विचार

राजनीतिक परिवर्तनमा महिलाको भूमिकालाई कम नअाँकौँ
SHARES

बैशाख ११, २०७४

    काठमाडौँ: स्थानीय तह चुनावबाट महिला सक्षम हुँदै र आफूलाई विकास गराउँदै राज्य सञ्चालनमा आउने भएका छन्। यसले महिलालाई धेरै सहयोग गर्छ। स्थानीयस्तरबाटै अनुभव गरेर आउँदा महिलालाई नेतृत्व गर्दाको अनुभव पनि हुने भयो। एउटा मजबुत राज्य संचालक जन्माउने निश्चित जस्तै भयो। यो अभ्यास सबै हिसाबले प्रगतिशील छ।

    गाउँस्तरमा ५० प्रतिशत, प्रदेशस्तरमा ४० प्रतिशत र केन्द्रीयस्तरमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्थाले महिलाहरू आधारबाट उपरी संरचनातर्फ आउँदा विकास गर्दै आउने गरी अहिलेको संविधानले व्यवस्था गरेको छ।

    कामले काजी हुने कि नामले काजी हुने

    हाम्रो समाजमा एउटा उखान छ- 'कामले काजी हुने कि नामले।' मान्छे नामले होइन, कामले काजी हुने हो। धेरै कुराहरू गरेर सिकिन्छ। हामीले किताबमा लेखेका कुरा मात्र पढ्ने कि व्यवहारमा सिकेर पढ्ने भन्ने कुरा नितान्त फरक हुन्। एउटा पानामा लेखिएको एउटा वाक्य पूरा गर्न पनि कुनै मान्छेलाई सिंगो जीवन लाग्न सक्छ। कसैको लागि जीवनभर गरेको कुरालाई एउटा वाक्यमा लेखिदिन पनि सकिन्छ।

    सबैभन्दा ठूलो कुरा व्यवहारमा सिक्ने हो। काम दिएपछि अथवा त्यो खालको अवसर पाएपछि मात्र धेरै कुरा सिक्न सकिन्छ। जन्मिँदै कसैले त्यस्तो प्रतिभा लिएर आएको हुँदैन। मानिसभित्रको अन्तरनिहीत क्षमता जिम्मेवारी पाइसकेपछि प्रस्फुटन हुन्छ। जिम्मेवारी नै नपाउँदा कसैले पनि आफ्नो क्षमता वा प्रतिभा देखाउन सकिरहेको हुँदैन।

    राज्यको प्रमुख अंगमा बसेर आज केही महिलाले आफ्नो कार्यकुशलता देखाइरहनुभएको छ। सभामुखकै कुरा गर्ने हो भने एउटा सामान्य गाउँमा जन्मेर, सामान्य समाजमा हुर्किएर आएको मान्छे उहाँले जिम्मेवारी पाइसकेपछि काम गरेर देखाउनुभएको छ। अहिले राष्ट्रपति पनि महिला नै हुनुहुन्छ। तुलनात्मक ढंगले महिलाले इमान्दारीपूर्वक काम गर्छन् भन्ने पनि छ। जनताले दिएको अधिकार जनताकै निम्ति प्रयोग गर्ने सवालमा महिलाहरू एकदमै इमान्दार भएको तथ्यले पुष्टि गरेको छ। सबैभन्दा ठूलो कुरो इमान्दारी, निरन्तरता र प्रतिवद्धता हो। निरन्तरता र लगनशीलता भयो भने अरू सबै कुरा तपशीलका विषय हुन्।

    गाउँका मैलाधैला महिलाहरूले खाजा बोकेर ख्वाएकै हुन्। सैद्धान्तिक रूपमा स्पष्ट नभएको भए के तिनीहरूले राज्यले आतंककारी घोषणा गरेकालाई रोटी बनाएर ख्वाउँथे? त्यो बेलाको निरंकुश सरकारले त रोटी ख्वाउनेलाई पनि त गोली हान्ने आदेश दिएको थियो।

