|

काठमाडौं : बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन्। २४९२ रेटेड रकिब सोमबार काठमाडौंमा सम्पन्न एसियन जोनल ३.२ चेस च्याम्पियनसिपको अन्तिम चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई पराजित गर्दै च्याम्पियन बनेका हुन्। उपाधिसँगै उनले सेप्टेम्बरमा जर्जियामा हुने वल्र्ड कप चेस च्याम्पियनसिपका लागि समेत छनौट भए।

९ खेलबाट ८ अंक बनाएका रकिबले १५ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी डिफेन्डिङ च्याम्पियन समिमा अख्तरलाई हेड टु हेडमा पछि पार्दै रानी हमिद एसियन जोनल ३.२ चेस च्याम्पिनसिपको महिला तर्फ च्याम्पियन बनिन्।

च्याम्पियनसिपको अन्तिम खेलमा नेपालकी मतिना कुसीलाई हराउँदै ८ अंक बनाएकी ७३ वर्षीय वुमन इन्टरनेशनल मास्टर रानीले १ हजार अमेरिकी डलर नगद हात पारिन्। टाईब्रेकरमा पछि परेकी वुमन इन्टरनेशनल मास्टर समिमाले नेपालकी सबिना श्रेष्ठलाई हराउँदै ५ सय अमेरिकी डलर प्राप्त गरिन्।

च्याम्पियनसीपबाट नेपालका हिमाल लामा, नविन तण्डुकार, भगवतीप्रसाद शर्मा, मिलन लामा र राजेन्द्रकुमार पराजुलीले क्यान्डिडेटमास्टरको उपाधि प्राप्त गरे।  नेपाल बुद्धिचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा काठमाडौंको होटल एल्लो पगोडामा भएको च्याम्पियनसिपमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्सका ४२ जना खेलाडीको सहभागिता थियो।

कुल ६ हजार ५ सय नगद पुरस्कार राशी रहेको च्याम्पियनसिपका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्ट, एसियाली चेस महासंघका डेपुटी प्रेसिडेन्ट भरत सिंह चौहान, एसियन जोनल ३.२ का अध्यक्ष राजेशहरी जोशी लगायतले पुरस्कार वितरण गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.