|

कन्चनपुर : राष्ट्रिय सहकारी विकास बोर्डको २० वर्षे दीर्घकालिन रणनीतिक योजना तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी सुरु भएको छ। मंगलबारदेखि महेन्द्रनगरमा बोर्डको ७ नम्बर प्रदेश स्तरीय २ दिने सहकारी क्षेत्रको दीर्घकालिन योजना तर्जुमा गोष्ठी सुरु भएको हो।

कार्यशाला गोष्ठीमा सहकारी बोर्डले आगामी २० वर्षमा सहकारी क्षेत्रमा उल्लेख्य प्रगति हुने अपेक्षा रहेको जनाएको छ। यस अवधिमा २० लाख भन्दा बढीलाई सहकारी सदस्यलाई  रोजगारी दिईने र सहकारी संस्थाको कुल बचत १२ खर्ब भन्दा बढी बनाउने रणनीति सहकारी बोर्डले लिएको जनाएको छ।

त्यस्तै सहकारी शिक्षाको विकासका लागि पाठ्यक्रममा सहकारी शिक्षा हुने अपेक्षा राख्दै बोर्डले सदस्य संख्या २ करोड र कुल ग्राहस्थ्य उत्पादनमा सहकारीको २० प्रतिशत योगदान हुने अपेक्षा राखेको छ। कार्यशाला गोष्ठीमा सहकारी क्षेत्रको दीर्घकालिन रणनीति योजनाका बारेमा ९ वटै जिल्लाका सहकारीसँग आबद्ध व्यक्तिहरुसँग छलफल गरिएको छ।

त्यस्तै, प्रत्येक जिल्लाबाट आएका सुझावहरुबारे आज छलफल गरिने जनाएको छ। मुलुकको दिगो तथा समतामुलक आर्थिक एवं सामाजिक रुपान्तरणका लागि सबल सक्षम सहकारी प्रणालीको विकास गरिने सहकारी बोर्डको दीर्घकालिन सोच रहेको जनाइएको छ। सहकारी क्षेत्रलाई व्यवसायिक रुपमा सक्षम बनाई गुणात्मक एवं तुलनात्मक लाभमा पुर्याउने सहकारी बोर्डको मुख्य लक्ष्य रहेको छ।

कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले सहकारी हुनेखाने वर्गको आर्थिक समृद्धि भन्दा पनि गरिबको रेखामुनि रहेका व्यक्तिहरुको आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताए। खनालले भने सहकारी क्षेत्रमा सुशासन हुनुपर्छ, नियम कानून र ऐन मिचेर केही सहकारी स्थापना हुँदा सिंगो सहकारी बदनाम हुने भएकाले यसतर्फ सहकारी विकास बोर्डको ध्यान जानुपर्छ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला सहकारीका उपाध्यक्ष खगेश्वर केसीले अनुगमनको कमी विज्ञताको अभाव सहकारीमा रहेको बताउदै प्रत्येक अञ्चलमा सहकारी तालिम केन्द्र र प्रत्येक जिल्लामा डिभिजन कार्यालय स्थापना हुनुपर्नेमा जोड दिए। कार्यक्रममा सहकारी बोर्डको सह अध्यक्ष सरोज कुमार शर्माले सहकारी मैत्री ऐन बन्‍ने विश्वास व्यक्त गर्दै दुई महिनाभित्र नयाँ ऐन आउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.