|

वैदिक धर्ममा उल्लेख आत्मज्ञान गर्ने मार्गको अनुसरण वा पालना गर्न नसक्नेहरूका लागि ‘भक्ति मार्ग’को बाटो बताइएको छ। भक्ति मार्गअन्तर्गत लीलापुरुषको गुणकीर्तन गर्ने र उनीहरूमा भएका उत्तम गुणहरू आफूमा विकसित गराउने प्रयास गरिन्छ। यस्तै लीलापुरुषको आराधना वा गुणकीर्तन गर्ने पर्व हो, रामनवमी। यो दिन शारीरिक वा मानसिक रूपमा शुद्ध भई रामको आराधना गर्ने विधान पुराणमा उल्लेख छ। रामको जन्मदिनलाई उत्सवकै रूपमा मनाउने परम्परा छ। रामको जन्मभूमि अयोध्या र ससुराली जनकपुर क्षेत्रमा उत्सव चल्छ। नेपाल र भारतमा रहेका राममन्दिरमा उनका गुणकीर्तन गरिन्छ।

लोकमा अन्याय–अत्याचार बढ्दा भगवानले अवतार लिई दुष्टको संहार गरेको र सज्जनको रक्षा गरेका सन्दर्भ पुराणमा आउँछ। लोकका पालनकर्ता भगवान् विष्णुका आठौं अवतारसम्मका लीलावर्णन श्रीमद्भागवतमा पनि छ। लोकमा रावणलगायतका राक्षस प्रवृत्ति भएकाको अत्याचार बढेपछि त्रेता युगमा भगवान् विष्णुले सातौं अवतार लिएका थिए। भारतवर्षको अयोध्या राज्यका राजा दशरथका र रानी कौशल्याका पुत्रको रूपमा जन्म लिएका थिए, रामले। कैकेयीपुत्र भरत एवं सुमित्रापुत्र लक्ष्मण र शत्रुघ्न पनि भगवानकै अंशावतारका रूपमा जन्म लिएका हुन्। पौराणिक ग्रन्थका अनुसार चैत्र महिनाको शुक्ल पक्ष नवमी, पुनर्वसु नक्षत्रमा भगवान् रामकाे जन्म भएकाे हाे। रामको जन्म भएकाले यस तिथिलाई उनको गुणस्मृति गर्ने पर्वका रूपमा लिइएको हो।

धर्तीमा बढिरहेको दुष्टहरूको अत्याचारका कारण विष्णुले जन्म लिएको गुरु विश्वामित्रलाई थाहा नहुने कुरा भएन। भर्खर व्रतबन्ध सम्पन्न भएका रामसहित चारै भाइलाई माग्न आउँदा दशरथ शोक गर्न थाले। यसबेला विश्वामित्रले दशरथलाई सम्झाएको सन्दर्भलाई आदिकवि भानुभक्त आचार्यले रामायणमा यसरी प्रस्तुत गरेका छन्, हे राजन् तिमि रामलाइ अहिले हुन् पुत्र मेरा भनी\भन्छौ पुत्र त हुन् तथापि इ त हुन् चौधै भुवनका धनी\भूभार् हर्ननिमित्त आज भगवान् यस् पृथ्विलोकमा झर्‍या\कौशल्यातिर जन्मनू पनि थियो सो सत्य अ‍ैह्ले गर्या (रामायण बालकाण्ड)।

वनजंगलमा बसेर सामान्य जीवनयापन गर्ने ऋषिमहर्षिका कार्यमा दुष्ट प्रवृत्ति भएकाहरू बिघ्न पार्थे। लोककल्याणकारी भावनाले गरेका यज्ञयज्ञादिमा बाधा पारी भाग्थे। रामको आगमनपछि यस्ता दुष्टहरूले सजाय पाए। ऋषिहरूले निश्चिन्त भएर विद्याअध्ययन–अध्यापन र यज्ञादि कार्य गर्न पाए। गुरुकुलमै रहेर रामका चार भाइले शिक्षा लिए। विद्याआर्जन गरी गुरु विश्वामित्रका साथ जनकपुर गए।

आफ्नी पत्नीको रक्षा गर्न नसक्ने पनि भगवान्! भगवान् भएर पनि रामले सीताको हरण कसले गर्यो भन्ने किन थाहा पाउन सकेनन्? रावणको राज्य लंका पत्ता लगाउन नसकेर किन धुइँधुइँ खोज्नुपर्याे ? रावणसामु पुग्न किन बाँदरहरूको सहयोग खाँचो पर्यो? रावणलाई मार्ने सूत्र किन भाइ विभीषणले बताउनुपर्यो? देवता भएर पनि रामले किन पतिव्रता पत्नी त्यागे? यस्ता प्रश्नहरू सनातन समाजमा उठ्ने गर्छन्।

