कुलमानलाई सार्वजनिक प्रशासन र अनुराधालाई सामाजिक सेवा सम्मान

|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आफ्नो ५१ औ साधारण सभाको अवसरमा मनाएको स्वर्ण जयन्तीमा २० भन्दा बढीलाई सम्मान गरेको छ। महासंघ, निजी क्षेत्रको प्रवर्द्धन र सामाजिक कार्यमा महत्वपूर्ण योगदान गर्ने उनीहरुलाई सम्मान गरेको हो। 

२० वर्षअघि महासंघको अध्यक्षमा पराजित भएपछि महासंघ नै बहिस्कार गरेका उद्योगी विनोद चौधरीको सम्मान र झण्डै तीन दशक पुरानो फौजदारी मुद्दाका कारण महासंघ अध्यक्ष पदबाट हटेका प्रदीपजंग पाण्डेलाई पूर्वअध्यक्षको रुपमा सम्मान गरिएको हो। 

चौधरीको सम्मान

सोमबार साधारण सभाको उद्घाटन सत्रमा पूर्व अध्यक्षहरुलाई छुट्टाइएको कुर्चीमा विनोद चौधरी पनि थिए। ९ बजेको तोकिएको उद्‍घाटनको समयअघि नै चौधरी आफ्ना लागि तोकिएको सिटमा बसिसकेका थिए। उनले २०५० देखि २०५२ मा महासंघको सातौं अध्यक्षको रुपमा काम गरेका थिए। आठौं अध्यक्षको लागि २०५२ सालमा भएको निर्वाचमा उनी पद्म ज्योतिसंग पराजित भएपछि महासंघ नै बहिस्कार गरेर नेपाल उद्योग परिसंघ नामक अर्को संस्था स्थापना गरेका थिए। 

हारपछि महासंघनै बहिस्कार गरेका नेपालका एक मात्र डलर अर्बपति चौधरी फेरि महासंघमा फर्किनुलाई अर्थपूर्ण मानिएको छ। सोमबार स्वर्ण ज्यन्तीको अवसरमा उनको कार्यकालमा गरिएको कामलाई आत्मसात गर्दै विशेष सम्मान प्रदान समेत गरियो।

उनले महासंघको कार्यालय भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। महासंघ छोडेपछि त्यस विषयमा सम्झना गर्न समेत नरुचाउने चौधरीले महासंघले प्रकाशन गरेको स्वर्ण वर्ष स्मारिकामा महासंघलाई जोडेर आर्थिक सुधारको निरन्तरताको विषयमा लेख लेखेका छन्। 

पूर्व अध्यक्षहरुलाई कदर

महासंघले आफ्ना पूर्व अध्यक्षहरुलाई पनि स्वर्ण जयन्ति स्मृति चिन्हले सम्मान गरेको छ। महासंघका जीवित ११ जना पूर्व अध्यक्षहरु क्रमश महेशलाल प्रधान,विनोदकुमार चौधरी, पद्म ज्योती, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य र प्रदीपजंग पाण्डेलाई सम्मान गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघमा अहिलेसम्म पूर्व अध्यक्षको रुपमा समेत पाण्डेको फोटो झुण्ड्याइएको छैन भने पशुपति मुरारका भन्दा पहिले प्रदीपजंग पाण्डे अध्यक्ष रहेकोमा चुनावी प्रचार प्रसारमा समेत सुरज वैद्यलाई निवर्तमान अध्यक्षको रुपमा सम्वोधन गरिएको थियो। सोमबार भने पूर्व अध्यक्षको रुपमा पाण्डेलाई पनि सम्मान दिइएको छ। त्यस्तै स्वर्ण वर्ष स्मारिका पुस्तकमा समेत महासंघको १६ औं अध्यक्षमा प्रदीपजंग पाण्डेको नाम उल्लेख गरिएको छ। 

११ जनालाई गरिएको सम्मान कार्यक्रममा पूर्व अध्यक्षहरु सुरज वैद्य र प्रदीजंग पाण्डेको उपस्थिति भने रहेन अन्य ९ जना पूर्वअध्यक्ष भने सहभागी भए। 

५ क्षेत्रका ५ उद्योगीलाई एफएनसीसीआई गोल्डेन अवार्ड

महासंघले विभिन्न पाँच विधाका उद्योगीहरुलाई एफएनसीसीआई गोल्डेन अवार्ड प्रदान गरेको छ। जस अनुसार बैकिङ क्षेत्रबाट मूलकको पहिलो गभर्नर तथा हिमालयन बैंकका सञ्चालक हिमालय शम्सेर जबरालाई सम्मान गरिएको छ। 

त्यस्तै पर्यटन क्षेत्रमा राम्रो योगदान गरेको भन्दै महासंघले व्यवसायी तथा लेखक कर्ण शाक्यलाई सम्मान गरेको छ। सञ्चार क्षेत्रबाट कैलाश सिरोहिया, उड्ययन क्षेत्रबाट विरेन्द्रबहादुर बस्नेत र चलचित्र उद्योगबाट नकिन उदितलाई गोल्डेन अवार्ड प्रदान गरिएको हो। 

दुई उद्योगीलाई मरणोपरान्त अवार्ड

महासंघले दुई उद्योगीलाई मरणोपरान्त अवार्ड प्रदान गरेको छ। गोल्छा अर्गनाइजेसनका संस्थापक अध्यक्ष रामलाल गोल्छा र मनकानमा केवलकारका लक्षमणबाबु श्रेष्ठलाई मरणोपरान्त अवार्ड प्रदान गरेको हो। महासंघको विकास तथा निजी क्षेत्रमा महात्वपूर्ण योगदान पुर्‍याएको भन्दै यस्तो सम्मान प्रकट गरिएको हो। त्यस्तै पत्रकार सन्जय न्यौपानेलाई मरणोपरान्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

कुलमानलाई पनि गोल्डेन अवार्ड

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विद्युत प्राधिरकणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि सम्मना गरेको छ।

सार्वजनिक प्रशासनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै  घिसिङलाई गोल्डेन अवार्ड प्रदान गरेको हो। घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि काठमाडौं उपत्यका हुँदै देशका प्रमुख शहरहरु लोडसेडिङ मुक्त भएका छन्।

अनुराधा र सन्दुकलाई सामाजिक सेवाको जस

महासंघले माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र नेत्ररोग विशोषज्ञ डा. सन्दुक रुइतलाई पनि अवार्ड प्रदान गरेको छ। सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै महासंघले उनीहरुलाई सम्मान गरको हो।

सिएनएन हिरो समेत बनेकी अनुराधा कोइरालाले अबको आफ्नो उद्देश्य भनेको नेपालबाट चेलीबेटी बेचविखन अन्त्य गरेर माइती नेपाल संस्था बन्द गर्ने भएको भन्दै यस्तो सम्मानले प्रोत्साहन मिल्ने बताइन्।   

भवन निर्माणमा १ करोड ११ लाख योगदान गर्ने केसीलाई पनि सम्मान

महासंघले तुलसीपुर उद्योग वाणिज्य संघको भवन निर्माणमा भागवत पाठ लगाएर धेरै रकम संकलन गर्ने तलसीपुर उद्योग वाणिज्य संघका सदस्य यज्ञ केसीलाई पनि सम्मान गरेको छ। उनले संघको भवन निर्माणका लागि आर्थिक संकलन गर्न भागवत पाठ लगाउनुका साथै आफ्नै जग्गा उपलव्ध गराई १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका थिए। साथै स्वर्ण जयन्तीको अवसरमा २५ वर्ष भन्दा बढी काम गरेका कर्मचारीलाई पनि महासंघले सम्मान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.