|

मकवानपुर : हेटौंडा र उद्योग संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने भएको छ।

अक्सिजन अभावमा अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको उपचारमा समस्या हुन थालेपछि संघले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न लागेको हो। मकवानपुरमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नहुँदा अन्य जिल्लाको भरमा बस्नु परेको भन्दै संघले अस्पतालमा नै प्लान्ट स्थापना गर्न लागेको संघका अध्यक्ष लेखराज पोखरेलले बताए।

पोखरेलले एक महिनाभित्र अस्पतालमा प्लान्ट स्थापना गरिसक्ने  उद्देश्यसहित मंगलबार अस्पतालसँग सम्झौता भएको जानकारी दिए। उनले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको रोहवरमा दैनिक एक सय १० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको प्लान्ट स्थापना गर्नेगरी सम्झौता भएको बताए।

एक करोड २८ लाख लागतमा स्थापना गर्न लागिएको प्लान्टको लागि आवश्यक रकम संकलन कार्य भइरहेको उनको भनाइ छ। उद्योग प्रतिष्ठानको सहयोगमा प्लान्ट स्थापना गर्न लागेको पोखरेलले बताए। देशैभरि कोरोना महामारी चलिरहँदा यसको न्यूनीकरण र सङ्क्रमितको उपचारमा निजी क्षेत्रको पनि भूमिका हुने भएकाले संघले यस्तो पहल गरेको उनले बताए।

हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईंले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना हुँदा अस्पताललाई धेरै सहज हुने बताए। उनले अस्पतालले प्लान्ट जडान गर्न अस्पतालको कोठा र अन्य प्राविधिक सहयोग गर्नेगरी आज सम्झौता भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.