|

डोटी : बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मंगलबार दिउँसो फरार भएका संक्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो।

कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका ती पुरुष अस्पतालबाट भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा‍.सुरज श्रेष्ठले जानकारी दिए।

संक्रमित पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो। भागेका संक्रमित पुरुषलाई बडिकेदार गाउँपालिका–५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि निजलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। सोमबार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना संक्रमण देखिएपछि उनी मंगलबार भागेका थिए। आफ्ना कुरुवालाई खाना ल्याउन पठाएर उनी मंगलबार दिउँसो करिब १ बजेको समयमा भागेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.