|

मादकतायुक्त वैँशको सिमसारमा पल्लवित जीवनको फोहोरा हमेसा अनन्ततर्फको यात्रामा सोझिइरहन्थ्यो। वरपरको जीवन सधैँ सुख्खा, केही न केही रिक्तताको अंश हातको माझी औँलामा समातेर  सकुशल हिँड्ने प्रयत्नमा लागिरहेका देखिन्थे। केही अपुग, केही छुटेको, खट्केको विषयलाई ओझेलमा पारेर वाह्य परिवेशमा उडिरहेका स्वप्नील जीवात्माहरूको कामक्रीडा नीलो चलचित्रको गुरुत्वाकर्षणभन्दा गहिरो तर बेग्लै किसिमको थियो।

सिमसारबासी ऊ अरूभन्दा पृथक् थियो संख्यात्मक रूपमा। नितान्त एक्लो थियो स्वभावको कुरामा। मन बहलाउने एउटा गुरुमन्त्र विना भेटी सधैँ आफ्नो अन्तस्करणको अन्तरतम बिन्दुमा लुकाएर राख्यो र आनन्दको पोखरीमा जीवनभर डब्का मारिरह्यो। आफूलाई थाहा हुनु र सबैलाई थाहा हुनुमा असल किसिमले फरक बुझेको ऊ, समुद्रतर्फ जाने बाटो थाहा पाएर पनि पोखरीमा रमाइरहेको थियो। हरेक वर्ष वर्षा आउँथ्यो र संवाद घट्दथ्यो फेरि अर्को वर्ष भेट्ने वाचासहित बिदाको गीत गाउँदै अर्को एक लामो वर्ष बिताउँथ्यो।

पोखरीमा मन बहलाउने डिलमा मौलाइरहेका वृक्षहरू थिए। काखमा साउती मार्ने माछाहरू थिए। केही पहेँला, केही सुकेका पातहरू थिए- बुइ चढेर छालहरूमा यताउति गरिरहेका। माथि आकाशमा उडिरहेका पंक्षीहरूको छाया थियो। त्योभन्दा पारि परको बादलको अमूर्त चित्रकला बुझेझैँ लाग्थ्यो। काखमा हुने सबै कुरा आफ्ना जस्ता लाग्छन्। प्रिय मानेर पुरोहितको सल्लाहमा लाएको हातको औंठी पनि आफ्नो नहुने रहेछ, सम्झेर आफैँसित हाँसो उठ्यो।

शाक्यसँग कसरी गौतम बुद्धको कुरा जोडेका थिए र पनि शाक्य महोदय बीसको उन्नाइस भएनन् अनि मलिलो स्वरूपमा पत्थरसहितको औंठी लगाएका थिए। त्यो पनि आउन सकेन साथमा। जोडेको सम्पत्ति, मानेको सम्पन्नता, बचाएको इमान, टल्केको इमानदारी, जहिले पनि अनुशासित र समयको ख्याल गर्ने व्यक्तिको व्याक्तित्व छुट्ने बेलामा पनि निर्धारित समयमै हाजिर भएको दृश्य।

जीवनपछिको जीवनको रागमाला शब्दहरूमा अटाउन सक्दैन।

सधैँ नीलो आकाशमा सेतो बादल हेर्ने आँखा त्यस्तो ठाउँमा पुगे, जहाँ न बादल थियो, न आकाश, न काया थियो, न छाया। केवल साउती सरसराइरहेको थियो। शृंखला ओढेर पर्खिबसेका परिचित लाग्ने पर्वतमालामा बसेर चैनको बाँसुरी धुन सुनिरहेका थिए। बजाउने कोही नभए पनि बजिरहेको थियो, बाँसुरी धून, सायद बतास हो बजाउने वा आफैँ बजिरहेको वनबाँस हो, अनहद ध्वनि फुसफुसाइरहेको थियो।

शेषताका सम्झनामा धेरै आकृति थिए। साथमा आउनलाई लालायित भावका तरंगहरू, सिमभञ्ज्याङमा सुसाइरहेको बाक्लो कुहिरोसरि नजिक आउन खोज्दा अलप भएका थिए। सत्यको बिस्तारित कार्पेटमा सम्झना निकै पातलो द्रव्य रहेछ। इलामेली रङ कडा चियाको अम्मली अर्दलीसँग साथमा लिनका लागि गबुले थिएन, बाक्लो कुराउनी परेको दूध थिएन, थियो त केवल कडा गन्ध थियो, कित्लीबाट भत्भताइरहेको चियाको बाफ थियो। भिजेको जुरापको बल, मयुर प्वाँखले बनेको पंखा थियो, आमाले बुनिदिएको मफलर थियो, कानमा झुन्डिएका ऊनीका झुलुङ्गाहरू बिस्तारै हल्लिरहेका थिए।

