|

काठमाडाैं : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले जिल्लामै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागि गतसाता बाट यो बडापत्र सञ्चालनमा ल्याइएको हो। 

सो डिजिटल बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पुर्ण जानकारी सजिलै प्राप्त गर्नेछन्। आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसको लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पुर्ण जानकारी थाहा पाउन सकिन्छ। सो काम गर्न जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज दंगालले बताए।

बडापत्रमा गाउँपालिकाका सम्पूर्ण जानकारीसमेत हेर्न सकिन्छ। गाउँपालिकाका कुनै शाखाले दिने सेवासम्बन्धी जानकारी लिनसमेत सोही बडापत्रको प्रयोग गर्न सकिनेछ।

‘कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामबारे जानकारी लिन कसैलाई सोध्नुनपर्ने गरी यो डिजिटल बडापत्र तयार गरिएको छ।’ सूचना प्रविधि अधिकृत दंगालले भने, ‘गाउँपालिकाबाट प्रदान हुने हरेक सेवाबारे विस्तृतमा जानकारी राखिएको छ।’

यो डिजिटल बडापत्र अपांगमैत्रीसमेत रहेको उनले बताए। यो बडापत्रको डिजिटल बोर्डमा आफूले चाहेको सेवामा थिचेपछि अडियो र भिडियो सन्देशमार्फत जानकारीहरु प्राप्त हुन्छ। हेरेर र सुनेर जानकारी लिन सकिने हुनाले दृष्टि तथा श्रवणमा समस्या भएका सेवाग्राहीले समेत यसको प्रयोग गर्न सक्ने उनले बताए। अधिकृत दंगालका अनुसार यो सेवा सिन्धुपाल्चोक जिल्लामै पहिलो हो।

गाउँपालिकामा आउने सेवाग्राहीले सेवा लिन आउँदा प्रकृया बुझ्नै लामो समय लाग्न थालेपछि यस्तो सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले बताए।

यो सेवासँगै छिट्टै टोकन सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको छ। ‘हामी सकेसम्म सेवाग्राहीलाई बिना झनझट सजिलै र छिट्टै सेवा कसरी दिन सकिन्छ भनेर सोचिरहेका छौं।’ गाउँपालिका अध्यक्ष तामाङले भन्नुभयो, ‘त्यसकै लागि हामीले स्मार्ट हेल्प डेस्क नाम दिएर यो सेवा सञ्चालन गरेका हौं।’ सेवाग्राहीले सजिलै बुझ्ने गरी सबै जानकारी पाउन सकिने गरी स्मार्ट सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष तामाङले बताए। 

सो डिजिटल नागरिक बडापत्रमा गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरुको विवरणका साथै विभिन्न विषयगत शाखाबाट प्रदान हुने सबै सेवाको जानकारीसमेत समेटिएको छ। बडापत्र गाउँपालिकाको सूचनापाटीको रूपमा समेत प्रयोग हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.