|

काठमाडौं : 'बाउआमालाई छोराछोरी साना हुँदा कतै गएर मर्लान् कि भन्ने डर, बुढेसकालमा मार्लान् कि भन्ने डर…!' उमेरले बुढ्यौलीले छोएको छनक दिनेगरी फुलेका कपाल र अनुहारमा चाउरी परेका वरिष्ठ कलाकार हरिहर शर्माको नेपालमा वृद्धवृद्धाको अवस्थाबारेको भनाइ थियो यो।

साहित्यकार एवं रंगकर्मी टंक चौलागाईंको उपन्यास 'टालाटुली'को बत्तिपुतलीस्थित शिल्पी थिएटरमा भएको विमोचन एवं अन्तर्क्रिया कार्यक्रममा शर्माले युवापुस्तामा बढ्दो सहरतिरको बसाइँसराइ र विदेश जाने चलनले गर्दा वृद्ध आमाबाबुको बिचल्ली भएको बताए।

शर्माको भनाइसँग मिलेको थियो, समालोचक कुमारी लामाको यो भनाइ, 'बसाइँसराइका कारण सहर आउने र विदेश जाने अनि फर्केर नआउने युवाका कारण वृद्धवृद्धाको अवस्था दयनीय भइरहेको छ।' उनले देशमा बढ्दो बेरोजगारी समस्या र राजनीतिक अस्थिरता कारण यस्तो भएको भन्दै थपिन्, 'देशको संक्रमणकालले पनि हामीलाई वृद्धवृद्धाबाट टाढा बनाएको छ।'

छोराछोरी साना हुँदा दु:खकष्ट गरेर शिक्षादीक्षा दिएर ठूला मान्छे बनाएर बुढेसकालमा वृद्धाश्रममा बस्नुपर्ने अवस्थाका वृद्धवृद्धाको जीवनबारे लेखिएको उपन्यास 'टालाटुली'ले वर्तमान अवस्थाको चित्रण गरेको शर्माले बताए। शर्माले समाजको यो पाटोबारे कमैले मात्र लेखेका तर जसरी लेखिनुपर्थ्यो, त्यसरी यो विषय साहित्यमा नआएको बेला चौलागाईंले यस विषयलाई साहित्यमा उतारेर वृद्धवृद्धामाथि न्याय भएको बताए।

समालोचक लामाले परिवार र समाजले बेवास्ता गरिरहेको वृद्धवृद्धाको विषयलाई सुन्दर ढंगमा उपन्यासमा व्यक्त गरिएको बताइन्। उनले भनिन्, 'बजारमा आइरेहका पुस्तकका विषय भन्दा यसको विषय फरक छ। यसले अहिलेको पुस्तालाई भोलि हाम्रो अवस्था पनि यही हुने हो भन्ने सम्झाएको छ।'

उपन्यासको विषयबारे नाट्य प्रस्तुतिमार्फत वृद्धवृद्धाको अवस्थालाई छोटो नाट्य रूपान्तरण पनि गरिएको थियो।

उपन्यासको नाट्य-संगीत प्रतिष्ठानका कुलपति सरुभक्त, रंगकर्मीहरू हरिहर शर्मा, सुनील पोखरेल, अनुप बराल र समालोचक कुमारी लामाले संयुक्त रूपमा विमोचन गरेका थिए।

सांग्रिला बुक्सले प्रकाशन गरेको चौलागाईंको तेस्रो उपन्यास 'टालाटुली'को मूल्य ३७५ रुपैयाँ रहेको छ। चौलागाईंका यसअघि 'जिरो कटेज' र 'काठमाण्डु गीत' उपन्यास प्रकाशित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.