    माओवादीमा महिलाको अभाव छैन

    माओवादी पार्टीमा हिजो जनमुक्ति सेनामा महिलाहरू ४० प्रतिशत थिए। आज पनि ती महिलाहरू गाउँघरमा नै छन्। त्यो हेर्दा माओवादीमा अरू पार्टीमा जस्तो महिलाको अभाव छैन। हिजोका ती सक्रिय महिला आज आफ्नै तरिकाले निस्क्रिय भएर बसेका पनि होलान्। जुन स्तरमा कार्यकर्ताको व्यवस्थापन हुनुपर्ने हो, त्यो नभएर निराश भएका पनि होलान् तर पार्टी वा आस्था नै छोडर अरू पार्टीमा गएका छैनन्। स्थानीय पार्टीले उनीहरूलाई जसरी पनि संगठनमा ल्याउनुपर्छ र उचित जिम्मेवारी दिनुपर्छ।

    बुर्जुवा ज्ञान र राजनीतिक ज्ञान

    मैले शहर र गाउँका महिलामा एक ढंगको अन्तरविरोध देख्छु । शहरका महिलामा बुर्जुवा ज्ञान बढी देखिन्छ भने गाउँका महिलामा राजनीतिक ज्ञान बढी देखिन्छ। गाउँमा रहेका पछाडि परेका, नपढेका, अशिक्षित भनिएका महिलाहरूले सहयोग र समर्थन गरेर तिनका योगदानले नै त देशमा राजनीतिक परिवर्तन संभव भएको हो।

    परम्परागत नेताहरूले आह्वान गरेर मात्र निरंकुश राजतन्त्रको अन्त्य भएको होइन। गाउँका मैलाधैला महिलाहरूले खाजा बोकेर ख्वाएकै हुन्। सैद्धान्तिक रूपमा स्पष्ट नभएको भए के तिनीहरूले राज्यले आतंककारी घोषणा गरेकालाई रोटी बनाएर ख्वाउँथे? त्यो बेलाको निरंकुश सरकारले त रोटी ख्वाउनेलाई पनि त गोली हान्ने आदेश दिएको थियो।

    राजनीतिक विचार नबुझेको भए ती महिलाले हामीलाई रोटी ख्वाउन पनि सक्दैनथे। त्यसकारण महिलालाई दिएको अधिकारको एजेण्डा, समानताको एजेण्डालाई बुझेर नै औपचारिक हिसाबले पढेलेखेका नभए पनि, खस नेपाली भाषा बोल्न नजाने पनि सक्नेले बन्दुक बोकेर र नसक्नेले खाना ख्वाएर, बाटो देखाएर जनताको मुक्तिको लागि लागेकै हुन्। अहिले हामीले जुन भूमिका निर्वाह गरिरहेका छौं, त्यो सबै अवसर र जिम्मेवारीले गर्दा संभव भएको हो। अवसर दिएपछि मात्र क्षमताको विकास हुन्छ।

    अहिले स्थानीय तह, प्रदेश र केन्द्रमा जसरी महिलाको लागि अधिकार दिइएको छ, यो एउटा उत्सव जस्तै हो। पहिले अरूलाई चुन्ने अवस्था थियो भने अहिले आफैँ चुनिने अवस्था आएको छ। वास्तवमा माओवादी आन्दोलनले महिलाको लागि दिएको यो एउटा उपहारै हो। हिजो महिलाले आफ्नो ज्यान जोखिममा राखेर, गादोमा खाजा र खाना बोकेर खुवाएको, बाटो देखाएको र पार्टीलाई सहयोग गरेर ल्याएको राजनीतिक परिवर्तनको अधिकारी उनै महिला हुनुपर्दथ्यो।

    जति हुनुपर्दथ्यो, त्यति हुन नसके पनि महिलाको लागि र सबै जनताको लागि अहिलेको अधिकारले केही बाटो खुला गरेको छ। यो सबैका लागि एउटा उत्सव जस्तै हो। हामीले केन्द्रमै ५० प्रतिशतको व्यवस्था होस् भनेर माग गरेका थियौँ तर स्थानीय सरकारमा ४० र वडास्तरमा ५० प्रतिशत महिला सहभागिताको विषय संविधानले सुनिश्चित गरेको छ। यसले स्थानीय चुनावमा महिलालाई ठूलो उत्साह पैदा गरेको छ, जसले गर्दा यो चुनाव महिलाको लागि एउटा ठूलो चाडपर्व आएजस्तो भएको छ। उमंग छाएको छ।

