|

अर्घाखाँची : नेपाल शिक्षक महासंघको आयोजनामा अर्घाखाँचीका ६ स्थानीय तहलगायत देशभरका ७५३ स्थानीय तहमा शिक्षकले ३ घण्टा धर्ना दिएका छन्।  जिल्लाको सन्धिखर्क, शीतगंगा र भूमिकास्थान नगरपालिका र मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकामा  बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिएका हुन्।

कोरोना माहामारीका बेला शिक्षक र विद्यार्थीहरूलाई स्कुल सञ्‍चालन हुनुभन्दा अगाडि कोभिडविरुद्दको खोप लगाउनुपर्ने, राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, बालविकास शिक्षिकाहरुको पारिश्रमिक उचित व्‍यवस्थापन हुनुपर्ने, विद्यालय कर्मचारीहरूको समस्या सुनुवाइ हुनुपर्ने जस्ता ३४ सूत्रीय माग राखेका छन्। शिक्षक महासंघको आयोजनामा शुक्रबार ३ घण्टा देशभरका सबै स्थानियतहमा धर्ना दिएको हो।

आन्दोलनरत शिक्षकहरुले हाम्रो माग पूरा गर, संघीय शिक्षा ऐन जारी गर जस्ता प्लेकार्ड छातीमा टाँसेर सभ्य र शान्तिपूर्ण रूपमा धर्ना दिएका हुन्। विभिन्न पेसागत संघसंगठनहरूले पनि आन्दोलनलाई ऐक्यबद्धता जनाएका थिए।

गत वर्ष नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको ४० बुँदे सम्‍झौता कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ। २०७८/०७९ को बजेटमा बालविकास शिक्षिका र सहयोगीलाई मासिक १५ हजार पारिश्रमिक दिने घोषणा भए पनि स्थानियतहले पैसा नभएको भन्दै कार्यान्वयन गर्न आनाकानी गरेको नेपाल शिक्षक महाँसघ शितगंगा परिचालन समितिका सदस्य धर्मराज खनालले बताए।

संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा बालविकासका शिक्षक र सहयोगीको मासिक तलब १५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका थिए। तर, तलबमा थप्नुपर्ने रकम नगरपालिका र गाउँपालिकाले बजेटमा विनियोजन नगरेपछि नेपाल शिक्षक महासंघ आन्दोलित भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.