|

लहान : सिरहा जिल्ला सदरमुकामस्थित जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएका छन्। क्षमताभन्दा पनि बढी कैदीबन्दी हुँदा कारागारको आँगन, बरन्डामा सुत्नुपर्ने बाध्यता भएको कैदीबन्दीहरू बताउँछन्।

सिरहा कारागारमा १ सय ३५ पुरुष र १५ जना महिला कैदीबन्दी बस्ने क्षमता भए पनि दुई बालक र एक बालिका गरी तीन आश्रितसहित तीन सय ४१ जनालाई राखिएको छ। कारागारमा १५ कैदी र १० बन्दी गरी २५ महिला तथा १ सय ८२ कैदी र १ सय ३१ बन्दी गरी ३ सय १३ जना रहेको जेलर शंकरलाल कर्णले जानकारी दिए।

‘कारागारको क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएकाले सुत्न बस्न, धारा र शौचालय प्रयोग गर्न बिहान चार बजेदेखि नै उठेर लाइन लाग्नुपर्छ’ कारागारका नाइके श्रीप्रसाद कापडीले भने। नाइके कापडीका अनुसार महिलालाई भन्दा पुरुष कैदी बन्दीलाई बढी समस्या हुने गरेको छ।

‘पुरुषका लागि १२ वटा शौचालय भए पनि कैदी बन्दी पुरुषको संख्या बढी रहेकाले समस्या हुने गरेको छ’ नाइके कापडीले भने। सिरहा कारागारमा कर्तव्य ज्यान, लागुऔषध, डकैती, जिउ मास्ने बेच्ने, जबरजस्ती करणी, केही सार्वजनिक अपराध, चोरी, ज्यान मार्ने उद्योग, हात हतियार तथा खरखजाना, मानव बेचविखन तथा ओसारपसार, लेनदेन, शरीर बन्धक तथा अपहरण, बहुविवाहका कैदीबन्दी रहेको जेलर कर्णले बताए। उनका अनुसार कारागारमा सबैभन्दा बढी लागुऔषध र कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी रहेका छन्। 

कारागारमा पूर्वमन्त्री सांसद पनि

सिरहा कारागारमा संविधानसभाको सदस्य बहाल रहेकै बेला जनकपुरको रामानन्द चोकमा चार वर्षअघि पाँच जनाको मृत्यु र ३२ जनाभन्दा बढी घाइते हुने गरी गरिएको बम विष्फोट घटनाको मुख्य योजनाकार रहेको आरोपमा धनुषा जिल्ला अदालतको आदेशमा सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्षसमेत रहेका सञ्जय साह ‘टक्ला’ समेत पुर्पक्षका लागि राखिएका छन्। उनी सद्भावना पार्टीका तर्फबाट भौतिक योजना तथा निर्माण राज्य मन्त्री भइसकेका व्यक्ति हुन्।

त्यस्तै, नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादव पनि सिरहा कारागारमा राखिएका छन्। यादवमाथि धनुषाको सबैलास्थित मदन आश्रित निमावि व्यवस्थापन समितिको निर्वाचनको विषयमा भएको हिंसात्मक झडपमा भएको दुई जनाको हत्यामा संलग्न रहेको अभियोग रहेको छ ।

रासनले पुगेन : कैदीबन्दीलाई

करिब तीन दशक अघि नै बनेको कारागार निर्देशिकाअनुसार कैदीबन्दीले पाउने रासन पनि महँगीअनुसार अपुग हुने गरेको कारागारका कैदी बन्दीहरुको गुनासो छ।  ‘कैदीबन्दीहरुले ७ सय ग्राम चामलबाहेक दैनिक रुपमा पाउने ४५ रुपैयाँले नुन, तेल, साबुन, पेस्टको खर्च पुर्‍याउनुपर्छ’ कारागार नाइके कापडी भन्छन्, ‘कैदीबन्दीहरूलाई दैनिक एक किलोग्राम चामलसहित १ सय रुपैयाँ उपलब्ध नगराएसम्म अहिलेको महँगीमा खर्च धान्नै मुस्किल परिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.