    महिला सबै हिसाबले सक्षम त छन् तर समाजले परापूर्वकालदेखि महिलालाई हेपेको छ, कमजोर छन् भनेर व्याख्या गरेको छ र समाजमा यही मान्यता जबर्जस्त रूपमा स्थापित भएको छ। महिलाहरू मनोवैज्ञानिक हिसाबले मात्र कमजोर हुन्, भौतिक हिसाबले होइन।

    अधिकारको दुरूपयोग नहोस्

    सबै महिलाले आफूमा अन्तरनिहित क्षमतालाई उजागर गर्ने बेला आएको छ। हामीले गरेको परिवर्तनलाई हामी महिला आफैँले संस्थागत गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको छ। यो धेरै ठूलो अवसर हो।

    आफ्नो अधिकारको दुरूपयोग हुन दिनु हुँदैन। त्यसको लागि महिला स्वयंमा चेतना जागृत हुनु जरुरी छ। सचेतताका साथ त्यो क्षमताको विकास महिलाले गर्नुपर्छ । अध्यनमा जोड दिएर, छलफलमा भाग लिएर र अन्तर्क्रिया गरेर त्यस्तो क्षमताको विकास गर्न सकिन्छ। महिला आफैँमा सचेत हुने कुरा त छँदै छ, पुरुषहरूले पनि उनीहरूलाई उत्तिकै प्रेरित गर्नुपर्छ किनकि हामीले सबै कुरालाई द्वन्द्वात्मक रूपले हेर्नुपर्छ।

    महिला सबै हिसाबले सक्षम त छन् तर समाजले परापूर्वकालदेखि महिलालाई हेपेको छ, कमजोर छन् भनेर व्याख्या गरेको छ र समाजमा यही मान्यता जबर्जस्त रूपमा स्थापित भएको छ। महिलाहरू मनोवैज्ञानिक हिसाबले मात्र कमजोर हुन्, भौतिक हिसाबले होइन। यो कुरा विज्ञानले पनि पुष्टि गरिसकेको छ। मनोवैज्ञानिक हिसावले मात्र हामी कमजोर पारिएको रहेछौं भन्ने सचेतना नआउँदा सम्म महिलालाई प्रेरित गर्ने वातावरण पुरुषले बनाउनुपर्छ। नियम कानुन बनाएर अथवा संवाद र सहमती गरेर भएपनि केही समयका लागि यसो गर्नु जरुरी छ।

    नेता हुन धेरै अप्ठेरो

    पार्टीमा महिलालाई नेता हुन धेरै अप्ठेरो छ। स्वाभावैले महिलाहरू भावनात्मक र इमान्दार हुन्छन्। अहिलेसम्म तिकडमको संस्कारमा राजनीति भइरहेको यो मुलुकमा महिलाहरू नेता हुनका लागि धेरै ठूलो संघर्ष गर्नुपर्छ। पुरुषप्रधान समाज र त्यस्तो खाले चिन्तनको अस्तित्व पूर्ण रूपमा नामेट भइसकेको छैन। सबैमा समानतामुखी चेतना पलाइसकेको छैन। व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएकै छैन। यो हिसाबले हेर्दा महिलाले चौतर्फी संघर्ष नगरी नेतृत्वमा आउन सक्दैनन्। यो मेरो आफ्नै अनुभव पनि हो।

    म चार वर्ष जेल बसेँ। जेलबट बाहिर आएपछि मेरै स्तरका साथीहरू धेरै माथि पुगेका थिए। म जेलबाहिर आएपछि त्यो खालको चेतना र समयले मागेको भूमिका निर्वाह गर्न मलाई धेरै संघर्ष गर्नुपरेको थियो। आज पनि म त्यो संघर्षले जेलिएको समय सम्झन्छु।

