|

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भएको छ। दुल्लु नगरपालिका–९ की गर्भवतीले शल्यक्रिबाट बच्चा जन्माइएकी स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। 

उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत डा जगत थापाको टोलीले सफल शल्यक्रिया गरेको हो। शल्यक्रियाबाट जन्मेका बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा थापाले जानकारी दिए।  

उनलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य सेवा कार्यालयमा ल्याइएको थियो। सुत्केरी गराउने क्रममा उनको कोरोना जाँच गर्दा संक्रमण पुष्टि भएको थियो। समयमै गर्भवतीलाई अस्पताल ल्याउन नसकिएको भए ज्यान जोखिममा पर्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन्। 

शल्यक्रिया गरिएकी महिलालाई स्वास्थ्य सेवा कार्यालय दैलेखको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ। स्वास्थ्य सेवा कार्यालय दैलेखमा विगत तीन महिनादेखि बन्द भएको शल्यक्रिया सेवा केही दिनअघिबाट पुनः सञ्चालनमा आएको थियो।

सेवा बन्द भएपछि शल्यक्रिया गर्नुपर्ने बिरामीलाई उपचारका लागि सुर्खेत–नेपालगञ्ज जानुपर्ने बाध्यता थियो। यस्तै, दैलेखमा हालसम्म सात सय ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। 

सक्रिय संक्रमितमध्ये ३५ जनाको स्वास्थ्य सेवा कार्यालयको आइसोलेसनमा राखेर उपचार भइरहेको र बाँकी होम आइसोलेसनमा रहेका जनाइएको छ। ११ वटा स्थानीय तह रहेको दैलेखमा हालसम्म २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.