राजा जनकले ठूलो उत्सव आयोजना गरी सीताको स्वयम्वर गर्न लागेका थिए। रामले ठूला वीरले नसकेको विशाल शिवधनु उचालिदिए। उनको पराक्रमबाट प्रभावित भएर सीताले वरमाला पहिर्‍याइन्। अरू तीन भाइलाई पनि जनककै कुलकी कन्या दिइयो। पितृआज्ञा पूरा गर्न उनले अयोध्याको गद्दीसमेत त्यागे। पितृआज्ञाको उल्लङ्घन गर्नुभन्दा १४ वर्षको वनबास नै प्यारो ठाने। बाबुआमाप्रति गर्नुपर्ने कर्तव्यको ठूलो उदाहरण दिए, रामचन्द्रले।

रामले आफ्नो कर्तव्य पूरा गरेकाले नै सीताले पनि पत्नीधर्मको पालना गरिन्। भाइ लक्ष्मणले पनि दरबारको सुख छोडी दाइलाई साथ दिए। आफूलाई राजा बनाउन माता कैकेयीले गरेको प्रपञ्चबाट मुक्त भाइ भरतले कर्तव्यको पालना गरे। पाएको गद्दी पनि रामको प्रतिनिधि मात्र भई बसे। राम चौध वर्ष वनवास बस्दा पनि भरतमा राजा हुने लालसा पलाएन।

वनमा रहँदा रावणले सीताको हरण गर्यो। रावणको लंकासम्म पुग्न धेरै कष्ट खेप्नुपर्‍यो। सुग्रीव र दूत हनुमानको सहयोगबाट राम लंकासम्म पुग्न सके। सीताहरण नगरेको भए लडाइँको आवश्यक्ता पर्दैनथ्यो होला। रावण किन त्यसो गर्थ्यो! देवताबाट मर्न नसक्ने वरदान पाएका कारण नै मानिसको रूपमा जन्म लिनुपरेको थियो, रामलाई। रावण जस्ता विद्वान् र वीरलाई मार्नु चानचुने कुरा थिएन। घनघोर लडाइँ भयो। सत्यको जीत भयो। रावणको अन्त्य भयो। लंका जस्तो वैभवशाली राज्यको राजा भई बस्न पनि सक्थे तर रामले त्यसो गरेनन्। रावणका भाइ विभीषणलाई लंका सुम्पी जन्मभूमि फर्के। सुखसुविधा पाए पनि जन्म दिने आमा र जन्मभूमिभन्दा ठूलो केही हुन सक्दैन भन्ने ठूलो सन्देश दिए।

आफ्नी पत्नीको रक्षा गर्न नसक्ने पनि भगवान्! भगवान् भएर पनि रामले सीताको हरण कसले गर्‍यो भन्ने किन थाहा पाउन सकेनन्? रावणको राज्य लंका पत्ता लगाउन नसकेर किन धुइँधुइँ खोज्नुपर्‍यो? रावणसामु पुग्न किन बाँदरहरूको सहयोग खाँचो पर्‍यो? रावणलाई मार्ने सूत्र किन भाइ विभीषणले बताउनुपर्‍यो? देवता भएर पनि रामले किन पतिव्रता पत्नी त्यागे? यस्ता प्रश्नहरू सनातन समाजमा उठ्ने गर्छन्।

श्रीमद्भागवतको नवम स्कन्ध एघारौं अध्यायको २० औं श्लोकमा भनिएको छ, देवताहरूको प्रार्थनाले उनीहरूको काम सिद्ध गर्नमात्र लीलाले विष्णुले मानव शरीर धारण गरेका हुन्। अर्थात् निश्चित उद्देश्य पूरा गर्न र लोकलाई मार्गदर्शन गर्न भगवान्ले मानव रूपमा जन्म लिएका हुन्। आदिकवि भानुभक्त आचार्यको रामायण बालकाण्डमा यही आशयको एउटा पद्य छ, राम् हुन् परात्मा न त हुन् विकारी\एस् लोकमा यो नररूप धारी\काम् गर्न लाग्या त नरैशरीर्का\लीला अपार् छन् भगवान् हरीका।

विष्णु जस्ता त्रिलोकका स्वामीले अयोध्याको राज्यको कामना गर्नुपर्ने वा राज्य नपाएर लुरुलुरु वनवास जानुपर्ने थियो र! दुष्टले छक्याएको चाल नपाई लहलहैमा सुनको मृगपछि दौडिएर पत्नी गुमाउनुपर्ने थियो र! त्रिकालदर्शी भगवानलार्इ रावणको राज्य पत्ता लगाउन भौंतारिहनुपर्ने वा उनीसामु पुग्न बाँदरहरूको सहयोग लिइरहनुपर्ने थियो र!

