|

काठमाडौं : १० कक्षा पढ्दासम्म उनको लक्ष्य डाक्टर वा बैंकर बन्ने थियो। एसएलसी दिएर काठमाडौं आएपछि उनको त्यो लक्ष्य फेरियो। उनी पद्मकन्या क्याम्पसमा नृत्यकला पढ्न थालिन्। उनी राम्रो डान्स गर्थिन्। त्यसैले साथीहरुले उनलाई हिरोइन बन्न सल्लाह दिन्थे। 

अन्तत साथीहरुको सुझाव र आफ्नो कला अनुसार अभिनेत्री झरना थापा फिल्म क्षेत्रमा नै आइपुगिन्। एक समय नेपाली फिल्म क्षेत्रमा चर्चित पनि रहिन्। उनले अभिनय गरेका 'गोर्खाली', 'ए मेरो हजुर', 'खलनायक', 'तकदीर', 'म तिमी विना मरिहाल्छु', 'सुख-दु:ख', 'हामी तीन भाइ' आदिले उनलाई सफलताको शिखरमा पुर्‍यायो।  

दाङकी झरना स्कुल पढ्दा राम्रो विद्यार्थीमा गनिन्थिन्। कलेजमा पनि उनको पढाइ राम्रो थियो। एसएलसी दिएर काठमाडौं आएको दुई वर्षपछि २०५२ सालमा उनलाई फिल्म खेल्ने 'अफर' आयो। सबैले हिरोइन बन् भनेर प्रेरणा दिइरहेको बेला फिल्मको प्रस्ताव आएपछि उनले पनि स्वीकार गरिन्। 'दाइजो' फिल्ममा काम गरिसकेपछि उनलाई धेरै फिल्मका अफरहरू आउन थाले।

निर्मातासँग अन्तर्जातीय विहे

फिल्मका लागि अफर लिएर धेरै निर्माता/निर्देशक उनको घरमा धाउन थाले। त्यही धाउने क्रममा उनीसँग निर्माता सुनिलकुमार थापाको भेट भयो। पहिलो भेटमा नै एकअर्कामा आकर्षित हुनपुगे उनीहरू। 'हाम्रो भेट बैशाखमा भएको थियो। त्यही बेला नै एकअर्कामा मोहित भयौँ' उनले भनिन्। भेटेको केही महिना नबित्दै उनीहरूले घर-सल्लाह नगरी आफूखुशी विवाह गरे। 'हाम्रो अन्तरजातीय विवाह हो। मेरो परिवारबाट त्यो स्वीकार्य भएन अनि हामी भागेर विवाह गर्‍यौं।' दाङको राजभण्डारी परिवारमा जन्मिएकी झरना विवाह गर्दा जम्मा १८ वर्षकी थिइन्। 

झरनालाई विवाह गरेको तीन महिनासम्म माइती जाने आँट आएन। 'तीन महिना पूरा भयो, त्यस बेला मामु र बाबा केही दिनको लागि बाहिर जाने कुरा थियो। त्यहीबेला बहिनीलाई भेट्न जाँदा त घरमा सबैजना रहेछन्', झरना भन्छिन्, 'त्यो देखेर हामी झस्कियौँ।'

झरना र सुनीललाई देखेर ढोका खोल्न आइपुगेकी उनकी आमा पनि झस्किइन्! 'जे भए पनि म उहाँहरूकै छोरी हुँ, उहाँहरूलाई पनि म त्यहाँ गएपछि माया लाग्यो होला। हामीलाई टीका लगाएर भित्र लैजानुभयो', झरनाले विगत सम्झिइन्।

विवाह भएको अर्को वर्ष झरनाले छोरी जन्माइन्। धेरै हिरोइनहरु विहे गरेपछि फिल्म क्षेत्रबाट पलायन भए पनि झरना अपवाद रहिन्। विहे गरेपछि र सन्तान जन्माएपछि उनी फिल्म क्षेत्रमा जमिन्। अहिले उनकी छोरी पनि १८ वर्षकी भैसकेकी छन्। झरना भन्छिन् 'म फिल्म क्षेत्रमा सफल भएको नै छोरी जन्मिएपछि हो। छोरी जन्मिएपछि मैले धेरै सफल फिल्महरुमा काम गर्ने अवसर पाएको छु।'

झरना आफूलाई फिल्म क्षेत्रमा स्थापित गर्ने श्रेय आफ्नै पति सुनिललाई दिन्छिन्। भन्छिन्, 'मलाई उहाँले सहयोग र प्रेरणा नदिनु भएको भए म यो ठाउँमा हुन्न थिएँ।' विवाहपछि उनले आफ्नै 'होम प्रोडक्सन'बाट निर्माण भएको फिल्म 'धर्मसंकट'मा काम गरिन्। 'धर्मसंकट'मा उनले गरेको भूमिका अलि छोटो थियो। त्यसपश्चात उनले धेरै सफल फिल्महरूमा काम गरिसकेकी छन्। झरना भन्छिन्, 'मैले लगभग १०५ वटा फिल्ममा काम गरेँ।'

कुनै समय झरनाले नेपाली फिल्म क्षेत्रमा एक छत्र राज गरेकी थिइन्। त्यस बेला जति पनि नेपाली फिल्म बन्थे, ती फिल्ममा प्राय: हिरोइन झरना नै हुन्थिन्। झरना भन्छिन्, 'जति पनि राम्रा फिल्महरू बन्थे, त्यसमा मलाई नै मौका मिल्थ्यो।'

अब निर्देशक

अहिले उनको परिचयमा केही परिवर्तन भएको छ। उनी अब नायिकामा सीमित नरहेर निर्देशक पनि बनेकी छन्। उनले आफ्नै होम प्रोडक्सनबाट निर्माण भएको फिल्म 'ए मेरो हजुर- २' मा निर्देशनको जिम्मा लिएकी छन्। तर निर्देशक बन्न एकदमै गाह्रो हुने उनको अनुभव छ। भन्छिन्, 'निर्देशकको काम हेर्दा जति सजिलो छ, काम गर्दा त्यति नै गाह्रो रहेछ।' 

फिल्ममा काम गर्दागर्दै केही वर्षयता एकाएक हराएकी थिइन् झरना। तर अब भने नायिका वा निर्देशक जुन रूपमा भए पनि दर्शकमाझ नै रहने उनी बताउँछिन्। भन्छिन् 'फिल्ममा अभिनय गरेर होस् या निर्देशक जुन रुपमा भए पनि म दर्शकमाझ नै रहन्छु।' जस्तो सुकै अवस्था भए पनि आफु फिल्म क्षेत्रबाट टाढा रहन नसक्ने झरनाले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.