|

दमक : सुरक्षित वैदेशिक रोजगारप्रति सचेत गराउँदै लेखिएको उपन्यास ‘रेमिटल्यान्ड’माथि आज झापाको दमकमा बहस गरिएको छ।

आख्यानकार श्याम सिंघकको पहिलो कृति ‘रेमिटल्यान्ड’माथि समीक्षकहरू राजन मुकारुङ, मिश्र वैजयन्ती, नरेश काङमाङ र प्रकाश थाम्सुहाङले चर्चा गरे।

लिटरेरी ग्रुप दमकको आयोजना तथा कदम थिएटर र शब्द घर नेपालको सहकार्यमा भएको कार्यक्रममा वक्ताहरूले वैदेशिक रोजगारले समाजमा ल्याएको विकृति उपन्यासमा चित्रण गरिएको बताए। कार्यक्रममा बोल्दै साहित्यकार राजन मुकारुङले वैदेशिक रोजगार अब समाजको आवश्यकता जस्तै भएको भन्दै कृति सशक्त रहेको बताए। उनले भने, ‘पछिल्लो समय वैदेशिक रोजगारले देशको आधा अर्थतन्त्र धानेको छ, समाजलाई आधुनिकीकरणमा सहयोग गरेको छ। तर वैदेशिक रोजगारीमा जाँदा सावधानी अपनाउन यो उपन्यासले सचेत गराउँछ।’

यस्तै कवि मिश्र बैजयन्तीले श्रीमान विदेश गएका महिलाहरूले समाजमा भोग्नुपरेका असहजतालाई उपन्यासमा समावेश गरिएको बताइन्। उनले भनिन्, ‘उपन्यासमा पछिल्लो समय वैदेशिक रोजगारले ल्याएको विकृतिलाई मात्र समावेश गरिएको छैन, यसमा माया प्रेमका कुरा पनि समेटिएको छ।’

उपन्यासमाथि टिप्पणी गर्दै कवि प्रकाश थाम्सुहाङले पैसा भन्दा ठूलो माया रहेको कुरालाई उपन्यासमा उल्लेख गर्न खोजिएको बताए। ‘उपन्यासमा वैदेशिक रोजगारीमा गएकाका श्रीमतीहरूले मायाको अभाव महसुस गरेको देखाइएको छ, उनले भने, ‘पैसा मात्र ठूलो कुरा नभई माया प्रेम पनि ठूलो हो भन्ने यसको मूल भाव देखिन्छ।’ नरेश काङमाङले उपन्यासान समाजको यथार्थ चित्रण भएको बताए।

सिंघकले ‘रेमिटल्यान्ड’ गत चैत १४ गते काठमाडौंको मण्डला थिएटरमा विमोचन गरेका हुन्। उनले उपन्यासमार्फत् वैदेशिक रोजगारीमा जानेलाई निरुत्साहित गर्न नखोजेको बताए। ‘नेपालमा अब वैदेशिक रोजगार आवश्यकता जस्तै भएको छ, उनले भने, उपन्यासको मूल भाव वैदेशिक रोजगारमा नजानु भन्ने होइन, वैदेशिक रोजगारीमा सुरक्षित तरिकाबाट जानु भन्ने हो।’ 

वैदेशिक रोजगारले विपन्न नेपालीहरूलाई सम्पन्न बनाउन मद्दत गरेको बताए। सिंघकले यसअघि नै आफ्नो वास्तविक परिचय लुकाएर ‘दलिता’ पुस्तक प्रकाशन गरिसकेका छन्। उक्त पुस्तकमा दलितले दास भएर बस्नुपरेको अवस्था लेखेका कारण परिचय खुलाउन नसकेको उनले बताए। उनले भने, ‘मैले यो २०६२ सालमा प्रकाशित गरेको हुँ, त्यतिबेला यस्ता पुस्तक लेख्दा समाजले पचाउँदैन थियो, त्यसैले परिचय परिवर्तन गरेँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.