|

काठमाडौं : रेडियो नेपालले सातवटै प्रदेशमा आधुनिक सुविधासहितको प्रशारण केन्द्र स्थापना गरी प्रादेशिक प्रशारण सेवा सुरु गर्ने तयारी गरेको छ।

६७ औं वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर रेडियो नेपालले सबै प्रदेशमा पनि प्रादेशिक प्रशारण सेवा सुरु गर्ने कार्ययोजना बनाएको हो। आइतबार आयोजना हुने वार्षिक उत्सव कार्यक्रमबारे जानकारी दिँदै रेडियो नेपालका प्रवक्ता बुद्धिबहादुर केसीले रेडियो संग्रहालय निर्माणका लागि सम्भाव्यता अध्ययनको काम पनि अघि बढाउने गरी कार्ययोजना तय गरिएको जानकारी दिए।

शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आम सञ्चार नीति २०७३ मा उल्लेख भए अनुसार रेडियो नेपालबाट उत्पादित जनहितका लागि तयार पारिएका समाचार तथा कार्यक्रमहरु निजी क्षेत्रका एफएमहरुलाई निशुल्क उपलब्ध गराउने पनि स्पष्ट पारे। रेडियो नेपालले प्राकृतिक प्रकोपको बेला आपतकालिन प्रशारण सेवा संचालन गर्नेगरी उपकरणको व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाएको छ।

रेडियो नेपाल मुलुककै जेठो रेडियो प्रशारण संस्था हो। यसले हाल नेपालबाट २१ भाषामा समाचार र १८ भाषामा कार्यक्रम प्रशारण गर्दै आएको छ। रेडियो नेपालले मुलुकको समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी प्रशारण माध्यामको रुपमा क्रियाशील हुँदै आएको दावी पनि गरेको छ। पत्रकार सम्मेलनमा आइतबार रेडियो नेपालको आफ्नै प्राङगणमा आयोजना हुने ६७ औं वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन पनि संचारकर्मीहरुसँग आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.