|

काठमाडौं : प्रतिबन्धित भारतीय नोट साट्ने विषयमा नेपाल र भारतका अधिकारीबीच आइतबार र सोमबार काठमाडौंमा भएको वार्तापछि पनि नोट साटिने वा नसाटिने अन्योल अन्त्य हुन सकेन।

गत कात्तिकदेखि भारतले भारु १ हजार र ५ सयको नोट बन्देज लगाएपछि नेपालमा रहेका नोट साट्ने विषयमा नेपाल राष्ट्र बैंकले भारतीय रिजर्व बैंकका अधिकारीहरुसँग तीन पटक छलफल गरिसकेको छ। प्रतिवन्धित नोटका विषयमा अन्तिम छलफल गर्न आएको भारतीय अधिकारीले आइतबार र सोमबार विहान नेपाली टोलीसंग छलफल गरेर कुनै निश्‍कर्षमा नपुगेपछि भारत फर्किए। 

प्रतिबन्ध लगाएको ५ महिना वित्दा समेत नेपालीसंग भएको त्यस्तो पैसा प्रयोगमा आउन त सकेको छैन भने अब के गर्ने भन्ने अन्योलता समेत हटेको छैन। 'छलफलका लागि आएका भारतीय अधिकारी र राष्ट्र बैंकका अधिकारीबीचको छलफलबाट कुनै निश्‍कर्ष ननिस्केपछि उहाँहरु फर्कनुभएको छ' नेपाल राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पण्डितले भने 'उहाँहरुले अधिकतम ४५ सय भारु मात्रै साट्ने कुरा गर्नु भयो त्यसमा नेपाल राष्ट्र बैंकको सहमति रहेन।' 

भारतले नोट प्रतिबन्ध लगाएपछि त्यस्ता नोट साट्न आफ्ना नागरिकलाई निश्चित समय दिएको थियो। तर नेपालीसंग भएको नोट साट्ने विषयमा कुनै व्यवस्था गरेको छैन। ती नोट साट्ने विषयमा नेपालमा दुई पटक र भारतमा एक पटक दुई देशका अधिकारीहरुबीच छलफल भइसकेको छ। पछिल्लो पटक भारु नोटको विषयमा छलफल गर्न नेपाल आएको भारतीय टोली मुद्रा सटहीका विषयमा थप कडाइका साथ प्रस्तुत भएको राष्ट्र बैंकका अधिकारीहरुले बताए। 

के हो भारतको प्रस्ताव?

  • प्रति व्यक्ति ४५ सय भारु साटिदिने
  • नेपालीसंग भएको त्यस्तो पैसा संकलनको लागि १ हप्ताको समयमात्र दिने। 
  • भारु साट्ने व्यक्तिले भारुको स्रोत खुलाउनुपर्ने।
  • साट्न लिएको पैसा सक्कली वा नक्कली भन्ने परीक्षण पछि मात्रै रकम साटिदिने।
  • बैकिङ प्रणालीमा भएको रकम साटिने।

के हो नेपालको प्रस्ताव?

  • एउटा नेपालीलाई २५ हजार सम्म भारु राख्ने अधिकार दिइएको हुनाले प्रतिव्यक्ति २५ हजार भारु साटिदिनु पर्ने।
  • नेपालीसंग भएको त्यस्तो पैसा संकलनको लागि कम्तीमा ३ हप्ताको समय दिनुपर्ने। 
  • साटिने पैसाको आय र सक्कली प्रमाणित भएपछि मात्रै साट्ने भारतीय प्रस्ताव स्वीकार। 

कति छ नेपालीसंग यस्तो पैसा?

दुई महिनाअघि नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंकसंगको छलफलको क्रममा नेपालो बैंकिङ प्रणालीमा ३ करोड ६० लाख भारु भएको प्रतिक्रिया दिएको थियो। तर, दुई महिनाको अवधिमा बैंकिङ प्रणालीमा ४ करोड २३ लाख भारु थपिएको छ। नेपाल राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पण्डितका अनुसार अहिले नेपालको बैंकिङ प्रणालीमा मात्रै ७ करोड ८३ लाख भारु छ। 

सर्वसाधारण र व्यापारीसंग यस्तो पैसा कति छ भन्ने विषयमा राष्ट्र बैंक समेत अनभिज्ञ छ। नेपाल उद्योग वाणिज्य महासंघले अर्थ मन्त्रालयलाई गराएको जानकारी अनुसार बैंकिङ च्यानल बाहिर १५ अर्ब रुपैयाँ बराबरको ५ सय र हजारको नोट नेपालमा छ।

अब के हुन्छ?

भारतीय पक्षले ४५ सय भन्दा बढी रकम नसाटिदिने भनी लिएको अडानको विषयमा नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग छलफल गर्नेछ। छलफलपछि राष्ट्र बैंक मार्फत नेपाल सरकारको आधिकारिक धारणा भारतीय रिजर्भ बैंकमा पठाउने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए।

यदि ४५ सय मात्रै भएपनि साटिदिन नेपाल सरकार सहमत भएको खण्डमा भारतीय पक्षको प्रस्ताव अनुसार १ हप्तामा त्यस्तो रकम संकलन गरी साट्न पठाउनुपर्ने हुन्छ। त्यो रकम सक्कली भएको प्रमाणित भएपछि मात्रै नेपाली नागरिकले त्यो पैसा बरारबको रकम फिर्ता पाउने छन्।

तर नेपाल सरकारले भारतसंगको सहकार्यमा प्रतिव्यक्ति २५ हजार भारु नै साट्नुपर्ने वा ४५ सय भन्दा बढी रकम साट्नुपर्ने निर्णय गरेमा राष्ट्र बैंकले त्यो निर्णय भारतीय रिजर्भ बैंकलाई पठाउने छ। रिजर्भ बैंकले त्यो निर्णयका विषयमा छलफल गर्नेछ र हुन्छ वा हुन्नको जवाफ नेपाललाई पठाउनेछ। सह प्रवक्ता पण्डितका अनुसार बन्देज लगाइएको भारु सटहीका विषयमा अब पुन: दुई पक्षबीचको वार्ता भने हुने छैन।

भारत सरकारले ४५ सय भन्दा बढी रकम नसाटिदिएमा नेपालीसंग भएको पैसा के हुन्छ त? नेपाल राष्ट्र बैंक अनुसार भारत सरकारले साटिदिने भन्दा बढी रकम नेपालले साटिदिने अवस्था हुने छैन।

अधिवक्ता तथा नेपाली विनिमयको विषयमा बहस गर्ने अधिवक्ता गान्धी पण्डित भने २५ हजार भारु बराबरको पैसा साटिदिन नेपाल सरकार बाध्य हुने बताउँछन्। 'भारत सरकारले साट्छ वा साट्दैन भन्‍ने आधार सर्वसाधरणले बुझ्ने कुरा हुँदैन, तर सरकारले नागरिकसँग भएको वैधानिक त्यस्तो पैसा साट्नै पर्छ' पण्डितले थाहाखबरसंग भने 'सरकारको अनुमतिबाट नै नागरिकले त्यस्तो पैसा चलाएको हो। कि सरकारले पैसा अवैधानिक भएको कारण देखाउन सक्नु पर्‍यो, हैन भने कुनै पनि बाहनामा पैसा साट्दिन भन्‍न मिल्दैन।'

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.