|

ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ र चिशंखुगढी-८ जोड्ने मोटरेबल पक्की पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ।

ठेकेदारले ठेक्का सम्झौता गरेको एक वर्षसम्म पुल निर्माणका काम नै नथालेपछि पटक पटक ताकेता गरेर काम सुरु भएको छ। 

निषेधाज्ञाका बीच भइरहेको निर्माणमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा ठेकेदारले लापरबाही गरेको स्थानीयको भनाइ छ। वैशाखमै म्याद सकिएको पुलको जग हाल्ने काम भइरहेको भए पनि लापरबाही भएको र बालुवामा बराबरी माटो र गिटीसमेत नपखाली मोटैसहित घोलेर ढलान भइरहेको स्थानीय युवा कृष्ण भुजेलले बताए।

२०७६ वैशाख ५ गते खम्पाचे शेर्पा निर्माण सेवाले ठेक्का सम्झौता गरेको उक्त पुलको निर्माण सम्पन्न गर्ने म्याद गत महिना नै सकिएको हो, तर उक्त पुलको काम हालसम्म करिब ३० प्रतिशत मात्रै पूरा भएको छ।

यही खोलामा उक्त कम्पनीले जिम्मा लिएका अन्य दुई मोटरेबल पुलसमेत अलपत्र छन्।

ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि जिल्ला प्रशासन कार्यालयले २०७७ माघमा रुग्ण आयोजनाका रुपमा सूचीकृत गरेर काम सक्न लिखित चेतावनी नै दिएको थियो।

स्थानीय र प्रशासनको दबाबले बल्ल काम थालेको ठेकेदारले पुलको जग निर्माणमै गुणस्तरहीन सामग्री प्रयोग गरेको स्थानीयको गुनासो छ। निर्माण सामग्री गिटी बालुवामा माटो मिसाइएको, गिटीका साइज निकै ठूलो र सानो देखिएको विषयमा हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख अरुणकुमार लाल कर्णले निर्माणमा गुणस्तर कायम गर्न प्राविधिक नै खटाएको बताए।

प्राविधिक नै खटाइएको छ, केही गुनासो आएकाले त्यसबारे निर्माण कम्पनीसँग सोधिसकेको उनको भनाइ छ। बालुवामा माटो मिसिएको कुरा उठेको छ चालेर गिट्टी पखालेर मात्रै प्रयोग गर्न निर्देशन दिइएको उनले जानकारी दिए।

२०७८ वैशाख ४ गते सम्पन्न गर्नुपर्ने पुल निर्माण म्याद सकिएपछि निर्माण गर्न थालिएको भए पनि निर्माणमा लापरवाही गरेका कारण स्थानीय आक्रोशित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.