|

‘गौरादहको बजारमा माया हाम्रो बस्यो’, ‘छिटको साडी चौबन्दी चोलीमा’, ‘चैनपुर बजार पोखरी बजार बीचैमा चौतारी’ आदि गीत नसुन्ने नेपाली सायदै भेटिएलान्। यी गीत मन नपराउने त भेटिन्न पनि होला। कुनै समय हरेकजसो नेपालीका ओठमा झुण्डिएका यी गीतका गायक हुन्, सीताराम ताजपुरिया।

पूर्वी नेपालको झापा जिल्लाको गौरादह– ३ का ताजपुरिया २०३७ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेपश्चात औपचारिक रूपमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन्। अहिले पनि निरन्तर नेपाली सांगीतिक क्षेत्रमा नै छन् उनी। रेडियो नेपालमा ३३ वर्ष सेवा गरेपश्चात दुई वर्षअघि उनी आफ्नै जन्मथलो गौरादह आएर बसोवास गरिरहेका छन्। उमेरले ६० वर्ष पुगे पनि उनी पूर्व क्षेत्रमा धेरै सांगीतिक माहोल बढाउन, नयाँ पुस्तालाई नेपाली गीत संगीतप्रति आकर्षित गर्न सक्रिय नै छन्। 

उनले नेपाली भाषाका गीतका अतिरिक्त ताजपुरिया भाषाका गीतसहित दुई सय बढी गीत रेकर्ड गराएका छन्। नेपाली गीत संगीतमा उनको योगदान उच्च रहेको छ। 
पछिल्लो समय नेपाली गीत संगीतमा विकृति आएको ताजपुरिया बताउछन्। उनी भन्छन्, ‘अहिले त पैसा हुने सबै गायक, हाम्रो पालामा यस्तो थिएन।’ उनले गीत रेकर्ड गर्न र राष्ट्रिय गायकको उपाधि पाउन गर्नुपरेको संघर्ष सम्झन्छन्। उनी सानै उमेरदेखि गीत संगीतमा रुचि राख्थे। विद्यालयमा समेत गीत गाउने गर्थे। भन्छन्, ‘म सानै उमेरदेखि स्कुलमा गीत गाउने गर्थें, स्कुलमा शुक्रबार सधैँ साहित्यिक गोष्ठी हुने गर्थ्यो, त्यसमा सधैँ मैलाई गुरुहरूले गीत गाउन लगाउनुहुन्थ्यो।’

‘काठमाडौं त गएँ तर धेरै दुःख भोग्नुपर्‍यो’, भन्छन्, ‘मैले रत्नपार्कको एउटा टहरामा त्यही पुरानो खास्टो आधा ओछ्याएर र आधा ओढेर सुत्नुपर्‍यो, रत्नपार्कको त्यही टहरो मेरो डेरा भयो।’

त्यस समय परिवारिक अवस्था कमजोर रहेका कारण धेरै संघर्ष गर्नुपरेको उनी सुनाउँछन्। स्कुलमा गीत गाउँदा गुरुहरूले काठमाडौं जाने सल्लाह दिनुहुन्थ्यो, तर उनीसँग काठमाडौं जाने पैसा पनि थिएन। उनी खेलकूदमा पनि उत्तिकै रुचि राख्थे। भन्छन्, ‘अहिले पो बुढो भइयो, स्कुल पढ्दा गीत गाउनसँगै खेलकुदमा पनि सधैँ प्रथम हुन्थेँ।’ गुरुहरूले खेलकुद छोडेर गीततिर लाग्न भनेकाले उनी यता लागेका हुन् रे! 

आफू स्वर परीक्षा दिन काठमाडौं जान लागेको सुनेर मामाले कराएको उनी सम्झन्छन्। भन्छन्, ‘म काठमाडौं जान लागेको सुनेर मामाले मलाई धेरै गाली गर्नुभयो, सायद मामाले गाली नगर्नु भएको भए इख लिएर काठमाडौं जान्न थिएँ।’ त्यसपछि तत्कालीन गाउँ पञ्चायतसम्म स्वर परीक्षामा सामेल हुन पाऊँ भन्ने सिफारिस लिन गएको उनी सम्झन्छन्। ‘त्यतिबेला स्वर परीक्षा दिनका लागि सिफारिस चाहिन्थ्यो’, भन्छन्, ‘मलाई सिफारिस दिलाउन मेरा स्कुलका गुरुहरूले धेरै सहयोग गर्नुभएको छ।’ 

