीनाली नष्ट गर्न आउने खबरपछि उनीहरु ७ बजे नै जुलुस निकाल्ने तयारीमा जुटे। प्रहरी प्रशासनसहितका टोली पनि बिहानैदेखि तयारीमा जुटेकाले बिहान ११ बजेसम्म त्यहाँ हेराहेरको स्थिती बन्यो। तर, ११ बजेपछि झण्डै १ सय जनाको प्रहरी टोली अघि बढ्यो। सुकुम्बासीमाथी बल प्रयोग गरी बालीनाली नष्ट गर्ने र खेत जोतेर बिरुवा रोप्ने मनस्थितीले उनीहरु आएपछि उनीहरुबीच झण्डै १५ मिनेट झडप भयो।

तीन पटकसम्म झडप हुँदा सुकुम्बासीले प्रहरीमाथी जित हासिल गर्यो। तर, चौथो पटक उनीहरु दुई ठाउँबाट सुकुम्बासी बस्तीमा प्रवेश गर्दै सुकुम्बासीमाथी दमन गरेको स्थानीय ठेटराज न्यौपानेले बताए। ‘उनीहरु बन्दुकसहित भित्र छिरर अश्रुग्यास प्रयोग गरी गोली हानेपछि हाम्रो साथीहरु घाइते हुनुभयो, जब हामी घाइते भयौँ त्यसपछि धमाधम बाली फडानी गर्नुका साथै ट्याक्टर ल्याएर जग्गा जोते’ स्थानीय न्यौपानेले थाहाखबरसँग भने। 

झण्डै दुई घण्टासम्म भएको झडपका क्रममा प्रहरी प्रशासनका तीन दर्जनभन्दा बढी र एक दर्जन सुकुम्बासी घाइते भए। त्यसपछि उनीहरुले हाल तारबार लगाई खेत जोतेर बिरुवा रोप्ने काम अघि बढाइरहेको न्यौपानले जानकारी दिए। 

कसरी सुरु भयो विवाद?
सरकार र परियोजनाले उपलब्ध गराएको जग्गामा टाँगिया खेती गर्दै आएका थिए। पूर्व सहमति अनुरुप नै बिरुवा रोप्नुका साथै खेतीपाती गर्दै आएका सुकुम्बासी र परियोजनाबीच २०५६ सालमा पहिलोपटक एकाएक विवाद उत्पन्न भयो। 

टाँगिया खेती गर्दै आएका सुकुम्बासीमध्ये परियोजनाका कर्मचारीले २०५६ सालपछि कसैको जग्गामा बिरुवा रोप्ने र कसैकोमा नरोप्ने गरेपछि विवाद उत्पन्न भएको थियो। ‘बिरुवा रोप्ने बेलामा परियोजनाका कर्मचारीले मनपरीका साथै विभेद गरी विवादको बिउ रोप्ने काम गर्‍यो। त्यसपछि कसैकोमा नरोप्ने र कसैकोमा रोप्ने गरेपछि असन्तुष्ट समुहले परियोजनाले रोपेको बिरुवा उखेलेर फाल्ने काम गरे, त्यसपछि विवाद सुरु भयो’, घटनाका प्रत्यक्षदर्शी नारायण खपाङ्गीले भने। 

त्यसपछि परियोजना र सुकुम्बासीबीचको दुरी बढ्दै गएको थियो। परियोजना र सरकारले बारम्बार त्यहाँका सुकुम्बासीलाई विस्थापित गराउने र पूर्वशर्त अनुसार कार्य अघि बढाउने प्रयास गरेका थिए। तर, सम्भव नभएपछि २०६६ सालमा परियोजना र प्रहरीको मिलेमतोमा सुकुम्बासीले लगाएको बालीनाली नष्ट गर्ने प्रयास गरिएको थियो। 

२०६६ साल फागुन २४ गते सुकुम्बासीहरूले बन्द आव्हान गरेकै समयमा यहाँस्थित राजघाटमा बसोबास गर्दै आएका सुकुम्बासीले खेतीपाती गर्दै आएको बालीनाली प्रहरी र परियोजनाका कर्मचारीले नष्ट गरेको थियो। बन्दकै क्रममा एकाएक ६६ वटा ट्याक्टर, २ वटा डोजर र झण्डै ५ सय जना सुरक्षाकर्मी आएर ताइवानका सुकुम्बासीको बालीनाली नष्ट गर्ने प्रयास गरिँदा झण्डै १० हजारको संख्यामा रहेका स्थानीयले उनीहरुलाई घेरामा हालेपछि दोहोरो झडप भएको थियो। झडपमा प्रहरीका तीन दर्जन र स्थानीय १३ जना घाइते भएका थिए।

सिन्धुलीमा भएको त्यो ५ बुँदे सहमति
झडपपछि दुई पक्षबीच दुरी बढ्यो। दोहोरो झडपका कारण स्थानीयबाट आक्रमण हुने सक्ने डरले परियोजनाका कर्मचारीले सर्लाहीमा वार्ता गर्न मानेनन्।

