|

लहान : सप्तरी जिल्ला सदरमुकामसमेत रहेको राजविराज नगरपालिका ४ र ५ गरी दुई ठाउँमा सर्वसाधारणको घरअगाडि मंगलबार बिहान भेटिएको सामान्य खालको सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेको छ। राजविराज ४ स्थित कल्टु दास पोखरीनजिक स्थानीय विनोद चौधरी (दास) को घर र  राजविराज ५ हिमालय टोलमा इँटा व्यवसायी रवीन्द्र यादवको घरअगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम भेटिएको हो।  

राजविराजस्थित कृष्ण दल गणबाट गएको डिस्पोजल टोलीले बिहान सवा ११ बजेतिर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख अनुराग द्विबेदीले जानकारी दिए। चौधरी राजविराजमा विद्युतीय ब्याट्रीको कारोबार गर्दै आएका व्यापारी हुन्। नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान सप्तरी प्रवेश गर्ने दिन पछिल्लो फागुन २३ गते पनि सप्तरीको रायपुर १ र ४ मा पनि बमको आवरणमा शंकास्पद वस्तु भेटिएपछि सेनाले डिस्पोज गरेको थियो। बम भेटिएको स्थानमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चासमेत भेटिएकाले बम उसैले राखेको हुन सक्ने आशंका गरिएको छ।

अवस्था सामान्य छ : प्रजिअ

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बमजस्तो वस्तु देखाएर सर्वसाधारणलाई आतंकित बनाउन मात्र त्यसो गरिएको हुन सक्ने बताए। ‘जिल्लाको सुरक्षा व्यवस्था सामान्य छ, नजिकिँदो स्थानीय निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थाको सावलमा अत्यन्त सजग छौं’ प्रजिअ कटुवालले भने, ‘जनता आतंकित बनाउने गरी कसैले पनि कुनै काम नगरौं।’

गोइतको धम्की

स्वतन्त्र तराईका लागि सशस्त्र संघर्षमा रहेका जयकृष्ण गोइत अध्यक्ष रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले आगामी वैशाख ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई विथोल्ने धम्की दिएको पाँच दिनपछि शंकास्पद वस्तु भेटिएको हो। मोर्चाले चैत १६ र १७ गतेसम्म केन्द्रीय समितिको बैठकपछि स्थानीय तहको निर्वाचन बिथोल्न र बहिष्कार गर्न तराईका मूल निवासीहरुलाई अपील गरेको भन्दै गोइतको हवाला दिएर स्थानीय केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.