    जतिबेला म शान्तिमन्त्री भएँ, त्यो बेला म पार्टीमा राज्य समिति सदस्य मात्र थिएँ। मेरा अरू सहकर्मीले तपाईंले एक स्टेप अगाडि बढेर काम गर्नुभयो, केही सफल मन्त्री बन्नुभयो भनेर प्रशंसा गरेका थिए। तर म पार्टीको पोजिसनमा मात्र राज्य समिति सदस्य थिएँ।

    काम गर्ने इच्छाशक्ति भयो भने केही कुरा बाधक बन्दैन। तर पार्टीभित्र महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनै पर्छ। श्रीमानहरूले रानीतिक नेतालाई केवल श्रीमतीको रूपमा हेर्नुहुँदैन। श्रीमतीको रूपमा मात्र हेर्ने आफ्ना गाेपनीयताहरू छन्। त्यो ठाउँ अलग राखेर समाजमा स्थापित गर्नका लागि श्रीमानहरूले आफ्ना नेता श्रीमतीहरूलाई विना पूर्वाग्रह बाटो खुला गरिदिनुपर्छ। यो रूपान्तरण सबै पार्टीमा आउनु जरुरी छ। 

    हिजो हामीले चिसो खेपेर हिलोमा गाडिएर धान रोप्यौँ। आज धान काट्ने र बाली भित्र्याउने बेला आएको छ। यो बेलामा हामी कमजोर हुनुहुन्न। घरेलु चार दिवारभित्र कैद महिला बन्नु हुँदैन। क्रान्तिकारी दास पनि बन्नु हुँदैन।

    हामीले नै संघर्ष गरेर ल्याएको परिवर्तन हो यो। हिजो गोली र पर्रासँग हामी खेल्न सक्यौं। महिलाहरू धेरै कठिन भन्दा कठिन युद्ध जितेर क्रान्तिमा अगाडि बढिराखेका हुन्। हिजो तत्कालीन निरंकुश राज्यसत्ताले माओवादी आन्दोलनलाई सहयोग गरेवापत गोली हान्न सकिने त्यस्तो भयानक अवस्थाको बाबजुद नेपाली महिलाहरू अभूतपूर्व रूपमा जनयुद्धमा सहभागी भएकै हो। परिवर्तनको अगुवाइमा लागेको हो।

    उत्सव हो चुनाव

    अहिले गोलाबारुदसँग खेल्नुपर्ने अवस्था छैन। सही ठाउँमा हाम्रा अमूल्य भोटहरू हाम्रो अधिकारको लागि जसले लड्यो, सोही पार्टीलाई दिन सक्यौँ भने महिलाको वास्तविक मुक्ति हुनेछ। अब निडरताका साथ सबै महिलाले हिजो दुःख गरेको अधिकारको दावी गर्नुपर्छ। अवसर लिनका लागि लड्ने बेला आएको छ।

    हिजो हामीले चिसो खेपेर हिलोमा गाडिएर धान रोप्यौँ। आज धान काट्ने र बाली भित्र्याउने बेला आएको छ। यो बेलामा हामी कमजोर हुनुहुन्न। घरेलु चार दिवारभित्र कैद महिला बन्नु हुँदैन। क्रान्तिकारी दास पनि बन्नु हुँदैन। हामीले घरकै मान्छेसँग गर्नुपर्छ भने पनि प्रतिस्पर्धा गरौँ। स्थानीय चुनाव प्रचारमा उत्सवमय तरिकाले लागौँ। आफ्नो अधिकार लिनको लागि निरन्तर लागौँ।

    (अास्था केसीसँगको कुराकानीमा अाधारित)

     

सत्य पहाडी

पहाडी नेकपा माअोवादी केन्द्रकी सचिवालय सदस्य हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • damodar sharma

    Pahila lampasaar baad ko anta garaun, kamred.

  • Abshar Shakya

    What a great thought, she is one of great leader of MA KE

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]