सिफारिस बनेपछि पनि आफूलाई पैसाको समस्या परेको उनी बताउँछन्। उनी भन्छन्, ‘मैले आफ्नो आर्थिक अवस्थाका बारेमा गाउँ पञ्चायतका अध्यक्ष र सचिवलाई भने, उहाँहरूले दया गरेर १२५ रूपैयाँ उपलब्ध गराइदिनुभयो।’ उनलाई साथीहरूले गाउँ पञ्चायतबाट भन्दा अञ्चलाधीशको कार्यालयबाट ल्याएको सिफारिस राम्रो हुने बताएपछि उनी अञ्चलाधीशको कार्यालय पुगेको बताउँछन्। ‘तत्कालीन अञ्चलाधीश लीलाराज विष्टले मलाई गीत गाउन लगाउनुभयो, गीत सुनेपछि शुभकामना दिँदै सिफारिस दिनुभयो’, उनी भन्छन्, ‘त्यसपछि मेरो काठमाडौं जाने निश्चित भयो।’ 

आफू सानै हुँदा आमा बित्नुभएकाले भाउजुसँग बस्दै आएको बताउँदै उनी भाउजु दुर्गी ताजपुरियाले गरेको सहयोगप्रति कृतज्ञ बन्छन्। भावुक हँुदै उनी भन्छन्, ‘त्यतिबेलाको जमानामा भाउजुसँग पनि पैसा त कहाँ हुन्थ्यो? उहाँले गाउँमा खोजेर ५२ रूपैयाँ दिनुभयो।’ त्यतिबेला काठमाडौं जाँदाको भाडा ७० रूपैयाँ भए पनि भनसुन गर्दा ५० रूपैयाँमा पुगिने उनी सुनाउँछन्। काठमाडौं जाँदा भाउजुले झोलामा एउटा पुरानो खास्टो र भुजा चिउरा पठाइदिएको उनी सम्झन्छन्। ‘काठमाडौं त गएँ तर धेरै दुःख भोग्नुपर्‍यो’, भन्छन्, ‘मैले रत्नपार्कको एउटा टहरामा त्यही पुरानो खास्टो आधा ओछ्याएर र आधा ओढेर सुत्नुपर्‍यो, रत्नपार्कको त्यही टहरो मेरो डेरा भयो।’

एक महिनासम्म खाना नखाई चिउरा–भुजा र पानी खाएर बसेको उनी सुनाउँछन्। उनी भन्छन्, ‘खाना खानलाई पैसाले पुग्दैनथ्यो, त्यसले बिहान चिउरा–भुजा खान्थेँ र बेलुका भोकै सुत्थेँ।’ एक महिनापछि मात्र उनको पालो आएछ। 

रेडियो नेपालमा गइरहँदा गायक राम थापासँग उनको सम्पर्क भयो। गायक थापासँग चिनजान भएपछि थापाले उनलाई धेरै सहयोग गरेको बताउँछन् ताजपुरिया। उनको स्वर परीक्षामा निर्णायकमा नातीकाजी, तारादेवी, शिवशंकर मानन्धर जस्ता धुरन्धर संगीतकर्मी बसेका रहेछन्, जुन कुरा उनलाई थाहै थिएन। ‘गीत गाइसकेपछि राम थापा दाइले चिनाउनुभयो, म छक्क परेँ’, ताजपुरिया भन्छन्, ‘धन्न गीत गाउनु अगाडि चिनाउनुभएनछ, नभए म फेल हुने थिएँ।’ उनीहरू जस्ता व्यक्तित्वको छेउमा गाउन ताजपुरियालाई गाह्रो हुन्थ्यो रे! तर पछि मात्र चिनेकाले सहजै गाए रे! 

