|

जाजरकोट : यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन्। फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन्। 

त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको मानबहादुर खत्रीको छ जनाको परिवारले भोट हाल्न नपाउने भएको छ। फोटोसहितको मतदाता नामावली भर्न गाउँमा गएको जिल्ला निर्वाचन कार्यालयले व्यापक प्रचारप्रसार नगर्दा उनीहरुले भोट हाल्न नपाएको बताएका छन्। 

यो परिवारजस्तै यही वडाकै धनबहादुर विकका छ जनाको परिवारले पनि मतदान गर्न नपाउने भएको छ। गाउँमा मतदाता नामावली भर्न कोही नआएका कारण आफूहरु छुटेको धनबहादुरले बताए। 

त्यस्तै, बारेकोट गाउँपालिका–१ की महिला पेन्टे खत्रीको पाँचजनाको पूरै परिवारले मतदान गर्न नपाउने भएपछि खिन्न भएको बताएका छन्। मतदाता नामावली भर्न कति खेर आए उनीहरुलाई थाहा नै नभएको उनीहरुले बताएका छन्। 

नागरिकता भएपछि भोट हाल्न पाइँदैन र ? पेन्टेका श्रीमान् लाल बहादुर खत्रीले प्रश्न गरे। उनलाई फोटोसहितको मतदाता नामावली नभएमा भोट हाल्न पाइँदैन भन्नेसम्म थाहा नहुँदा समस्या भएको सुनाए। 

सञ्चारमाध्यमको पहुँच नभएका र वैदेशिक रोजगारी तथा भारतमा कमाइ गर्न गएका अधिकांश स्थानीय फोटोसहितको मतदाता नामावलीमा छुटेको पाइएको छ। जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका स्थानीयको नागरिकता नहुनु र नागरिकता भएपनि फोटोसहितको मतदाता नामावली भर्नुपर्छ भन्ने ज्ञान नहुँदा स्थानीय भोट हाल्नबाट वञ्चित हुने भएको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.