श्रीमद्भागवतको नवम स्कन्ध एघारौं अध्यायको २०औं श्लोकमा भनिएको छ, देवताहरूको प्रार्थनाले उनीहरूको काम सिद्ध गर्न मात्र लीलाले विष्णुले मानव शरीर धारण गरेका हुन्। अर्थात् निश्चित उद्देश्य पूरा गर्न र लोकलाई मार्गदर्शन गर्न भगवानले मानव रूपमा जन्म लिएका हुन्। आदिकवि भानुभक्त आचार्यको रामायण बालकाण्डमा यही आशयको एउटा पद्य छ, 'राम् हुन् परात्मा न त हुन् विकारी\एस् लोकमा यो नररूप धारी\काम् गर्न लाग्या त नरैशरीर्का\लीला अपार् छन् भगवान् हरीका। (भानुभक्तकृत भाषा-रामायण)

‘रामराज्य’, लोककल्याणकारी राज्यको उदाहरण दिनुपर्यो भने सबैले लिने नाम। श्रीमद्भागवत् लगायतका पुराण वा रामायणलाई आधार मान्ने हो भने रामराज्यमा लोकलाई कुनै किसिमका कष्ट थिएन। नागरिक सबै सुविधाबाट सम्पन्न थिए। असुरक्षित कोही थिएन। प्रशासनयन्त्र जनअपेक्षाअनुसार चलेको थियो। शासन गर्ने व्यक्ति धर्म (कर्तव्य) पालक भयो भने त्यसअन्तर्गत निकाय छाडा हुन सक्दैन भन्ने उदाहरण हाे, रामराज्य।

धर्मपूर्वक चलेका हुनाले अन्य जीवजन्तु र प्रकृतिसमेत मानवमैत्री थिए। जब मानिसले आफ्नो कर्तव्य छोड्छ, अन्य जीवजन्तु र प्रकृतिप्रति दुर्व्यवहार गर्छ, तब नै उनीहरू प्रतिकूल हुने हुन्। राम राजा भएको बेलाको रोमाञ्चक वर्णन भागवतमा छ। 'त्रेतायां वर्तमानायां कालः कृतसमोऽभवत्। रामे राजनि धर्मज्ञे सर्वभूतसुखावहे (भागवत९-११\५२)।' अर्थात् राम राजा हुँदा त्रेतायुग भए पनि सत्यगुग नै हो कि भन्ने भान परेको थियो। प्रकृतिका सम्पूर्ण अवयव प्रजाका निम्ति अनुकूल थिए। प्रजालाई मानसिक चिन्ता, शारीरिक रोग, बुढ्याइँ, ग्लानि, दुःख आदि कष्ट थिएन। एक पत्नीव्रत धारण गरेका थिए, रामले।

प्रजाको दुःख कष्टको बारेमा सदा ख्याल गर्थे। आफ्ना नागरिकको पीरमर्का बुझ्ने क्रममा पठाइएका गुप्तचरले ‘सीतालाई रानी बनाएकोमा केही नागरिक रुष्ट भएको’ सन्देश ल्याए।शासकका कारण हामीले दुःख पायौं भन्ने सुन्नुपर्ला भन्नेमा राम सदा चिन्तित थिए। जनताले के चाहन्छन् भन्ने बुझ्न कर्मचारी खटिएका हुन्थे।

कापवादबाट बच्न उनले आफ्नी पत्नी सीतालार्इ त्यागेे। सीतालाई मन नपराएर वा परस्त्रीमा लीन भएका कारण उनले सीतालाई त्यागेका थिएनन्। त्यसो हुँदो हो त रावणको लंकामा कैद बनाइएकी सीतालाई त्यत्रो दुःख गरी ल्याउँदैनथे होला। पत्नीसँग बिछोड हुँदा उनी पनि सुखी थिएनन्।

तर कार्यसिद्धि भइसकेका कारण मानवचोलाबाट मुक्त पनि हुनु थियो। लक्ष्मीकी अवतार सीताले लव-कुश नामका दुई छोरालाई जन्म दिइन्। उनीहरूलाई सुसंस्कृत बनाइन्। अन्त्यमा धर्तीमै लीन भइन्। राम पनि पुत्र र प्रजाप्रति गर्नुपर्ने कर्तव्य पूरा गरी मानव चोलाबाट मुक्त भए।

रामले मानवजातिलाई कर्तव्यको महत्त्व सिकाए। जुनसुकै भूमिकामा रहँदा पनि आफ्नो धर्म छोड्नुहुँदैन भन्ने शिक्षा दिए। मर्यादाबाट च्यूत नभएकाले उनी 'मर्यादापुरुष'का रूपमा लोकप्रिय भए। धर्मपालक, प्रजापालक, पितृआज्ञापालक मर्यादापुरुष रामको गुणहरूको स्मरण गर्दै थोरै मात्र भए पनि अनुसरण गर्न यो दिनले प्रेरणा दिएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.