अहिलेका गीत संगीतमा पश्चिमा गीतको प्रभाव परेको छ’, उनी भन्छन्, ‘कतिपय गीतको शब्द नै बुझिँदैन, यसलाई सुधार गर्नुपर्छ।’ पछिल्लो समय एउटा गीत गाएर काठमाडौं बस्दैमा राष्ट्रिय गायक हुने क्रम बढेको उनी बताउँछन्। भन्छन्, ‘एउटा गीत गाएर श्रोताले सुन्न पाएका छैनन्, ऊ राष्ट्रिय गायक बन्छ। आफूले आफैँलाई राष्ट्रिय गायकको उपाधि दिन्छ, यो राम्रो होइन।’ 

एक सातापछि नतिजा सार्वजनिक हँुदा उनी निकै खुसी भएको बताउँछन्। नतिजामा आफू पास भएपछि निकै उत्साहित भए उनी। उनले स्वर परीक्षा पास गरे पनि गीत रेकर्डका लागि लामो समय पर्खनुपरेको थियो। २०३९ साल बैशाख ३ गते ‘गौरादहको बजारमा माया हाम्रो बस्यो’ गीत रेकर्ड गराएका थिए। उनका पालामा गीत रेकर्ड गर्न धेरै गाह्रो भएको उनी बताउँछन्। ‘त्यतिबेला अहिलेको जस्तो सहज थिएन। प्रविधि पनि यस्तो सजिलो थिएन। एकै पटकमा रेकर्ड गर्नुपर्थ्यो’, ताजपुरिया भन्छन्, ‘एक जनाले बिगारे फेरि सुरुबाटै गर्नुपर्थ्यो, गाउँदा गाउँदा स्वर नै सुक्थ्यो।’ 

उनले काठमाडौंमा बस्नका लागि अर्काको भाँडा माझेको उनी सम्झन्छन्। उनले २०३९ सालमै तत्कालीन रेडियो नेपालका डाइरेक्टर भोग्यप्रसाद शाहलाई आफ्नो दुःख सुनाए। त्यसको केही दिनपछि उनले मुखियामा आफूलाई अस्थायी नियुक्ति दिएको स्मरण गर्छन्। त्यसपछि उनले स्थायी हुँदै रेडियो नेपालबाट प्रतिष्ठित गायन अधिकृतको पदसम्म पाए। २०७१ सालबाट रेडियो नेपालदेखि अवकास लिए ताजपुरियाले। 

२०५७ सालमा तत्कालीन राजा वीरेन्द्रबाट गोर्खा दक्षिण बाहु पुरस्कार पाएका थिए उनले। त्यस्तै २०६६ सालमा तत्कालीन सञ्चारमन्त्री शंकर पोखरेलबाट दीर्घकालीन सेवा पदक पनि पाएका छन्। 

आफूले लामो समय सांगीतिक क्षेत्रमा बिताउँदा सबैभन्दा ठूलो सम्पति श्रोताको माया पाएको बताउने ताजपुरिया पछिल्लो समय युवा पुस्ताले पुराना संस्कृति र गीत संगीत बिर्संदै गएकामा चिन्तित छन्। ‘अहिलेका गीत संगीतमा पश्चिमा गीतको प्रभाव परेको छ’, उनी भन्छन्, ‘कतिपय गीतको शब्द नै बुझिँदैन, यसलाई सुधार गर्नुपर्छ।’ पछिल्लो समय एउटा गीत गाएर काठमाडौं बस्दैमा राष्ट्रिय गायक हुने क्रम बढेको उनी बताउँछन्। भन्छन्, ‘एउटा गीत गाएर श्रोताले सुन्न पाएका छैनन्, ऊ राष्ट्रिय गायक बन्छ। आफूले आफैँलाई राष्ट्रिय गायकको उपाधि दिन्छ, यो राम्रो होइन।’ 

निकट भविष्यमै उनी गौरादहमा संगीत विद्यालय सञ्चालन गर्ने तयारीमा छन्। यहाँ रहेर गीत संगीतमा लाग्न चाहनेहरूलाई सहयोग गर्न संगीत विद्यालयको स्थापना गर्न लागेको उनी बताउँछन्। बाँकी जिन्दगी आफ्नै गाउँठाउँको विकास, समाजसेवा र गीत संगीतमा समर्पित भएर बिताउने उनको चाहना छ। उनले गाएको गीतमा जस्तै उनी पनि गौरादह बजारसँगै माया गाँसिरहन चाहन्छन्। ‘कुनै ठूला सपना बाँकी छैनन् अब’, ताजपुरियाले यसरी संवादको बिट मारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.