|

काठमाडौं : मात्रात्मक हिसाबले २०७३ सालको अन्तिम शुक्रबार रिलिज भएका दुई फिल्म ‘अपरिचित' र 'धर्मयुद्ध'सहित यस वर्ष ८८ वटा नेपाली फिल्म रिलिज भए। यस वर्षको फिल्मी यात्रा 'बाटोमुनिको फुल-२' र 'हाउ फन्नी'बाट सुरु भएको थियो।

यो वर्ष निर्माण भएका फिल्म प्राय: मैलिक कथावस्तुमा निर्माण भए। त्यस्ता फिल्म कति सफल पनि भए त कती असफल पनि। स्क्रिप्ट राम्रो भएका फिल्महरू राम्रैसँग चले भने अरू फिल्महरूले सन्तोषजनक व्यापार गर्न सकेनन्। समाजमा घट्ने वास्तविक घटनालाई पर्दामा देखाइएका फिल्महरूप्रति दर्शकको चासो देखियो।

यो वर्ष निर्माण भएका केही फिल्मले अन्तर्राष्ट्रिय अवार्डहरू पनि हात पारे। 'सेतो सूर्य', 'कालो पोथी', 'डाइन्ङ क्याण्डल' जस्ता मौलिक कथावस्तु भएका फिल्महरूले अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भए। तर  पनि ती फिल्महरूलाई हलमा भने दर्शकको त्यति साथ मिलेन।

दर्जनले लगानी बचाए, अरू डुबे

नेपाली फिल्मको बजार सानो भएकाले सीमित फिल्मले मात्र लगानी उठाउने गर्छन्। बजार सानो भएकाले फिल्मले लगानी उठाउन गाह्रो भइरहँदा पनि फिल्म क्षेत्रमा लगानी गर्न तयार भइरहेका हुन्छन् निर्माताहरू। करिब ६० लाख रूपैयाँ भन्दा माथिको लगानीमा एउटा फिल्म निर्माण भएको हुन्छ। त्यस फिल्मले आफ्नो लागानी उठाउन एक करोड रूपैयाँभन्दा माथिको व्यापार गर्नुपर्ने हुन्छ।

यस वर्ष रिलिज भएका फिल्ममध्ये झण्डै एक दर्जन फिल्मले मात्र लगानी उठाए भने अरू फिल्मले लगानी बचाउन सकेनन्। कुनै फिल्म त कहिले हलमा आए र कहिले बाहिरिए भन्ने कुरा दर्शकले पत्तै पाएनन्। 

व्यावसायिक हिसाबले यस वर्षको सफल फिल्मको सूचीमा 'छक्का पञ्जा', 'वीर विक्रम', 'जात्रा', 'गाजलु', 'पुरानो डुङ्गा', 'लुट-२', 'लप्पन छप्पन' आदिलाई लिन सकिन्छ। त्यसबाहेक 'हाउ फन्नी', 'किङ्ग', 'किस्मत-२', 'राधा', 'चपली हाइट-२' जस्ता केही सीमित फिल्मले मात्र आफ्नो लगानी बचाए।

हास्य कलाकारको बाहुल्य रहेको फिल्म 'छक्का पञ्जा'ले १०१ दिन मनाउन सफल भयो। यस फिल्मले १६ करोड रुपैयाँको व्यापार गरेर नेपाली फिल्म क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म पनि बनेको छ। अनमोल केसी अभिनित फिल्म 'गाजलु'ले पनि निर्मातालाई फाइदा नै पुर्‍यायो। यस फिल्मले दुई करोड रुपैयाँ बढीको व्यापार गरेको अनुमान छ। त्यसबेला अनमोलकै कारण फिल्मले राम्रो व्यापार गरेको भन्नेहरू पनि थिए।

'पुरानो डुङ्गा'ले व्यावसायिक सफलता पाए पनि दर्शकको वाहीवाही भने पाउन सकेन। फिल्मको व्यापारका विषयमा केही कुरा बाहिर नआए पनि पनि फिल्मले तीन करोड रुपैयाँ बढीको व्यापार गरेको अड्कल गरिएको छ। त्यस्तै फिल्म 'लुट-२' ले पनि हलमा राम्रै पैसा छाप्यो। प्रदर्शनमा आएको दुई दिनमा नै पाँच करोड रुपैयाँको व्यापार गरेको यस फिल्मले आठ करोड रुपैयाँमाथिको व्यापार गर्न सक्यो। त्यस्तै अर्को फिल्म 'जात्रा'लाई पनि दर्शकको राम्रै साथ मिल्यो। थोरै लगानीमा निर्माण भएको कमेडी शैलीको फिल्म 'जात्रा'ले पनि हलमा राम्रै पैसा छाप्न सफल भयो। यस फिल्मले हलमा ५१ दिन मनाएको थियो।

