|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा निर्णय भएपछि देश टुंगोमा पुग्ने दावी गरेका छन्।

बुधबार राप्रपा नेपालका केन्द्रीय सदस्य नरबहादुर पाख्रिनसहितका नेतालाई पार्टी प्रवेश गराउँदै उनले बिहीबार व्यवस्थापिका संसदमा हुने अविश्वासको प्रस्तावमाथिको छलफलपछि मात्रै देशले निकास पाउने दावी गरेका हुन्। ‘माओवादीको नेतृत्वमा सरकार बन्ने कुरा अघि बढिरहेको तपाईँहरुलाई थाहै छ, बिहीबारको संसद बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल भएपछि मात्रै देश टुंगोमा पुग्छ’ उनले भने।

नयाँ संविधान कार्यान्वयनका निम्ति सबै दल एक भएर लाग्नुपर्नेमा जोड दिँदै प्रचण्डले संविधान कुनै धर्मशास्त्र नभएको बताए। ‘संविधानका सकारात्मक पक्ष कार्यान्वयन गर्ने, विभिन्न समुदायबाट उठाइएका मागलाई अधिकतम राजनीतिक सहमतिमा संविधान संशोधनमार्फत सम्बोधन गर्न सबै दल एक ठाउँमा उभिन जरुरी छ’, प्रचण्डले भने।  

माओवादीको नेतृत्वमा सरकार बनेमा पार्टीको अगाडि चुनौती र अवसर दुवै रहेको भन्दै उनले नयाँ बन्ने सरकारका अघि तीन वटा चुनौती रहेको औल्याए। नेपाल राष्ट्रलाई एकताबद्ध गर्ने कार्य पहिलो चुनौती रहेको औल्याएका प्रचण्डले भने ‘के पहाड, के मधेस, के हिमाल सबैलाई एकताबद्ध गर्ने जिम्मेवारी पहिलो चुनौतीको रुपमा खडा भएको छ। नयाँ संविधानमा सबैको अपनत्व गराउने काम नयाँ सरकारले गर्छ।’

संविधान कार्यान्वयन प्रक्रिया दोस्रो चुनौती भएको भन्दै उनले गाउँपालिका, नगरपालिका हुँदै प्रदेश र संघको निर्वाचन गर्ने र ७४ माघ ७ सम्म प्रतिनिधि सभाको निर्वाचन गर्ने चुनौती सरकारमाथि रहेको उल्लेख गरे।

उनले भूकम्पपछिको पुनर्निर्माण तेस्रो चुनौती भएको बताए। माओवादीले नयाँ सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको खण्डमा भूकम्पबाट प्रभावितको पुनर्स्थापना र पुनर्निमार्ण तीब्र गतिमा अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.