|

  • मणिलाल विश्वकर्मा

लहान : सिरहाका स्थानीय तहमा मधेसी मोर्चाको अवरोधका बीच काम सुचारु भएको छ। मोर्चाले लगाएको ताला स्थानीय प्रशासन खोलेपछि दैनिक कामकाज सुचारु भएको हो। यद्यपी नगरपालिकालाई गाउँपालिकामा घटुवा गरिएको भन्दै आन्दोलित सुखीपुरमा भने अझै अवरोध जारी छ।

सिरहाको धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा, लहान र कल्याणपुर नगरपालिका कार्यालयसहित केही गाउँपालिका कार्यालयहरुमा मोर्चाका कार्याकर्ताहरुले चैतको पहिलो साता लगाएको ताला स्थानीय प्रशासनको पहलमा खोलिएको छ। मोर्चाले पनि अवरोधमा नरम नीति अपनाएको छ। ‘जनाताको दैनिक कामसँग जोडिएका सवाल भएकाले अवरोधका लागि त्यति धेरै जोडबल गरेका छैनौँ,’ मोर्चाका एक जिल्ला नेता भन्छन्।

जिल्ला समन्वय समिति सिरहाका प्रमुख, स्थानीय विकास अधिकारी सुरेशकुमार राउतका अनुसार सिरहाको बरियारपट्टी र नवराजपुर गाउँपालिका बाहेक अन्य नौ गाउँपालिकामा कार्यकारी अधिकृत हाजिर भइसकेका छन्। 

सुखीपुर २१ दिनदेखि बन्द 

करिब १८ महिनादेखि नगरपालिकाको रुपमा काम गर्दै आएको सुखीपुरलाई स्थानीय तहको पुनःसंरचनामा गाउँपालिका बनाइएको विरोधमा गत फागुन २८ गते नगरपालिकाको मूलगेटमा लगाइएको ताला अझै खुलेको छैन। पछिल्लो २१ दिनदेखि तालाबन्दीसहित चरणबद्ध आन्दोलन गरिरहेको ‘सुखीपुर नगरपालिका बचाउ संघर्ष समिति’ले नगरपालिका कायम नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ।

स्थानीय विकास अधिकारी राउतले नगरपालिका कायम गराउन मन्त्रिपरिषदमा लेखेर पठाइए पनि बैठक बस्न नसकेकाले निर्णय हुन बिलम्ब भएको जानकारी आएको बताए। वि.सं. २०७२ साल आश्विन १ गते सरकारले तत्कालीन सुखीपुर गा.वि.स.मा छिमेकी मोहनपुर, कमलपुर, कविलासी, विद्यानगर, लर्कनहा, बलही र सिलोर्वा पछवाडीलाई गाभेर सुखीपुर नगरपालिका बनाइको थियो। नयाँ संरचनामा सुखीपुरलाई गाउँपालिकामा झारिएपछि आन्दोलन चर्किएको हो।

सप्तरीमा खुल्दै, बन्द हुँदै

८ नगरपालिका र ९ गाउँपालिका कायम गरिएको सप्तरीमा मधेसी मोर्चाको अवरोध र तालाबन्दीका कारण स्थानीय तह खुल्ने, बन्द हुने क्रम चलिरहेको छ। सदरमुकाम राजविराजमा रहेका जिल्ला समन्वय समिति र राजविराज नगरपालिकामा मोर्चाले चैत ३ गते गरेको तालाबन्दी बिहीबार स्थानीय प्रशासनले खोलेको थियाे, तर मोर्चाका कार्यकर्ताले फेरि ताला लगाएका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले तालाबन्दीका बाबजुद पनि कार्यालय प्रमुख र कर्मचारीको समन्वयमा सेवाग्राहीको दैनिक काम सम्भव भएसम्म नरोकिएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.