त्यसपछि उनीहरुबीच २०६६ चैत २७ र २८ गते सिन्धुली जिल्लाको माडीस्थित शिखर होटलमा वार्ता भयो। अन्ततः वार्ताबाट ५ बुँदे सहमतिपत्र तयार भयो। पाँच बुँदामा वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापन गर्ने, टाँगिया बस्ती निर्माण गर्ने, परियोजनामा आश्रित विपन्नहरुको जिविकोपार्जन गर्ने, जनसहभागिता र लाभांश बाँडफाँड गर्ने, तत्कालीन झडपका घाइते र बालीनालीको उचित क्षतिपूर्ति दिने उल्लेख थियो। 

५ बुँदे सहमतिसँगै कार्यान्वयनका निम्ती कार्ययोजना समेत तयार भएको थियो। तर, सो सहमति कार्यान्वयनमा लागि परेका सागरनाथ वन विकास परियोजनाका प्रमुख जीवनकुमार ठाकुरलाई तत्कालीन वनमन्त्री दीपक बोहराले मन्त्रालयमा ठाडो हाजिरमा तानिदिएपछि सहमति कार्यान्वनयका सबै प्रक्रिया रद्द भयो।

त्यसपछि कार्यान्वयनको प्रक्रिया ठप्प हुनुका साथै सहमति कार्यान्वयनका निम्ती वार्ता समेत भएन। गत २१ असारमा फेरि प्रहरी प्रशासन, परियोजनाका कर्मचारी लगायतले करोडौँ मूल्य बराबरको कृषकको बालीनाली नष्ट गर्ने काम गरे। त्यसपछि हालसम्म कुनै छलफल भएको छैन। 

सहमति कार्यान्वयनका निम्ति वास्तविक सुकुम्बासीको तथ्यांक संकलन गर्दा २०६७ सालमा १८ सय वास्तविक सुकुम्बासी भएको प्रमाणित भएको थियो। हाल सो संख्या बढेर ५ हजार पुगेको छ। कुल जनसंख्यामध्ये ३० प्रतिशतमात्रै वास्तविक सुकुम्बासी रहेको स्थानीय बताउँछन्। 

सागरनाथ वन विकास परियोजना कस्तो संस्था हो?
२०३४ सालमा स्थापना भएको सागरनाथ वन विकास परियोजनाको मुख्य कार्य वन व्यवस्थापनका लागि वृक्षारोपण गर्नु हो। सागरनाथ सर्लाहीस्थित एक ठाउँको नाम हो।

वनको उचित व्यवस्थापनका लागि तत्कालीन पञ्चायत सरकारले स्थापनामा ल्याएको उक्त संस्थामा एक जना उपसचिव सरहको कर्मचारी संस्थाको प्रमुख रहने व्यवस्था छ। अन्य कर्मचारीहरु करारमा नियुक्ती गर्ने प्रावधान छ। 

स्थापनाकालदेखि ०४० सालसम्म उनीहरुले झापा, बाँके, महोत्तरी, रौतहट सर्लाही लगायतका जिल्लामा वन फडानी गरी वृक्षारोपणका साथै खेतीपाती गर्न भन्दै सरकारसँग जग्गा लिजमा लियो। देशभरीमा झण्डै २७ सय हेक्टर जग्गामा लिजमा लिएका सागरनाथले सबैतिर सुकुम्बासीलाई खेतीपाती गर्न दिएको थियो।

टाँगिया खेतीका लागि दिइएको जग्गामा परियोजनाका कर्मचारी र सुकुम्बासी दुवैतर्फबाट पूर्व शर्त उल्लंघन गरेपछि परिस्थिती जटिल बन्दै गएको हो। 

अब के हुन्छ ?
२१ असारमा सुकुम्बासीमाथी सरकारले दमन गरेको भन्दै सुकुम्बासीलाई उचित क्षतिपूर्तिसहित व्यवस्थापन गर्नुपर्ने मागसहित विप्लव नेतृत्वको नेकपा माओवादीले आन्दोलनको नेतृत्व गरेको छ। 

आन्दोलनका कार्यक्रममध्ये उनीहरुले १० असारमा नेपाल बन्दको आयोजना गरेका छन्। आन्दोलनका तालिकाअनुसार सोमबार हरविनमा आयोजित अन्तर्क्रियामा बोल्दै नेकपा माओवादीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीका सुकुम्बासीको हक र हितका निम्ति लडिरहने बताउँदै आन्दोलनको नेतृत्व गर्न आफूहरु तयार रहेको बताए। 

‘हिजो उचित व्यवस्थापन गर्ने आश्वसन दिएर खेतीपाती गर्न लगाएका सुकुम्बासीमाथी सरकारले गरेको दमन निन्दनीय काम हो, सुकुम्बासीको माग सम्बोधन नभएसम्म हामी निरन्तर तपाईहरुको निम्ति लड्न तयार छौँ’, उनले भने। 

सुकुम्बासीले तत्कालीन सिन्धुली वार्ताका क्रममा भएको ५ बुँदे सहमति कार्यान्वयन गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बालीनाली नष्ट गरी वृक्षारोपण गरेको भन्दै आक्रोशित जनताले विरुवा उखेल्दै पुनः झडपमा उत्रिने तयारी थालेका छन्। 

‘२०६६ सालमा सिन्धुलीमा भएको ५ बुँदे सहमति कार्यान्वयन गर्नुको विकल्प छैन, सो सहमति कार्यान्वयन गरे मात्रै समस्या समाधान हुन्छ नभए आन्दोलन निरन्तर जारी नै रहन्छ’ सुकुम्बासी राजगिर रायले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.