साथमा जे थियो भनियो, त्यो होइन रहेछ। अनुभूतिमा जे बीज थियो, त्यसैको फल लिएर जीवनपछिको जीवन-यात्रामा लागिरहेका मान्छेहरूको गीत बडो कारुणिक छ। मान्छेहरूले ग्यारेन्टीको माग अत्यधिक रूपमा गर्न थालेपछि अचेल सामानहरू आजीवन ग्यारेन्टीसहित बजारमा पाइन थालेका छन्।

ठूलो कुवामा लगाइएको घिर्नीको काइँकुइँ आवाज साथमा बाँकी थियो। केराको गुदी थियो, त्यसका पातला रेसाहरूमा जीवनका बाक्ला लामा सम्झना छुटेका थिए, जसलाई साथमा बोकेर जीवनपछिको जीवनसम्म ल्याउन सकिएन। थकथकी धेरै मानेमा थियो। भएका आफ्नाहरू, मानेका आफ्नाहरू, कहिल्यै नभेटिएका तर, शुभेच्छा पठाउने शुभचिन्तकहरू सबैको सक्कली अनुहार बोधीदर्पणमा सपाट देखिएको थियो। परिवारको सुगन्ध र दुर्गन्ध सहजै छुट्याउन सकिन्थ्यो। साथमा रहेर साथी बनेकाहरूको अजम्बरी मित्रताभित्रको सन्दुकलाई अन्त्यहीन अन्त्यको साँचोले खोलिदिएको थियो। मुग्लानबाट गाउँ झरेको रिकुटेको बाकस अचानक उघ्रिएसरि छरपष्ट पोखिएका थिए, विश्वासका सामग्रीहरू, जसको जतन जीवनभर गरियो, आखिर ती सबै व्यर्थका फूल रहेछन्।

भनिने घरमा राखिएका महत्त्वपूर्ण सामग्रीहरूमा गतिलो गाता, साँचो लगाइएको थियो। विद्या आर्जनका प्रमाणपत्रहरू, जग्गाको लालपुर्जा, जन्मतिथि पात्रो, उधारो खातावली, अतिरिक्त चाबी, नागरिक भएको प्रमाणपत्र, निर्वाचनमा भाग लिन सक्ने हैसियत भएको प्रमाण, सवारी साधन चलाउन सक्ने भनी दिएको बक्सिस, कैयौँ अन्य महत्त्वका कागजातहरू एकै थानमा राखिएका थिए। ती सबै त्यहीँ छुटे, बैंकले दिएका गोप्य कागजात, साथीभाइ, परिवार माझ खोल्न नसकिने व्यावसायिक साझेदारका दुरुस्त फाइलहरू ल्याउन चाहना आखिरीमा नचाहिने भयो।

लाग्यो, सबै खोल ओढेका द्रव्य-पिशाच हुन्।

पृथ्वीमा अवतरण गरेको पहिलो रातको सम्झना, आँखा खोलेको पहिलो दिनको तिर्सना, आवाज फुटेको पहिलो वाक्य, हिँड्न सिकेको भुइँ, अभ्यास कपीमा लेखेको पहिलो अक्षर, कक्षामा प्रथम स्थान प्राप्त गरेवापत प्राप्त पुरस्कारको ओज, उमेर उड्दै जाँदा पलाएको पहिलो प्रेमको पहिलो स्वस्थ चुम्बन्। तोरीबारी, आलुबारी, मकैबारी, धानबारी, गहुँबारीको सुवास, आँप, कटहर, सिमलका रूखमुनि छुटेको विश्रान्ति, जिउँदा गँड्यौला मरेर कसरी जिउँदा माछाको सिकार गर्दा रहेछन् भन्ने आत्ममिलनको संस्करण धेरै–धेरै हंसमा विभक्त भएर उडिरहेका छन्।

साथमा जे थियो भनियो, त्यो होइन रहेछ। अनुभूतिमा जे बीज थियो, त्यसैको फल लिएर जीवनपछिको जीवन-यात्रामा लागिरहेका मान्छेहरूको गीत बडो कारुणिक छ। मान्छेहरूले ग्यारेन्टीको माग अत्यधिक रूपमा गर्न थालेपछि अचेल सामानहरू आजीवन ग्यारेन्टीसहित बजारमा पाइन थालेका छन्। कम्तीमा एक सयदेखि दुई सय वर्षसम्मका ग्यारेन्टी कार्डहरू मान्छेका हातमा देखिन थालेका छन्। अब उनीहरू ढुक्कले सुत्न सक्छन् रे! सन्देहको अजंगको रूख उनीहरूको निद्रामा बढेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.