एउटाले नगरेर अर्कैलाई ठेक्का, म्यादमाथि म्याद थप

|

दाङ : तुलसीपुर-घोराही सडक खण्डअन्तर्गत पर्सेनी नजिकै मंगलबार बिहान तुलसीपुर १० राइखल्यानका ३५ वर्षीय चुडामणि भण्डारी ह्युमपाइप राख्न खनिएको खाडलमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाए।

यो दुर्घटना हुनुको मुख्य कारण नै चार लेन सडक निर्माण गर्ने बेला सडकमा बनाएको खाडलका कारण हो। उक्त ठाउँमा धेरै पटक दुर्घटना भएको स्थानीय तेज बहादुर हमालले बताए। उनका अनुसार उक्त खाडलमा ५/६ पटक सवारी दुर्घटना भएको छ।

तर, धेरै चोट पटक लागेर घाइते भए पनि मंगलबार भण्डारीको मृत्यु भएको पहिलो घटना हो। त्यस्तै पर्सेनीदेखि पूर्वतर्फ ग्वारखोला नजिकै अर्को खाडलमा पनि केही दिन अगाडि एउटा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको हमालले बताए।

‘मेरो घर अगाडि सडकको दुर्दशा यस्तो छ। जहाँ धेरै घटनाहरू भएका छन्। तर, सम्बन्धित निकायले यसतर्फ ध्यान दिन सकेको छैन्। यो सडक को अवस्था यस्तो हुनुमा चारलेन सडक निर्माणको कारण नै हो। करिब २ वर्ष हुन लाग्यो अहिलेसम्म  सडकको अवस्था यस्तो छ।’

दाङको लमही-घोराही-तुलसीपुर सडक चारलेन बनाउने भन्दै २०७६ मंसिर देखि काम शुरु भयो। तर, अहिलेसम्म ६ प्रतिशत पनि काम भएको छैन। समयमा सडक निर्माण नहुदाँ र सडक निर्माणको लागि बनाएको खाल्टाहरूमा सवारी दुर्घटनामा परी केहीको अकालमै ज्यान गएको छ।

घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्ती खौवासम्म करिब २९ किलोमिटर सडक चारलेन बनाउने योजना छ। चारलेन सडक बनाउने भन्दै २ लेनको सडक जीर्ण अवस्थामा पुगेको छ। जसबाट नागरिकहरूले पनि धेरै सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।

एकातिर खोलाहरूमा समयमै पुल नबन्दाको सास्ती र सडकको अवस्थाले धेरै समस्या भोग्दै आएको तुलसीपुर-५ का गणेन्द्र विक्रम केसीले बताए। उनले भने, ‘शुरुमा यो सडक चारलेनको बन्न लागेको थाहा पाउँदा धेरै खुशी लागेको थियो। तर, अहिले करिब २ वर्ष सम्म सडकको अवस्था देख्दा मन साह्रै दुख्छ। काम गर्न नसक्ने भए किन जिम्मा लिनु। यसरी नै सडक लथालिङ्ग बनाएर किन नागरिकलाई सास्ती दिनु।’

आफू व्यापारी भएका कारण दिनमा १० पटकभन्दा बढी यात्रा गर्ने भएकाले सवारी साधन र आफूले धेरै दुःख पाउने गरेको समेत उनले बताए। यो सडकबारे  विभिन्न ठाउँमा  कुरा उठाउँदै आए पनि कतैबाट सुनुवाइ नभएको उनले गुनासो गरे।

त्यस्तै तुलसीपुर ७ बम्नैका सुमन राना मगरको पनि उस्तै पीडा छ। उनको घरदेखि तुलसीपुर बजार करिब ६ किलोमिटर दूरी छ। सडकका कारण १५/२० मिनेट समय लाग्ने उनले बताए। भने,‘ घरदेखि पर्सेनीसम्म आउनको लागि राम्रो सडक छ। तर, पर्सेनीदेखि तुलसीपुरको हात्ती खौवा चोकसम्म सडकैभरि खाल्टाखुल्टी मात्र छन्। जसले गर्दा मोटरसाइकल चलाउन धेरै समस्या हुने गर्दछ।'

उनले यो सडकमा हुने सवारी दुर्घटनामा मुख्य दोषी निर्माणकर्ता रहेको समेत बताए। निर्माणको जिम्मा लिएको कम्पनीले समयमै सडक निर्माण पनि नगर्ने र सडकमा दुर्घटना हुने ठाउँमा पनि कुनै संकेत नराख्दा धेरै दुर्घटना हुने गरेको समेत उनले बताए।

त्यस्तै तुलसीपुर-७ की द्रुपता विक अटो चालक हुन्। उनले राम्रोसँग नहुदाँ तुलसीपुर बजारभित्र मात्र अटो चलाउने गरेको बताइन्। सडकका कारण घर आउन र बजार जान खाली जाने गरेको समेत बताइन्।

उता सडक निर्माणमा गर्न नसक्नु निर्माण व्यवसायीहरूको लापरबाहीले भएको दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताए। उनले यसरी निर्माण कार्यमा ढिलाइ हुनु भनेको कसैलाई नटेर्ने प्रवृत्तिका कारण भएको समेत बताए।

त्यस्तै अहिले नयाँ निर्माण सेवाले कामको जिम्मा लिएको भन्दै समय मै काम सक्नेमा आफू ढुक्क रहेको समेत कुरुम्बाङको भनाइ थियो। त्यस्तै उनले निर्माणको समयमा सबै कुराहरूको सहजीकरण आफूहरूले गर्नेसमेत बताए।

