तोकिएकै समयमा निर्वाचन नभए मुलुक संकटमा

|

ललितपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि २५ वर्ष डटेर लाग्ने र मुलुकको मुहारै परिवर्तन गरिदिने बताएका छन्। सोमबार राजनीतिक तथा विभिन्न पेशामा रहेका वुद्धिजिवीहरुसँगको छलफलमा उनले आर्थिक समृद्धिका लागि २५ वर्षको समय दिएर विकासका दिशामा अगाडि बढ्नुपर्ने बताए। 

'हामी आगामी २५ वर्षमा मुलुक समृद्ध बनाउन सक्छौ। २०७४ सालदेखि २०९९ सालसम्मको समय हामीसँग छ' ओलीले छलफलमा भने, 'गरिबी निवारण मात्रै होइन अचम्म तरिकाले हामीले समृद्ध देश बनाउन सक्छौं। विकासलाई कसरी अगाडि बढाउने भन्‍ने हामीसँग केही योजना छन्।'

आर्थिक विकासका लागि मात्र १० वर्ष काफी हुने भएपनि नेपालमा अन्य कामहरु पनि सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले २५ वर्षको समय दिएर नै मुलुक समृद्धिको दिशामा अगाडी बढ्नुपर्ने बताए। उनले भने 'आर्थिक विकासका लागि मात्र १० काफी हुन्थ्यो तर त्यससँग सम्बन्धित पूर्वाधार लगायतका अन्य कुराहरु पनि हामीले गर्नुपर्ने भएकाले २५ वर्षको समय लाग्छ।'

केही समय अगाडि ह्याप्पीनेश कन्ट्रीको नाममा नर्वे घोषित भएको भन्दै हरेक परिस्थितिलाई पनि नेपालीहरुले सहज ढंगले पार गर्ने क्षमता भएकाले त्यसमा नेपालको नाम हुनुपर्ने समेत बताए।

अब पनि योजनावद्ध रुपमा मिलेर अगाडि नबढेमा मुलुक समृद्धिको दिशामा जान नसक्ने उनको भनाइ थियो। 'विकासका लागि कहाँ के कुरा कसरी अगाडि बढाउने भन्‍ने कुरा योजनावद्ध रुपले गर्नुपर्छ' उनले भने, 'हामीसँग प्रशस्त स्रोत साधनहरु छन्। त्यसैमाथि हामी कसरी आत्मनिर्भर हुन सक्छौ भन्‍ने कुरा योजनावद्ध रुपमा अगाडि बढाउनुपर्छ।'

राजनीति जनताले विकासको अनुभूत गर्नेगरी गर्नुपर्ने समेत ओलीले बताए। जनतालाई विकासका आभास दिलाउन ओली नेतृत्वको सरकारले जनता आवास कार्यक्रम सञ्‍चालन गरेको समेत बताए। 'विकासका कुराहरु जनताले अनुभूत गर्ने गरी लानुपर्‍यो। त्यसैले हामीले जनता आवास कार्यक्रम शुरु गरेका हौं' नेता ओलीले भने, 'यसै वर्ष पनि २० हजार तराइका गरिबहरुलाई घर बनाएर दिने कार्यक्रम हामीले नेतृत्व गरेको सरकारले ल्याएको छ।'

अब खान नपाएकै कारण कुनैपनि जनता भोकै मर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने उनले बताए। त्यसका लागि सरकारले नै विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ थियो। 'कुनैपनि जनता खानबाट बञ्चित हुनुहुदैन। खान पाउने चिन्ताबाट जनतालाई मुक्त गराउनुपर्छ' उनले भने 'त्यसको नेतृत्व सरकारले गर्नुपर्छ। औपचारिक रुपमा निर्णय गरेर नै सरकारले यो अगाडी बढाउनुपर्छ।'  खाने चिन्ता भयो भने मान्छेले अरु विषयका बारेमा सोच्न नसक्ने समेत ओलीले बताए।

तोकिएकै समयमा तीनै तहको निर्वाचन

राजनीतिक प्रसंगमा ओलीले २०७४ माघ ७ गतेभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढ्नुपर्ने बताए। उनले केही व्यक्तिहरुको जिद्धिका कारण निर्वाचनका कुनैपनि कार्यक्रम नरोकिने समेत जिकिर गरे। 'लोकतन्त्रमा शर्त होइन। तीन तहको निर्वाचन तोकिएकै समय २०७४ माघ ७ भित्रै गरिसक्नुपर्छ' नेता ओलीले भने, 'दुई चार जनाको जिद्धि पूरा भएन भने संविधान कार्यान्वयन हुँदैन भन्‍ने कुरा जो छ। यस्तो भएन भने निर्वाचन हुँदैन भन्‍ने कुरा हास्यास्पद कुरा हो।'

