नेताहरू भन्छन् : वार्ता सकारात्मक छ, एकता सम्भव

|

काठमाडौं : नेकपा एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरू सक्रिय भएर लागिरहेका छन्। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहबीचको विवादले पार्टी विभाजनको डिलमा पुगेपछि दोस्रो तहका नेताहरूले निरन्तर एकताको पहल गरेका हुन्।

अध्यक्ष ओलीले आफ्नो समूहलाई एक्ल्याएर निरन्तर रुपमा अघि बढेपछि नेता नेपाल समूह विद्रोहमा उत्रिएपछि एमालेमा ध्रुवीकरण सुरु भएको थियो। सोही विवादले नेपाल समूहले तल्लो तहसम्म समानान्तर कमिटी गठन गरिसकेको छ। 

नेपाल पक्षका नेताहरू पनि एकता जोगाउने दौडमा लागेको भए पनि केही नेता ओलीसँग मिल्ने सम्भावना सकिएको दाबी गर्दै नयाँ पार्टी दर्ताको विषयलाई अघि बढाउनुपर्ने अडान राख्दै आएका छन्। 

वार्ताबाट सहमतिको बिन्दु खोजिँदै 

पार्टी दुई धारमा विभाजन भइसकेपछि बसेको दोस्रो तहका नेताहरूको बैठक सकारात्मक भएको ओलीका विश्वासपात्र नेता सुवासचन्द्र नेम्वाङ बताउँछन्। 

‘पार्टीभित्र देखिएको विवादलाई कसरी समाधान गर्न सकिन्छ भनेर विकल्पबारे छलफल भइरहेको छ। एकखाले सहमति बनिसकेपछि मात्रै सार्वजनिक गर्छौँ’, उनले भने। 

पार्टी एकता बचाउने विषयमा मंगलबार भएको छलफल सकारात्मक भएको नेता नेपाल समूहका नेता भीम आचार्य बताउँछन्।

उनी भन्छन्, ‘हामी पार्टी एकताको विपक्षमा छँदै छैनौँ, त्यसैले एकताका लागि सहमति प्रयास गरिरहेका छौँ। हाम्रा मागहरू फेरिएका छैनन्। उहाँहरू (ओली पक्ष) पनि वार्ताको लागि सकारात्मक नै भएर आउनुभएको छ।’

आवश्यकता अनुसार जुनसुकै बेलामा समय मिलाएर छलफल गर्नसक्ने उनले बताए। सहमतिको बिन्दु कुन भन्ने अझै निश्चित भइनसकेको उनको भनाइ छ। 

‘हामीले पार्टीलाई २०७५ जेठ २ मा फर्काउने र उहाँ (ओली) को तर्फबाट एकलौटी रुपमा भएको निर्णय खारेज गनुपर्ने माग पहिल्यैदेखि उठाएका हौँ। तर, अहिले उहाँ त्यसमा तयार हुनुभएको छ’, उनले भने, ‘त्यसपछि उहाँबाट चालिएका अन्य कदमलाई पनि हामीले सच्याउनुपर्ने माग गरेका छौँ।’

पार्टी विभाजनको पक्षमा कोही नरहेको दाबी गर्दै एकताको सम्भावना जीवितै रहेको उनले दाबी गरे। दुवै समूह एकअर्कालाई बाइपास गर्दै बढ्ने क्रम नरोकिएकाले एकताको सम्भावना पातलिँदै गइरहेको विश्लेषण हुन थालेको छ। 

योगेशले उठाए नेतृत्वमाथि प्रश्न

तर, एमाले एकताको पहल गरिरहेका माधव समूहका नेता योगेश भट्टराईले पार्टी नेतृत्वमाथि नै प्रश्न उठाएका छन्। 

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर, महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने?’ उनले फेसबुकमा लेखेका छन्, ‘कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीको अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड, उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने।’ 

एमाले विवाद भाँड्न कस्ले, किन र केका लागि गर्दैछ यो सब? भन्दै उनले प्रश्नसमेत गरेका छन्। 

पार्टी एकताको विषयमा सबैले गम्भीर छलफल गर्नुका साथै साझा निष्कर्षका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ छ। मंगलबारको दोस्रो तहका नेताहरूको छलफलमा संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली थिए।

यस्तै, नेपाल समूहबाट भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल सहभागी थिए। 

बालुवा पेलेर तेल निकाल्ने प्रयास !

साविक नेकपाको एकता भंग हुनुअघि होस् या भइसकेपछि नेता माधवकुमार नेपालले अध्यक्ष ओलीलाई भन्ने गर्छन्, ‘ओली सुध्रिने मान्छे होइन। बरु बालुवा पेलेर तेल निस्किएला,ओली सुध्रिँदैनन्।’

ओली-नेपालबीचको पछिल्ला छलफल पनि उपलब्धीमूलक देखिएन। ओलीले ६ बुँदे प्रस्ताव ल्याएर विश्वास दिलाउन खोजे पनि नेपाल समूह थप सशंकित बनेको छ। ‘उहाँहरूलाई ओलीले सक्दो लचक भएर सबै शर्त पूरा गर्न तयार हुनुभयो’, ओलीनिकट एक नेताले भने, ‘अब फेरि अर्को बखेडा झिक्न थाल्नुभयो।’

पार्टी एकताको प्रयास भइरहेको बेलामा विपक्षी गठबन्धनसँग मिलेर कांग्रेस सभापतिलाई प्रधानमन्त्रीको प्रस्तावमा हस्ताक्षर गर्नेहरूले विधि र पद्धतिको कुरा गर्न नसुहाउने ती नेताको भनाइ छ। 

ओलीले आफ्नो यसअघिको सबै माग सम्बोधन गर्न तयार भएको भन्दै वक्तव्य जारी गर्नु जालझेल कुरा मात्रै भएको नेपाल समूहको निष्कर्ष छ। सोहीअनुसार ओलीको वक्तव्यपछि बसेको स्थायी कमिटीको बैठकले त्यसको जवाफ फर्काएको थियो। 

ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिए मात्रै पार्टी एकता जोगिने माधव समूहको अडान छ। तर, ओली पक्ष संवैधानिक रुपमा प्रतिनिधिसभा विघटन भएको दाबी गर्दै आइरहेको छ। 

ओली एकपछि अर्को कदम चाल्दै जाने नेपाल पक्ष त्यसलाई सच्याउन माग थप्दै विद्रोह रोज्ने क्रम बढ्दै गइरहेको बेलामा एकताको सम्भावना खोज्नु ‘बालुवा पेलेर तेल खोज्नु' जस्तै भएको टिप्पणी समेत हुन थालेको छ। तर शीर्ष नेताले बालुवा पेलेर तेल ननिस्कने भने पनि दोस्रो तहका नेता त्यहीँबाट तेलको अपेक्षा गरेर लागिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.