|

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्ने कार्यविधि र मापदण्ड बनाएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणापत्र तयारीको कामलाई पनि अघि बढाएको छ।

धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको पार्टी स्थायी समिति बैठकले अब चुनावी घोषणापत्र तयारीको कामलाई पनि अघि बढाउने औपचारिक निर्णय गरेको हो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतावद्ध भएर निर्वाचनमा जुट्नुपर्ने आवश्यकतामा जोड दिएक थिए। 
स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारीको कामलाई अघि बढाउने निर्णय लिइएको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पुष्टि गरे। उनले निर्वाचनमा विजय हासिल गर्ने गरी पार्टीलाई परिचालन गर्ने पनि उल्लेख गरे।

एमालेले तराई–मधेशमा चुनावकेन्द्रित अभियान संचालन गर्न चैत १६ र १७ गते महोत्तरीको बर्दिबासमा दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेला पनि बोलाएको छ। निर्वाचनका लागि आवश्यक तयारी गर्न प्रदेश नम्बर दुईमै भेला राख्ने निर्णय गरिएको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए। 

यसअघि बसेको एमाले स्थायी समिति बैठकले चैत महिनाभर प्रदेश नम्बर दुईमा सांगठनिक गतिविधिको कामलाई अघि बढाउने र बैशाख लागेपछि निर्वाचनकेन्द्रित अभियान संचालन गर्ने निर्णय गरेको थियो। भेलालाई पार्टी अध्यक्ष ओलीसहितका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि एमालेले जनाएको छ।

एमालेले स्थानीय कमिटीको सिफारिसमै स्थानीय तहको उम्मेदवारी तय गर्ने कार्यविधि बनाएको छ। लोकप्रियता, पार्टीप्रति प्रतिवद्ध, इमान्दार र आर्थिक अनुशासनमा दृढ रहेकाहरूलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने पनि एमालेले स्पष्ट पारेको छ।

यो पनि पढ्नुहोस्- स्थानीय चुनावमा एमालेले हरेक पदमा ३ जनाको सूची बनाएर उम्मेदवार छान्ने

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.