मुलुकमा अहिले जहानियाँ पारिवारिक तन्त्र नभएर सार्वभौमसत्ता जनतामा भएको भन्दै कुनै पनि बहानामा संक्रमणकाल लम्ब्याउन नहुने समेत बताए।संक्रमणकाल लम्बिदै गए मुलुकमा अन्यौल बढ्दै जाने र केही तत्वले त्यसको दुरुपयोग गर्नसक्ने खतरा हुने उनको भनाइ थियो। उनी भन्छन् 'अब संक्रमणकाल टुङ्ग्याउने कुरामा ढिला गर्नु हुँदैन। स्थानीय चुनाव पनि अत्यन्त असहज स्थितिमा आएर निर्वाचनको मिति घोषणा गरियो। स्थानीय निर्वाचन भएन भने अरु बाँकी निर्वाचन गर्न पनि समस्या हुन्छ।'

दलीय स्वार्थ भन्दा माथि राष्ट्रिय स्वार्थ हुनुपर्ने भन्दै ओलीले सबैभन्दा पहिले राष्ट्र हुनुपर्ने बताए। उनले दलीय स्वार्थ भन्दा माथि लोकतन्त्र भएकाले अब कसरी मुलुकको समृद्धिका लागि लाग्ने भन्‍ने कुरातर्फ केन्द्रित हुन समेत आग्रह गरे। ओलीले भने 'सुशासन, पुनर्निर्माण जस्ता विषय पनि राजनीतिक पीडित भयो। अब यस्ता कुरा दलीय स्वार्थलाई छाडेर राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, सामाजिक सद्‍भाव, समृद्धितर्फ मुलुकलाई लैजानका लागि एमाले आफ्ना दलीय स्वार्थमा सीमित रहँदैन।'

उनले मुलुकलाई समृद्धितर्फ लैजानका लागि एमाले दलीय स्वार्थलाई त्यागेर अगाडि बढ्ने समेत जिकिर गरे। सरकारले एमालेले आफ्नो सुरक्षा आफै गरोस् भन्‍ने व्यवहार गरिरहेको समेत बताए। यदि त्यसो भएमा एमाले आफै बाँच्न पनि जानेको समेत ओलीले बताए। अहिले एमालेमाथि सत्ता पक्षले आततायी व्यवहार गरिरहेको समेत गुनासो गरे।

विदेश नीति हाम्रो हितमा

वैदेशिक नीतिका सम्बन्धमा नेता ओलीले छिमेकीको हितमा नभएर आफ्नो हितका लागि वैदेशिक नीति बनाउनुपर्ने बताए। उनले भने 'उनीहरुको हितमा होइन हाम्रो हितमा हामीले छिमेक नीति बनाउने हो।'

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, विदेश नीतिबारे डिप्लोमेटिक चर्चा समेत हुने गरेको भन्दै छिमेकीको अहित गर्नका लागि नभएर आफ्नो हितका लागि छिमेक सम्बन्ध बढाउनुपर्ने बताए।

नेपाल भूपरिवेष्ठित देश भएकाले अन्तराष्ट्रिय कानुनअनुसार समुन्द्रसम्मको पहुँच पाउने अधिकार भएको भन्दै यसमा कसैले दखल अन्दाजी नगर्ने ओलीले बताए। 'हाम्रो देश भू-परिवेष्ठित देश हो। हाम्रो समुन्द्रसम्म जान सक्ने अन्तर्राष्ट्रिय अधिकार छ। हामी जताबाट पनि समुन्द्रसम्म जान सक्छौ। संसारसम्मको कनेक्टिभिटी हुन पाउनुपर्छ' उनले भने। 

मुलुकको समृद्धिका लागि छिमेकी लगायत लगानीकर्तासँग लगानीका सन्दर्भमा कुरा अगाडि बढाउनुपर्ने उनले बताए। 'छिमेकीसँग कसरी लगानीका कुरा अगाडि बढाउने, लगानीकर्तासँग कसरी लगानी गर भन्‍ने, लगानीको सुरक्षा कसरी गर्ने, लगानीको प्रतिफल लिन सक्ने गरी हाम्रो देशमा लगानी गर्न उद्दत गर्नुपर्छ' ओलीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.