|

भक्तपुर : नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदैछन्। गृष्म ऋतुको अन्त्य र वर्षा ऋतुको आगमनको भएको अवसरमा यो पर्व मनाउने गरिन्छ।

जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन विशेष गरेर मास तथा मुगीलगायत दलहनबाट बनेको विशेष पकवान वः (बारा) खाएर नेवार समुदायले सिथि नखः पर्व मनाउने गर्दछन्। यस दिनलाई महादेव पुत्र कुमार कार्तिकेयको जन्म दिनको रुपमा समेत लिने भएकाले यस पर्वलाई कुमार षष्ठी पनि भनिन्छ। यस दिन भगवान कुमार कार्तिकेयको विशेष पूजा र जात्रा समेत हुने गर्दछ।

सिथि नखः पर्वमा भक्तपुरमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताहरुको पूजा गर्ने परम्परा छ। सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा ठूलो मेला लाग्ने गर्छ। यस दिन विषेशगरी कुमारलगायत सबै देवीदेवतालाई वः, चतामरी, आरुबखडा, काँक्रो र सचुं (भुटेको नयाँ गहुँको पिठो र चिनीबाट बनेको विशेष प्रकारको रोटी) चढाउने परम्परा छ। त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी), मालपुवा, पापड समेत खाने गरिन्छ।

यस दिन वः, चतामरी र सचुंको भोजन गरेर शरीरलाई वर्षा खप्न सक्ने बनाइने जानकारहरु बताउँछन्। धान खेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो। वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौंठेजोरी खेल्दै गरिने धान रोपाईंलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ। यही तथ्य बुझेर नेवारहरुले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवा लगायतका पकवान खाने चलन रहेको प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउँछन्।

नेवार समुदायमा सिथि नखः पर्वको विशेष महत्व रहने गरेको छ। सिथि नखः पर्वसँगै वर्षा ऋतु सुरु हुने भएकाले किसानहरुले सिन्या ज्याः अर्थात् धान रोपाई सुरु गर्छन्। नेवारीमा प्रचलित एउटा भनाई, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात् ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाई सक्नुपर्छ’ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ। यस्तो अवसरमा किसानहरुलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा.डा. श्रेष्ठको कथन छ।

सिथि नखःले पानीका मुहान सधैं सफा राख्नु पर्दछ भन्ने सन्देश पनि दिएको छ। त्यसैले सिथि नखःको दिन नेवार समुदायले पानीको मुहान तथा स्रोतहरु इनार, ढुंगेधारालगायत पानीमा स्रोतको सरसफाई समेत गर्दछन्। विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दुषित हुने भएकाले यसलाई सफा गरिनु पर्दछ भन्ने सन्देश समेत दिने गरेको संस्कृतिकर्मी श्रेष्ठ बताउँछन्। त्यसैले नेवार समुदायले सिथि नखःको दिन पानीको मुहान सफा गर्ने प्रचलन समेत रहेको छ। 

सिथि नखःको दिनमा शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपीठहरुको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास समेत रहेको पाइन्छ।

पौराणिक र स्थानीय लोककथनअनुसार परापूर्वकालमा काठमाडौं जैशीदेवलको दोबाटोमा एक बालक रोइरहेको देखेपछि बालबच्चा कोही नभएका एकजनाले ती बालकलाई घरमा लिएर गए। ती व्यक्तिले मास र मुगीको बारा बनाएर बालकलाई खुवाए। ती बालक अति प्रसन्न भई आफ्नो स्वरुपको दर्शन दिए। ती बालक कुमार कार्तिकेय भएको र उनी सिद्ध भई अन्तरध्यान भए। सोही दिनदेखि जेष्ठ शुक्ल षष्ठीको दिनलाई कुमार षष्ठीको रुपमा सिथि नखः मनाउँदै आएको जानकारहरुको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.