वार्षिक उपभोग खर्च १८ खर्ब २५ अर्ब, गाउँका जनताभन्दा शहरमा जनताको खर्च दोब्बर

|

काठमाडौं:  नेपालीहरुको वार्षिक प्रतिव्यक्ति खर्च ७० हजार ६ सय ८० रुपैयाँ पुगेको छ। केन्‍द्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको दोस्रो पारिवारीक सर्वेक्षण अनुसार अहिले नेपालमा ५४ लाख घर परिवार छन्। उनीहरुको वार्षिक उपभोग खर्च १८ खर्ब २५ अर्ब रुपैयाँ बराबर छ।

सर्वेक्षण अनुसार नेपालीको औसत प्रतिपरिवार ५ जना सदस्य रहेका छन्। यो पछिल्लो एक वर्षको तुलनामा ११ प्रतिशले वृद्धि र पछिल्लो दुई दशकको तुलनामा ११ गुणाले वृद्धि हो। आर्थिक वर्ष २०७१/७२ मा नेपालीको उपभोग्य खर्च खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा एक वर्षको अवधिमा २ खर्ब ३ करोड रुपैयाँले बढेको हो। त्यस्तै आर्थिक वर्ष २०५२/५३ मा प्रति व्यक्ति खर्च ६ हजार ८ सय २ रुपैयाँ थियो। २० वर्षमा प्रतिव्यक्ति खर्च ६२ हजारभन्दा धेरैले बढेको छ।

फलफूल भन्दा मदिरामा धेरै खर्च !

नेपालीहरुको सबैभन्दा बढी खर्च खाद्यन्‍न र माछा-मासुमा देखिएको छ। सबैभन्दा बढी खर्च खाद्यान्‍नमा ३२.१ प्रतिशत रहेको छ भने माछा मासुमा १४.५ प्रतिशत छ। त्यस्तै तरकारीमा  १३.३, अण्डा र दुधमा  ८, तेल तथा घिउमा ७.८ प्रतिशत खर्च हुने गरेको सर्वेक्षेणले देखाएको छ।

नेपालीहरुले फलफूलमा भन्दा बढी पैसा मदिरा किनेर सक्ने गरेको देखिएको छ। जम्मा खर्चको ५.६ प्रतिशतको मदिरा किन्दा खर्च हुन्छ। ३.९ प्रतिशत फलुफूल किन्‍दा खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ। त्यस्तै ३.७ प्रतिशत सुर्ति किन्दा र ०.७ प्रतिशत हलुका पेयमा खर्च गर्ने गरेको देखिएको छ। रेष्टुरा, चिया कफी र मिठाइमा क्रमश २.४, ०.८ र २.९ प्रतिशत खर्च गर्ने गरेका छन्।

गाउँमा भन्दा सहरमा दुई गुणा बढी खर्च

सहर र गाउँको परिवारबीच खर्च गर्ने क्षेमतामा निकै भिन्‍नता देखिएको छ। गाँउको तुलनामा शहरको परिवारले २ गुणाले बढी खर्च गर्ने देखिएको छ।

ग्रामिण घरपरिवारको वार्षिक औसत उपभोग खर्च २ लाख ४८ हजार ८ सय ९३ रुपैयाँ रहेको छ। सहरी घरपरिवारको वार्षिक औसत उपभोग खर्च ४ लाख ३१ हजार ३ सय ३७ रुपैयाँ खर्च हुने गरेको छ। तथ्यांक   विभागका  महानिर्देशक सुमन अर्यालका अनुसार नेपाली घरपरिवारको वार्षिक औसत उपभोग खर्च ३ लाख २२ हजार ७ सय ३० रुपैयाँ रहेको छ।

क्षेत्र पनि फरक

यसै बीच गाउको परिवार र सहरको परिवारले खर्च गर्ने क्षेत्र पनि फरक देखिएको छ। सहरको परिवारले बढी खर्च गैर खाद्य क्षेत्रमा गरेता पनि गाउँको खर्च भने खाद्य उपभोगमै छ।

सहरी घरपरिवारको खाद्य उपभोग खर्च ४४.९ प्रतिशत तथा गैर खाद्य उपभोग खर्च ५५.१ प्रतिशत छ भने ग्रामीण घरपरिवारको खाद्य उपभोग खर्च ५९.८ प्रतिशत तथा गैर खाद्यउपभोग खर्च ४०.२ प्रतिशत रहेको छ। समग्र नेपाली घरपरिवारको खाद्य उपभोग खर्च ५३.८० प्रतिशत तथा गैर खाद्य उपभोग खर्च ४६.२ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.