यो सडक निर्माणको लागि नागरिकले मात्र नभई स्थानीय तहका जनप्रतिनिधिले पनि यो विषयमा कुरा उठाउँदै आएको भएता पनि कतै सुनुवाइ भएको छैन। तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष टोप बहादुर केसीले आफूले प्रत्येक कार्यपालिकाको बैठकमा यो सडकलगायत अन्य विकास निर्माणको बारेमा कुरा उठाउँदै आए पनि कतै पनि सुनुवाइ नभएको गुनासो गरे।

आफ्नो वडामा यो सडक पर्ने भएकाले पनि आफूले आवाज उठाउँदै आएको समेत उनले बताए। उनले मंगलबार पर्सेनीमा भएको दुर्घटनाले आफू अत्यन्तै दुखी भएको भन्दै सडकमा भएका यस्ता खाल्टा पुर्न निर्माण व्यवसायीलाई आग्रह गर्ने समेत बताए।

एउटाले नगरेर अर्कैलाई ठेक्का

यो सडक बनाउन भारतको एक्जिम बैंकले आर्थिक सहयोग गर्दै भारतको मुम्बईकै तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राइस्ट्रक्चर प्रालिले ठेक्का पाएको थियो। मुम्बईको सो कम्पनी आफैं काममा नआएर यहीँकै अष्टभैरव कन्स्ट्रक्सन प्रालिलाई पेटी ठेकेदारका रुपमा काममा लगाएको थियो।

उक्त प्रालिले पनि काम गर्न नसकेपछि अहिले भर्खरै ब्रोमाइन निर्माण सेवाले जिम्मा लिएको छ।  निर्माण सेवाका डाइरेक्टर द्रोण दुलालले आफूसँग अब १७ महिना बाँकी रहेको र त्यो समय सम्म पूर्ण रूपले काम सम्पन्न नभए करिब ७० प्रतिशत सडकको निर्माण सकिने बताए।

‘म दाङमा आएको २ दिन मात्र भएको छ। तर, मैले अझै यहाँको बारेमा बुझ्न पाएको छैन्,’ उनले भने,‘ तर यसअघिको निर्माण ठेक्का यहाँको स्थानीयले लिएको भएता पनि के कारण गर्दा काम ढिलाइ भएको हो। त्यो मलाई थाहा भएन। तर, मलाई यहाँका सबै नागरिकहरूले साथ र सहयोग गर्नु पर्दछ।’

त्यस्तै उनले सडकमा दुर्घटनाको जोखिम रहेका खाडलहरू पुर्नेसमेत प्रतिबद्धता गरे। उनले पर्सेनीमा रहेको ह्युमपाइप राख्न बनाइएको खाडल बुधबार पुर्ने जनाए।

सन् २०२१ अगस्ट ११ मा निर्माणको काम सक्ने सम्झौता भए पनि विभिन्न समयमा विभिन्न कारणले परियोजनाको म्याद थप हुँदा १९ जुन २०२२ मा सडक स्तरोन्नतिको काम सकिने बताइएको छ।

भारतको एक्जिम बैंकको १ करोड २१ लाख अमेरिकी डलर लगानी रहेको छ। सम्झौताअनुसार कुइरेपानीदेखि हात्तीखौवा चोकसम्म चारलेन हुनेछ। कटुवाखोलादेखि डिके पम्पसम्म  यसअघि नै चारलेन भइसकेकाले त्यहाँ केही काम हुने छैन।

डिके पम्पदेखि सर्रा चोकसम्म, नारायणपुरको झारबैरा चोकदेखिखैरा चोकसम्म र दूधरासदेखि तुलसीपुरको हात्तीखौवा चोकसम्म मात्र चारलेन सडक हुनेछ। बाँकी भागमा भने दुई लेनमै सीमित रहने बताइएको छ।

म्यादमाथि म्याद थप

सन् २०२१ अगस्टमै सकिने भनिएको काम विद्युत् पोल हटाउन समस्या भएको कारण देखाउँदै १ सय ४५ दिन थपिएको थियो। त्यसपछि कोरोना भाइरसको संक्रमण पछि जारी लकडाउनको कारण देखाएर फेरि १ सय ३ दिन थपिएको छ।

हालसम्मको विवरण अनुसार अब १९ जनवरी २०२२ सम्ममा परियोजनाको सबै काम सम्पन्न हुने सम्झौता भएको छ। अक्सपाल प्रविधिमा कालोपत्रे हुने सो सडक कम्तीमा दश वर्षसम्म केही नहुने बताइएको छ।

पश्चिम क्षेत्रमा गौरवका योजना सञ्चालनका लागि भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला यो सहयोगको घोषणा गरेसँगै यो क्षेत्रमा कपिलवस्तुको चन्द्रौटादेखि कृष्ण नगरसम्म, भालुबाङदेखि प्युठानको बाग्दुला, भिमगिठी र लमहीदेखि तुलसीपुरसम्म चारलेन सडक स्तरोन्नतिको काम सुरु हुने गरी लमहीमा परियोजना कार्यालय समेत सञ्चालनमा आएको छ।

यद्यपि लमहीदेखि घोराही सम्म चारलेन बनाउने क्रममा बजेट पनि थोरै र वातावरणीय विनाश पनि व्यापक हुने भएपछि वन क्षेत्रमा दुई लेनमै सडक सीमित राखी कुइरेपानीस्थित बबई पुलबाट मात्र काम सुरु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.