|

मर्चवार (रुपन्देही) : चैतको ६ गते निर्वाचन कार्यालयको टोलीले मर्चवारी गाउँपालिकामा निर्वाचनसम्बन्धी छलफल गर्दै थियो। छलफलमा इलाका प्रहरी कार्यालय मर्चवार, राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरुसहित सहभागी भए।

तर मधेसी मोर्चामा आवद्ध दलका कोही पनि आएनन्। छलफल सकिनै आँटेको समयमा मोर्चाका कार्यकर्ता चाबी लिएर आए। उनीहरुले मर्चवारी गाउँपालिकाको कार्यालयमा ताला लगाए। कार्यालयमा ताला लगाएपनि मोर्चाका कार्यकर्ताले केही अत्यावश्यक कागजपत्र कार्यालयबाहिर निकाल्न मन्जुर भए।

त्यसको एक हप्तापछि सोमबार मोर्चाका कार्यकर्ताले गाउँपालिकाको कार्यालयभित्र रहेका सबैजसो कागजपत्र निकाल्न राजी भए। केन्द्रको आदेश भन्दै ताला खोल्न असहमति जनाएका उनीहरुले गाउँपालिकाको कामकाज रोक्न चाहेका छैनन्।

मर्चवारी गाउँपालिकामा रहेको एक सरकारी कार्यालयका कर्मचारी भन्छन् ‘मोर्चाले केन्द्रमा आन्दोलन जारी राख्ने भनेकाले उनीहरुले ताला लगाएका छन् तर चुनावको मुखमा सरकारी कार्यालयमा ताला लगाउँदा चुनाबी माहोल बिग्रिन्छ कि भन्ने डर पनि उनीहरुलाई छ।’

यही डरले मोर्चालाई पोलिरहेको छ। मोर्चा निकट दलहरु आन्दोलनका कारण जनतामा पार्टीबारे नराम्रो सन्देश नजाओस् भन्ने चाहन्छन्। मोर्चानिकट तमलोपाका एक स्थानीय नेताले चुनावमा भाग लिनका लागि आन्तरिक हिसाबले तयारी भइरहेको बताए। ‘हामी केन्द्रको निर्णय पर्खिरहेका छौं, केन्द्रबाट चुनावमा जाने निर्णय भएमा हामी खुलेर चुनावमा जान्छौं', उनले भने ‘यदि त्यस्तो भएन, मोर्चाले चुनाव बहिस्कार गर्ने भयो भने हामीहरु स्वतन्त्र रुपमा चुनावमा भाग लिन्छौं।’

यो कुरा उनीहरु अझै खुलस्त भन्न चाहन्नन्। ‘सकेसम्म मोर्चामा आवद्ध दलहरुबीच एलायन्स गरेर चुनावमा जाने कसरत पनि भइरहेको छ', सद्भावना पार्टीका एक नेताले केन्द्रको सर्कुलर अनुसारको कुरा भने ‘मोर्चामा आवद्ध दलहरु खुलेर जान सकेनन् भने व्यक्तिहरुलाई चुनावमा पठाउँछन् र उनीहरु अदृश्य रुपमा मोर्चाको संयुक्त उम्मेदवार हुन सक्छन्।’

मोर्चाका केन्द्रीय तहका नेताहरुले पनि मधेस चुनाव चाहन्छ भन्ने भावना बुझेका छन्। ‘जनताले चुनाव चाहिरहेका छन्' सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले भने 'सरकारले पनि यो कुरा बुझोस् र मधेसी मोर्चाको माग सम्बोधन गरोस् भन्ने हाम्रो चाहना हो, जनता चुनाव होस् भन्ने चाहन्छन् र हामीहरु पनि चुनाव होस् भन्ने पक्षमा छौं, तर मधेशी मोर्चाका मागका बारेमा सरकारले मध्यविन्दुबाट समाधान गर्नुपर्छ।’

मुख्य दलहरु खुलेरै लागे, मोर्चाको लुप्त अभियान

रुपन्देहीको मर्चवार क्षेत्रका ४ वटा गाउँपालिकामा दलहरुले चुनावी कार्यक्रम शुरु गरेका छन्। कांग्रेसले केही दिन अघिदेखि चुनावकेन्द्रित छलफल शुरु गरेको छ। एमाले, माओवादी केन्द्रले कमिटी गठनलाई तीब्रता दिएका छन्। मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टी, तमलोपा, फोरमलगायतले पनि भेटघाटलाई तीब्रता दिएका छन्।

यो सँगै दलहरुका बीचमा उम्मेदवारको आकांक्षीको समेत चर्चा हुन थालेको छ। चुनाव बहिस्कार गर्ने बताइरहेका मधेसी मोर्चामा आवद्ध दलहरुले समेत मर्चवार क्षेत्रमा उम्मेदवार को बनाउने भन्ने छलफललाई तीब्र पारेका छन्। उनीहरु खुला छलफलभन्दा पनि आन्तरिक छलफलमा बढी व्यस्त छन्।

तमलोपाका रुपन्देही उपाध्यक्ष अजय गुप्ता भन्छन् ‘केन्द्रमा जे निर्णय हुन्छ हामी पनि त्यही नै गर्छौं, अहिले त्यस्तो केही छैन, चुनावमा जाने सहमति भइहाल्यो भने हामीसँग उम्मेदवार तयार नै छन्।’

मर्चवार क्षेत्रमा कांग्रेसका विरेन्द्र जयसवाल, एमालेका राजकुमार धवल चुनावी कार्यक्रम लिएर गाउँमा खटिएका छन्। मधेसमा कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेमा मधेसकेन्द्रित दलहरुले चुनाव नजित्ने आँकलनसहित त्यसको तयारीमा जुटेका छन्। मर्चवारका ४ वटा गाउँपालिकामा मधेस केन्द्रित दलको प्रभाव बढी छ भने त्यसपछि क्रमशः कांग्रेस, एमाले र माओवादीको प्रभाव छ।

यो क्षेत्रमा सबैजसो दलहरुका उम्मेदवारका दाबेदारहरु तयार पार्न थालेका छन्। कोटहीमाई गाउँपालिकामा संघीय समाजवादी फोरमबाट चन्द्रभूषण यादव र बलिराम यादव उम्मेदवार हुने चर्चा छ। तमलोपाबाट बालकृष्ण घिमिरे, कांग्रेसबाट विरेन्द्र जयसवाल र एमालेबाट राजकुमार धवल र विध्याञ्चल यादव अध्यक्षका आकाक्षी रहेका छन्। तर तीन/चार गाविस मिलेर गाउँपालिका बनेकाले उम्मेदवारका आकांक्षी अरु धेरै रहेको नेताहरु बताउँछन्।

मर्चवारीमा सद्भावनाका फौजदार यादव, तमलोपाका राजकुमार सिंह, फोरमका केशव वानिया, कांग्रेसका छुन्नु त्रिपाठी र एमालेबाट कमलेश यादवको चर्चा छ।

समरी गाउँपालिकाबाट सद्भावनाका राममिलन यादव, वलविर सिंह, फोरमका अमररित्त यादव, कांग्रेसका डब्लु श्रीवास्तव र एमालेका बाबुलाल यादवको चर्चा चलेको छ । मायादेवी गाउँपालिकामा एमालेबाट रामचन्द्र यादव र सिक्क्षन यादव, कांग्रेसका धु्रवनारायण चौधरी, माओवादीका सन्त कुमार यादव, सद्भावनाका रामप्रकाश यादव, तमलोपाका रामअधरे यादवले अध्यक्ष बन्ने आकांक्षा देखाउदै तयारी समेत गरेका छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.