|

सिरहा : सिरहाको ठाडीमा रहेको ठाडी भन्सार कार्यालयले लक्ष्यभन्दा करिब ३ करोड रुपैयाँ बढी राजस्व असुली गरेको छ।

कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा दिइएको लक्ष्यभन्दा दुई करोड ८९ लाख ९२ हजार रुपैयाँ बढी राजस्व असुली गरेको हो। ६ करोड ५६ लाख २० हजार रुपैयाँ लक्ष्य रहेको कार्यालयले नौ करोड ४६ लाख १२ हजार रुपैयाँ असुली गरेको छ। जेठ र असार महिनामा लक्ष्यअनुसार राजश्व असुली गर्न नसके पनि वर्ष दिनको लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व असुली भएको कार्यालय प्रमुख नरेश साहले बताए।

लहान–ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका–२ नरहामा सडक निर्माण कार्यले गर्दा सवारी साधन आवतजावत सहज नहुँदा पनि लक्ष्यभन्दा बढी राजस्व असुली भएको साहले बताए। कार्यालयले धान, गहुँ, फलफूल, ताजा तरकारी र टायल्सवाट राजस्व असुली गरेको भन्दै कार्यालय प्रमुख साहले फाटफुट रुपमा दैनिक उपभोग्य, लत्ताकपडा र स्पेयर पार्टसवाट पनि राजस्व असुली भएको बताए।

कार्यालय अनुसार साउनमा ९५ लाख ६ हजार, भदौमा १ करोड २३ लाख ८० हजार, असोजमा ८७ लाख ८० हजार र कार्तिकमा ५३ लाख ५९ हजार, रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै, मंसिरमा ६० लाख ५२ हजार, पुसमा १ करोड १४ लाख ९२ हजार, माघमा ८१ लाख ७८ हजार, फागुनमा १ करोड २ लाख ४७ हजार, चैतमा १ करोड २ लाख १९ हजार, वैशाखमा ९१ लाख ८० हजार, जेठमा २३ लाख ६५ हजार र असारमा ८ लाख ५४ हजार राजस्व असुली गरिएको छ।

आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले लक्ष्यभन्दा करिब ३ करोड रुपैयाँ बढी राजस्व असुली गरेको थियो। ४ करोड ७९ लाख १४ हजार लक्ष्य रहेकोमा ७ करोड ६४ लाख १५ हजार राजश्व असुली भएको प्रमुख साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.