फिल्म 'वीर विक्रम' पनि यो वर्षको सफल फिल्म हो। फिल्मको कथावस्तु राम्रो भएकाले पनि यस फिल्मप्रति दर्शकले चासो देखाए। यस फिल्मको कमाइ बाहिर नआए पनि फिल्मले निर्माताको गोजीमा राम्रै पैसा भरिदियो भन्ने अनुमान गरिएको छ। 'वीर विक्रम'सँगै प्रदर्शनमा आएको फिल्म 'चपली हाइट-२' पनि यस वर्षको सफल फिल्ममा गनिन्छ। यो फिल्मले डेढ करोड रुपैयाँमाथिको व्यापार गरेको थियो।

हाल प्रदर्शनमा रहेको फिल्म 'लप्पन छप्पन'ले पनि व्यावसायिक सफलता हासिल गर्न सफल भएको छ। यस फिल्मले एक करोड रुपैयाँमाथिको व्यपार गरिसकेको छ। यो फिल्म आशा गरेजति राम्रो नभएको र फिल्मको कथा अपत्यारिलो भएको दर्शक प्रतिक्रिया छ।

जे होस्, यस वर्ष प्रदर्शनमा आएका यी केही फिल्मले राम्रो व्यापार गरे पनि यो वर्ष फिल्म क्षेत्रमा खासै राम्रो व्यापार हुन नसकेको फिल्म समीक्षक दीपेन्द्र लामा बताउँछन्। दीपेन्द्र भन्छन्, '८८ वटा फिल्म प्रदर्शनमा आउँदा ८/९ वटाले मात्र लगानी उठाउनुलाई कसरी राम्रो भन्ने?' ९० प्रतिशत फिल्मले लगानी उठाउन नसकेको उनले बताए।

त्यस्तै अर्का फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डित १० प्रतिशत फिल्मले लगानी उठाउनुलाई राम्रै मान्छन्। 'संसारका जुनसुकै देशमा पनि पाँचदेखि १० प्रतिशत फिल्मले मात्र लगानी उठाएका हुन्छन्', उनी भन्छन्, 'कुन फिल्मले कति कमाए भन्ने कुराको पछि लाग्नुभन्दा साँच्चिकै राम्रो बनेका फिल्महरू किन चलेनन् भन्ने खोजी गर्नुपर्छ।'

कस्ता विषयवस्तु बिके हलमा?

यथार्थमा रहेर निर्माण भएका फिल्महरूलाई हलमा दर्शकको साथ मिल्यो। समाजमा घट्ने सामान्य घटनालाई उजागर गरेका फिल्महरूले राम्रो व्यापार पनि गरे। यथार्थमा आधारित फिल्ममा कतैकतै कमेडी जोडिएका फिल्महरूलाई दर्शकले रुचाइदिए।

अहिले फिल्म चल्नलाई फिल्ममा मैलिकपन हुनुपर्ने समीक्षक तथा निर्देशक दीपेन्द्र लामा बताउँछन्। 'फिल्म चल्नको लागि सर्वप्रथम त स्क्रिप्ट राम्रो हुनुपर्‍यो', लामा भन्छन्, 'फिल्ममा कलाकारको अभिनय पनि राम्रो हुनुपर्छ।' निर्माता संघका अध्यक्ष तथा निर्देशक आकाश अधिकारी फिल्ममा राम्रो कथावस्तु तथा राम्रो स्क्रिप्ट पनि उत्तिकै आवश्यक हुने बताउँछन्।

सिक्वेल वर्ष

यो वर्ष पाँचवटा सिक्वेल फिल्म प्रदर्शनमा आए। यस वर्षको सुरुवात पनि सिक्वेल फिल्म 'बाटोमुनिको फूल'बाट भएको थियो। यस वर्ष 'बाटोमुनिको फूल-२', 'किस्मत-२',' चपली हाइट-२', 'लुट-२', 'दर्पण छाया-२' जस्ता सिक्वेलहरू प्रदर्शन भए। तीमध्ये कमैले मात्र दर्शकको राम्रो प्रतिक्रिया पाए। पहिलाको फिल्मलाई मनपराइएपछि त्यसको नामपछि '२' थपेर निर्माण गरिएका 'बाटोमुनिको फूल-२' र 'दर्पण छाया-२' बाहेक अन्य फिल्मले भने लगानी उठाए। लगानी उठाएका फिल्मले पनि दर्शकको खासै राम्रो प्रतिक्रिया भने पाउन सकेनन्।

सिक्वेलको विषयमा मनोज पण्डितको धारणा अलिक भिन्न छ। उनी भन्छन्, 'नेपाली दर्शक अब नामको पछि लाग्दैनन्। फिल्म चल्नलाई पहिलाको सफल फिल्मको नाम मात्र लिएर हुँदैन, स्क्रिप्ट पनि राम्रो हुनुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.