|

अर्घाखाँची : जिल्लामा कोरोनाका बिरामी बढेसँगै जिल्ला प्रशासन अर्घाखाँचीले साउन ३० सम्म निषेधाज्ञा जारी गरेको छ। प्रशासनले आइतबारबाट साउन ३० गते राति १२ बजेसम्म घरभित्रै सुरक्षित भएर बस्न जिल्लाबासीलाई आग्रह गरेको छ।

यस अवधिमा बिहान ७ देखि ९ बजेसम्म दुधडेरी, खाद्यान्नलगायत अत्यावश्यक पसल मात्र खोल्न पाइनेछ। सार्वजनिक, निजी यातायात, बैंक तथा वित्तीय संस्था पूरै बन्द हुनेछन्।

शिक्षण संस्था, धार्मिकस्थल, विभिन्न कार्यक्रम, सभा सम्मेलनलगायत भिडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए।

‘गाउँमा कोरोना संक्रमण दर बढेकाले नियन्त्रणको लागि कडा निषेधाज्ञा जारी गर्नुपरेको हो,’ उनले भने, ‘अर्घाखाँचीवासी १४ दिनसम्म घरभित्रै सुरक्षित भएर बस्नुस्, कतै नहिँड्नुस्। कोरोना नियन्त्रणमा सघाउनुस्।’

निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्लामा आउनुपर्ने भएमा जिल्ला प्रशासनको समन्वयमा सम्बन्धित जिल्लाको सवारी पास लिएर आउनुपर्ने छ। साथै लोकसेवा आयोग, त्रिभुवन विश्वविद्यालय , राष्ट्रिय परिक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् लगायतका निकायबाट पूर्वनिर्धारित परीक्षामा सहभागी हुने परिक्षार्थीहरूलाई पास आवश्यक नपर्ने जिल्ला प्रशासनद्दारा जारी सूचनामा उल्लेख गरिएको छ।

जिल्लामा हाल ५ सय ७१ जना कोरोना संक्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन्। गाउँ–गाउँमा रुघाखोकी, ज्वरोका बिरामी छन्। गाउँमा एन्टिजेन्ट परीक्षण बढाउने र संक्रमित भएकालाई होम क्वारेन्टाइन तथा आइसोलेसनमा राखिने प्रजिअ पौडेलले बताए।

गाउँमा तेस्रो लहर आएकाले कोरोना संक्रमण बढेको जिल्ला अस्पताल प्रमुख डा। कपिल गौतमले बताए। ‘एन्टिजेन परीक्षण गरिएका मध्ये आधाभन्दा धेरैको रिपोर्ट पोजिटिभ आउने गर्छ। अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजन दिएर बचाउनु परेको छ। जिल्लामा तेस्रो लहरको संक्रमण दर बढ्दो छ,’ उनले भने, ‘बेलैमा नियन्त्रण नगरिए भयावह स्थिति हुन सक्छ' सबैलाई सचेत रहन उनले आग्रह गरे।

गाउँमा धेरैजसो रुघाखोकी, ज्वरो आउनेका बिरामी प्रायस् घरैपिच्छे भएकाले स्थानीय तहको समन्वयमा एन्टिजेन परीक्षण गर्ने र संक्रमितलाई होम आइसोलेसनमा राख्ने गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले बताइन्। उनले भनिन्,  'अठार वर्षमुनिका बालबालिकालाई आएका तीन वटै खोप लगाउन नमिल्ने भएकाले बालबालिका बढी जोखिममा परेका छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.